Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालएमएसएमई एवं स्टार्ट अप उद्यम परियोजना धितो कर्जा सम्भाव्यता अध्ययन प्रतिवेदन पेश

एमएसएमई एवं स्टार्ट अप उद्यम परियोजना धितो कर्जा सम्भाव्यता अध्ययन प्रतिवेदन पेश


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले साना मझौला उद्यम (एमएसएमई) र स्टार्टअप उद्यम परियोजना धितो कर्जा सम्भाव्यता अध्ययन प्रतिवेदन राष्ट्र बैंकलाई पेश गरेको छ । महासंघले धेरै पहिलेदेखि परियोजनामा आधारित कर्जा प्रवाह गर्नुपर्ने धारणा राख्दै आएको थियो । कोभिड १९ को प्रभावले थलिएको अर्थतन्त्रको पुनरूत्थानसँगै साना मझौला उद्यम र स्टार्टअपको विस्तारका लागि पनि केही ठोस काम गर्नुपर्ने आवश्यकताको आधारमा महासंघले सम्भाव्यता अध्ययन गरेको जनाएको छ । उक्त सम्भाव्यता अध्ययनको प्रतिवेदन महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारलाई बिहीबार पेश गरेका हुन् ।

एमएसएमईहरुलाई परियोजना धितोको आधारमा कर्जा लगानी गर्दा वित्तीय संस्थाहरुलाई हुनसक्ने लगानी जोखिम न्यूनीकरण गर्ने सम्भावित संयन्त्रसहित केही महत्वपूर्ण सुझावहरु प्रतिवेदनमार्फत दिइएको छ । उक्त अध्ययन प्रतिवेदनमार्फत एमएसएमई एवं स्टार्ट अपलाई पुँजी उपलब्ध गराउन कुल लगानीको १० प्रतिशत परियोजना धितोमा कर्जा प्रवाह गरिनुपर्ने, परियोजनाको मूल्यांकनको ६० प्रतिशत कर्जा उपलब्ध गराउन सकिने सुुझाव दिइएको छ ।

त्यस्तै निश्चित सीमासम्मको कर्जाको प्रत्याभूति संयन्त्र र बीमा विस्तार गर्दै जोखिम न्यूनीकरण संयन्त्र लागू गर्न बैंकहरूको क्षमता विकास गर्नुपर्ने प्रतिवेदनमा औँल्याइएको छ । बैंकलाई हुने जोखिम न्यूनीकरण तथा परियोजना व्यवस्थापनका लागि विकास साझेदारहरूबाट उपलब्ध कोष एकद्वार प्रणालीमार्फत परिचालन हुनुपर्ने र कर्जा सुरक्षण निगममार्फत कर्जा बीमा सेवाको विस्तार गर्न सकिने सुुझाव प्रतिवेदनको छ । हालैका वर्षहरुमा परियोजनामा आधारित कर्जा लगानी सरकारको पनि प्राथमिकतामा परेको छ ।

सरकारको बजेटले पनि परियोजनामा आधारित ऋण लगानीअन्तर्गत स्टार्टअपहरुलाई कर्जा प्रदान गर्ने घोषणा गरेको छ । मौद्रिक नीतिमा पनि यसको व्यवस्था गरिएको छ । सहुलियतपूर्ण कर्जाअन्तर्गत नौ प्रकारका कर्जालाई परियोजनामा आधारित भएर ऋण दिने गरिएको छ । तर स्पष्ट बुझाइको अभाव र कानुनी अस्पष्टताका कारण बैंक र वित्तीय संस्थाहरुले जग्गा र भवनजस्ता चल सम्पत्तिबाहेक अन्य धितो राखेर ऋण दिन हिच्किचाइरहेको महासंघको भनाइ छ । महासंघका अनुसार तोकिएको थोरै रकमको यस्तो कर्जा प्रवाह हुने गरेको छ । परियोजनाकै आधारमा कर्जा दिने विषय भने अझैकार्यान्वयनमा आउनसकेको छैन ।

एमएसएमईलाई विना धितो परियोजनामा आधारित कर्जा प्रवाह भएमा नवप्रवर्तन र उद्यमशीलता विकासमा यसले महत्वपूर्ण भूमिका खेल्ने महासंघको भनाइ छ । एमएसएमईले रोजगारी सिर्जनामा एवम् हाम्रोजस्तो देशमा सामाजिक द्वन्द्वको अन्त्य र आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्नसक्ने विश्वास महासंघको छ । उक्त प्रतिवेदन हस्तान्तरण गर्दै महासंघका अध्यक्ष गोल्छाले प्रतिवेदनको प्राथमिकताका साथ कार्यान्वयनका लागि आग्रह गरे । प्रतिवदेनले औँल्याएको सुुझावहरुको कार्यान्वयनपश्चात् निकै ठूलो संख्यामा एमएसएमईहरु लाभान्वित हुने र त्यसबाट मुलुकको अर्थतन्त्रले समेत गति लिने बताए । प्रतिवेदन बुझ्दै गभर्नर अधिकारीले महासंघले पेश गरेको एमएसएमई एवं स्टार्ट अप उद्यम परियोजना धितो कर्जा प्रतिवेदन अध्ययन गरी प्राथमिकताका साथ कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाए । सम्भाव्यता अध्ययन अन्तर्राष्ट्रिय श्रम संगठन, नेपाल कार्यालय र यूके एडको सहयोगमा गरिएको हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया