Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसाल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ५९औँ वार्षिकोत्सव सम्पन्न

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ५९औँ वार्षिकोत्सव सम्पन्न


काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्नो ५९औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । कर्पोरेसनले भाद्र २७ गते आइतबार आफ्नो वार्षिकोत्सव मनाएको हो । कालिमाटीस्थित केन्द्रीय कार्यालय हातामा कर्पोरेसनका सञ्चालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धरको सभाध्यक्षतामा आयोजित कार्यक्रममा कर्पोरेसनका सञ्चालक समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठ, अन्य वरिष्ठ अधिकारीलगायत सिमित कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमाझ कार्यक्रम समारोहलाई सम्बोधन गर्दै कर्पोरेसनका सञ्चालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धरले अत्यावश्यकीय दैनिक उपभोग्य वस्तु नुनको कारोबारसँगै सेवा विविधीकरणमार्फत कर्पोरेसनले अनवरत रूपले आम जनताको सेवा गर्दै आउने क्रममा स्वर्ण इतिहास लेख्न सफल भएको बताए । अध्यक्ष श्रेष्ठले कर्पोरेसनले अत्यावश्यकीय वस्तुहरूको आपूर्तिलाई सहज बनाउँदै सरकार समेतको जिम्मेवारीलाई वस्तुनिष्ठपूर्वक निभाउँदै आएको स्पष्ट पारे । साथै उनले सरकारको निर्देशनलाई पालना गर्दै आम उपभोक्ताको हितमा समर्पित रहेको उल्लेख गरे ।

मानन्धरले कर्पोरेसनलाई विश्वासपूर्वक जिम्मेवारी प्रदान गरेकोमा सरकारलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि उसैगरी सरकार र आम उपभोक्ताको मन जित्दै अगाडि बढ्ने प्रण गर्दै सोको विश्वास दिलाउन चाहेको बताए । त्यसैगरी उनले समारोहमाझ पुरस्कार प्राप्त गर्ने सबैमा धन्यवाद ज्ञापन गर्दै केही महिनाअघि मृत्युवरण गरेका कर्पोरेसनका सञ्चालक समिति सदस्य किर्तीकुमार जोशीको निधनले मर्माहत तुल्याएको बताए ।

सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै कर्पोरेसनका सञ्चालक समिति सदस्य तथा वाणिज्य मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठको साल्ट ट्रेडिङले आम उपभोक्ताको हकहितलाई मुखरित गर्दै आएको जिकिर गर्दै आगामी दिनमा आफ्नो उद्देश्य प्राप्ति गर्दै जाओस् भन्ने शुभेच्छा थियो।

श्रेष्ठले नेपालमा नुनको आपूर्तिको सुनिश्चित नभइरहेको स्थितिमा नुनको कारोबार गर्ने उद्देश्यका साथ कर्पोरेसनको स्थापना भएको र यसले जनस्वास्थ्यसँग सरोकारित आयोडिनयुक्त नुनको आपूर्तिलाई नेपालभर नै पु-याउने जिम्मेवारीलाई वहन गर्ने क्रममा महत्वपूर्ण योगदान पु-याएका कारण स्वास्थ्य समस्या निराकण गर्न सहज भएको उल्लेख गरे । उनले साल्ट ट्रेडिङ नुनको कारोबार गर्न सक्षम छ भनेर मन्त्रालयले यस संस्थानमार्फत मात्रै नुनको बिक्रीवितरण गर्न पाउने कार्य गरी काम कारबाही अगाडि बढाएको जानकारी गराए । सञ्चालक समिति सदस्य तथा सह सचिव श्रेष्ठले देशभर सञ्जाल रहेको साल्ट ट्रेडिङको सबल पक्ष भनेकै चुस्त व्यवस्थापन रहेको जिकिर गर्दै कर्पोरेसनले आगामी दिनहरूमा समेत सफलता प्राप्त गर्दै जाओस् भन्ने शुभकामना दिए ।

त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले उपभोक्य वस्तुको कारोबार गर्ने उद्देश्यसहित स्थापना भएको कर्पोरेसनले सरकार र आम उपभोक्ताबीचमा सेतुको काम गर्दै आएको उल्लेख गर्दै पछिल्लो समय सेवा विविधीकरणको नीतिसहित बढीभन्दा बढी जनताहरूलाई लाभ पु¥याउने लक्ष्यका साथ अघि बढिरहेको बताइन् ।

प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आपूर्ति र वितरणको क्षेत्रमा सक्रिय रहँदै कर्पोरेसनले सेवा प्रवाहलाई उपभोक्ताको हितमा केन्द्रित गरेको उल्लेख गर्दै कोभिडको समयमा पनि सेवालाई निरन्तरता दिइएको जानकारी दिइन् । श्रेष्ठले कर्पोरेसनले कृषि विकासमा योगदान पु-याउने हेतु अनुदानितका अलवा गैरअनुदानित मल समेत बिक्रीवितरण गरेको बताइन् ।

उनले अझै खुलारूपमा कार्यक्रम गरिहाल्ने स्थिति नरहेकाले कर्पोरेसनको वार्षिकोत्सवलाई थोरै उपस्थिति माझ आयोजना गरिएको जिकिर गर्दै पुरस्कृत हुने सबैलाई बधाई ज्ञापन गर्दै कर्पोरेसनका सञ्चालक समिति सदस्य किर्तीकुमार जोशीको निधनप्रति गहिरो शोक व्यक्त गरिन् ।

सोही अवसर माझ गत वर्ष र यस वर्षको बालहितकारी पुरस्कार, हेमबहादुर मल्ल उत्कृष्ट कर्मचारी पुरस्कार, इश्वरलाल श्रेष्ठ उत्कृष्ट कर्मचारी पुरस्कार, अनङमान शेरचन एवं लोकनाथ जोशी छात्रविृत्ति प्रदान गरिएको थियो भने २० वर्ष सेवा अवधी पूरा गरेका कर्मचारीहरूलाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा हालै दिवंगत कर्पोरेसनका सञ्चालक समिति सदस्य किर्तीकुमार जोशीको स्मृतिमा मौनधारणा गरिएको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया