Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदोलखामा भूकम्पपछि ६६ हजार दुई सय ६१ घर बने, तीन हजारभन्दा बढी घर बन्न बाँकी

दोलखामा भूकम्पपछि ६६ हजार दुई सय ६१ घर बने, तीन हजारभन्दा बढी घर बन्न बाँकी


 दोलखा। भूकम्प गएको सात वर्ष बितिसक्दा पनि दोलखामा पुनर्निर्माणको काम अझै सम्पन्न हुन सकेको छैन । कुल ७३ हजार पाँच सय ९९ जना कुल लाभग्राहीमध्ये ६६ हजार दुई सय ६१ जनाले मात्र निजी आवास निर्माण सम्पन्न गरेका छन् ।

अझै तीन हजार नौ सय ३८ वटा घरको पुनर्निर्माण हुन बाँकी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय चरीकोटको पुनर्निर्माणसम्बन्धी समष्टिगत विवरणको तथ्यांकमा उल्लेख छ । यस्तै तीन हजार चार सयवटा घर निर्माणको चरणमा रहेका छन् । जिल्लामा पहिलो सर्वेक्षणबाट कायम भएका ५१ हजार नौ सय ४० जना र पछि गुनासो फर्छयौटपछि थप भएका १८ हजार नौ सय ९१ जना लाभग्राही भूकम्पपीडितको सूचीमा छन् । यस्तै प्रबलीकरण लाभग्राहीको संख्या दुई हजार छ सय ६८ रहेको छ ।

त्यसैगरी दोलखामा अनुदान सम्झौता गर्ने भूकम्पपीडितको संख्या ६९ हजार आठ सय ७५ जना रहेको छ । अनुदान सम्झौता गर्नेमध्ये पहिलो किस्ता ६९ हजार छ सय ६१ जना, दोस्रो किस्ता ६७ हजार सात सय ३२ जना र तेस्रो किस्ता ६६ हजार दुई सय ६१ जनाले अनुदान रकम भुक्तानी लिएका छन् ।

जिल्लामा निजी आवास निर्माणका लागि २० अर्बभन्दा बढी निकास भएको छ । आर्थिक वर्ष २०७३/०७४ मा तीन अर्ब ४५ करोड ४३ लाख रूपैयाँ, आर्थिक वर्ष २०७४/०७५ मा नौ अर्ब ६० करोड ५१ लाख ५० हजार, आर्थिक वर्ष २०७५/०७६ मा तीन अर्ब ९९ करोड २७ लाख, आर्थिक वर्ष २०७६/०७७ मा एक अर्ब ३९ कोरोड ७२ लाख र गत आर्थिक वर्ष २०७७/०७८ मा एक अर्ब २२ करोड २९ लाख ५० हजार रूपैयाँ गरी हालसम्म १९ अर्ब ५९ करोड ९९ लाख रूपैयाँ रकम खर्च भएको हो ।

यस्तै भूकम्पपछि जिल्लामा समग्रमा भने २० अर्ब ६० करोड आठ लाख रूपैयाँ रकम खर्च भएको छ । निजी आवास निर्माणका लागि नेपाल सरकारको तर्फबाट १९ अर्ब ६० करोड आठ लाख र विभिन्न गैसरकारी संघ संस्थाबाट ७१ करोड ४० लाख रूपैयाँ गरी २० अर्ब ६० करोड आठ लाख रूपैयाँ रकम खर्च भएको जिल्लास्तरीय आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापान तथा स्थानीय पूर्वाधारको कार्यालय दोलखाका प्रमुख रामप्रसाद पोखरेलले बताए ।

पोखरेलका अनुसार गत वर्ष २०७७/२०७८ को असार मसान्तसम्मको एक वर्षको अवधिमा थप एक अर्ब २२ करोड २९ लाख २० हजार छ सय थप खर्च भएको थियो । गत वर्ष थप नौ सय ५७ जनालाई पहिलो किस्ताअन्तर्गत चार करोड ७८ लाख ५० हजार भुक्तानी दिइएको छ । त्यसैगरी थप तीन हजार आठ सय १६ जना भूकम्पपीडित घर परिवारलाई दोस्रो किस्ताअन्तर्गतको ५७ करोड ३३ लाख ५० हजार र पाँच हजार दुई सय ८३ जना भूकम्पपीडितलाई तेस्रो किस्ताको ५२ करोड ८९ लाख ५० हजार भुक्तानी दिएको उनले बताए ।

त्यसैगरी पाँच सय ४७ जना भूकम्पपीडितले अनुदान फिर्ता गरेका छन् । अब चालू आर्थिक वर्षदेखि पुनर्निर्माणको बाँकी काम सहरी विकास तथा भवन निर्माणको कार्यालयमार्फत गरिने भएको छ । सोहीअनुसार जिल्लास्तरीय आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालय दोलखाले पनि पुनर्निर्माणको बाँकी रहेको सम्पूर्ण काम सहरी विकास तथा भवन निर्माणको कार्यालय दोलखामार्फत गरिने जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया