Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालझोलुङ्गे पुल निर्माण भएपछि आवतजावत सहज

झोलुङ्गे पुल निर्माण भएपछि आवतजावत सहज


खेमराज अधिकारी
खोटाङ, माघ १३
खोटाङको हलेसी तुवाचुङ नगरपालिका र उदयपुरको लिम्चुङबुङ गाउँपालिका जोड्ने झोलुङ्गे पुल निर्माणको काम सम्पन्न भएपछि आवतजावतमा सहज भएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदे कुनाइघाट र लिम्चुङबुङ गाउँपालिका–१ बाँसबोटेको भाते जोड्ने सुनकोशी नदीमा झोलुङ्गे पुल सञ्चालनमा आएपछि डुङ्गाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतासमेत हटेको छ ।

सस्पेन्सन ब्रिज डिभिजन (एसवीडी) पुलचोक काठमाडौँको एक करोड नौ लाखमा निर्माण गरिएको एक सय ५८ मिटर लामो पुल शुक्रबार पूर्वसभासद पाँचकर्ण राई (पिके)ले उद्घाटन गरेका छन् । हालसम्म डुङ्गा सञ्चालन हुँदै आएको सो स्थानमा झोलुङ्गे पुल सञ्चालन भएपछि स्थानीय हर्षित बनेका छन् । पूर्वसभासद राईकै पहलमा झोलुङ्गे पुल निर्माण गरिएको नेकपा जिल्ला कमिटी खोटाङका सचिवालय सदस्य खडेन्द्र राईले बताए ।

२०७४ सालमा जगदम्बा निर्माण सेवा हलेसीले पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । पुल निर्माण सम्पन्न भएपछि आठ घन्टा पैदल हिँडेर दुर्छिम र लिम्चुङबुङ आवतजावत गर्नुपर्ने स्थानीयको समस्यासमेत हल भएको छ । यस्तै हलेसी तुवाचुङ नगरपालिकाको डिकुवा, जोर्तीघाट, बाइटार चिपटारमा पनि झोलुङ्गे पुल निर्माणाधीन छन् । कुर्लेघाट र बाइसेको पुल पनि केही दिनपछि सञ्चालनमा आउने जनाइएको छ भने भाडबेसीको झोलुङ्गे पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया