Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालविश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया देशद्वारा प्रत्येक विद्यालयलाई स्वास्थ्य प्रवर्द्धन गर्ने विद्यालय बनाउने संकल्प

विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया देशद्वारा प्रत्येक विद्यालयलाई स्वास्थ्य प्रवर्द्धन गर्ने विद्यालय बनाउने संकल्प


काठमाडौं । विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूले महामारीको दौरान विद्यालय सञ्चालनलाई सुरक्षित बनाउँदै ‘प्रत्येक विद्यालयलाई स्वास्थ्य प्रवर्द्धन गर्ने विद्यालय’ बनाउने संकल्प गरेका छन् ।

‘स्वस्थ जीवनशैली, जीवन पर्यन्तका लागि स्वस्थ व्यवहारको प्रवद्र्धन गर्न र कुनै पनि समाजको दिगो विकासका लागि जनशक्तिको विकास गर्न विद्यालयहरूको महत्वपूर्ण भूमिका हुन्छ । स्वस्थ विद्यालयहरूबाट विशेष आवश्यकता भएका बालबालिकाहरूसहित सबै सामाजिक, आर्थिक पृष्ठभूमिका बालबालिकाहरू लाभान्वित होउन् भन्नका लागि हामीलाई समग्र सरकार पद्धतिको आवश्यकता पर्छ,’ क्षेत्रीय बैठकलाई सम्बोधन गर्दै विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी क्षेत्रकी क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले बताइन् ।

विद्यालय स्वास्थ्य तथा स्वास्थ्य प्रवर्द्धन गर्ने विद्यालयहरूलाई पुनरुत्थान गर्ने संकल्प प्रस्ताव पारित गर्दै सदस्य राष्ट्रहरूले महामारीका कारण बन्द भएको विद्यालयका कारण कलिला बालबालिका तथा किशोरकिशोरीहरूको सिकाइ, वृद्धिविकास तथा स्वास्थ्यमा पारेका प्रभावका बारेमा चासो व्यक्त गरेका थिए । सदस्य राष्ट्रहरूले विद्यालयहरूलाई सुरक्षित रूपमा पुनः खोल्ने तथा महामारीको दौरान पनि सुरक्षित तरिकाले विद्यालयहरू सञ्चालन गर्नुपर्ने आवश्यकताका बारेमा पनि विचार विमर्श गरेका थिए ।

भदौ २१ देखि २५ गतेसम्म गरी पाँच दिनसम्म चलेको क्षेत्रीय बैठकको क्रममा सदस्य राष्ट्रहरू विश्व स्वास्थ्य संगठनको विश्वव्यापी लक्ष्य तथा दिगो विकास लक्ष्य २०३० अनुरूप भाइरल हेपाटाइटिस, एचआईभी तथा यौनजन्य संक्रमणका विषयमा एकीकृत क्षेत्रीय कार्ययोजना विकास गर्ने कुरामा सहमत भए ।

क्षेत्रीय कार्यकारी समितिको बैठकको अन्य विशेषताहरूमा सदस्य राष्ट्रहरूले मन्त्रीस्तरीय बैठकमा स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न तथा स्वास्थ्यमा सर्वव्यापी पहुँच र स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्न महामारीबाट शिक्षा लिने र स्वास्थ्य प्रणालीको उत्थानशीलता सुदृढ बनाउने गरी घोषणापत्रमा हस्ताक्षर गरे । मन्त्रीस्तरीय बैठकलाई नोबेल पुरस्कार विजेता अभिजित बेनर्जीले सम्बोधन गर्दै उनले स्वास्थ्य सेवाहरूको गुणस्तरलाई सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिइन् ।

विश्व स्वास्थ्य संगठन र दक्षिणपूर्वी क्षेत्रका सदस्य राष्ट्रहरूले भविष्यमा आउनसक्ने स्वास्थ्यका दृष्टिकोणले आपतकालीन अवस्थाहरूका लागि अझ सशक्तरूपमा तयार रहनका लागि स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीहरूलाई अझ सुदृढ बनाउनुपर्ने कुरामा छलफल गरेका थिए ।

बैठकले कोभिड–१९ विरुद्धको खोपको पहुँचलाई तीव्र गतिमा बढाउने कार्यहरूलाई निरन्तरता दिँदै नियमित खोप कार्यक्रमको पहुँचलाई पनि बढाउनुपर्ने विषयमा समेत छलफल गरिएको थियो ।

नसर्ने रोगहरू लाग्ने दरको रोकथाम तथा नियन्त्रणका उपाय, दादुरा तथा रुबेला उन्मूलनका लागि अपनाइएका कदम तथा स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिलाई गति प्रदान गर्ने जस्ता विषयहरू बैठकमा छलफल भएका अन्य क्षेत्रीय महत्वका विषयहरू थिए । यसपटक कार्यकारी समितिको वार्षिक बैठक नेपालले आयोजना गरेको थियो । बैठक महामारीका कारण लगातार दोस्रो वर्ष पनि भर्चुअल रूपमा आयोजना गरिएको हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया