Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal


डकैती गर्ने ६ जना पक्राउ
काठमाडौं, माघ १३
डकैती गरेको अभियोगमा उपत्यकाको विभिन्न स्थानबाट महानगरीय अपराध महाशाखाको प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ पुरन्धारा गाउँपालिका ९ खेप्ताङ घर भई काठमाडौँ मित्रनगर बस्ने वेदबहादुर भन्ने ३८ वर्षीय भिमबहादुर घर्तीमगर, नुवाकोट दुप्चेश्वर गाउँपालिका ६ कटजुन घर भई काठमाडौँ काभ्रेस्थली बस्ने ३० वर्षीय नकुर तामाङ, रसुवा आमाछोदिङमो गाउँपालिका ५ गोलजुङ घर भई काठमाडौँ तार्केश्वर नगरपालिका ९ डाँडागाउ बस्ने ३८ वर्षीय दावाछिरिङ तामाङ, रामेछाप मन्थली नगरपालिका ९ पुरानागाँउ घर भई काठमाडौँ महानगरपालिका १६ बाइपास बस्ने ३६ वर्षीय कुमारबहादुर बुढाथोकी, रसुवा उत्तरगया गाउँपालिका २ खड्कु घर भएकाहरू काठमाडौँ काभ्रेस्थली बस्ने ३६ वर्षीय तेन्जिङबहादुर तामाङ, र काठमाडौँ गोंगवु बस्ने २८ वर्षीय सञ्जित वाइवा रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले नगद १८ लाख ७५ हजार पाँच सय रूपैयाँ, डाँका गरी पाएको पैसाबाट किनेको मोटरसाइकल एक थान, डाँका घटनामा प्रयोग भएको मोटरसाइकल तीन थान, सुनको औंठी एक थान र विभिन्न कम्पनीको मोबाइललगायतको सामान बरामद गरेको छ । उनीहरूमध्ये वेदबहादुर भन्ने भिमबहादुर घर्तीमगरले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ३ घर भई हाल काठमाडौँ बस्ने व्यक्तिलाई मेरो बाजेसँग बल्ने ढुङ्गा छ भन्दै विभिन्न प्रलोभन देखाई नगद ५० पचास लाख रूपैयाँ माग गरेका थिए । त्यसपछि उनीहरूले पीडितलाई खुकुरी र फलामको लठ्ठीसमेत देखाई धाकधम्की दिई आखाँमा खुर्सानीको धुलो छर्की पीडितको साथमा रहेको नगद ५० लाख जवरजस्ती लुटपाट गरेर फरार रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । थप अनुसन्धानको लागि उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया