Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपुरानो मेडिकल कलेजमा इन्टिग्रेटेड ओपीडी सिस्टम लागू, सबै सेवा एकै ठाउँबाट

पुरानो मेडिकल कलेजमा इन्टिग्रेटेड ओपीडी सिस्टम लागू, सबै सेवा एकै ठाउँबाट


भरतपुर । भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले इन्टिग्रेटेड ओपीडी सिस्टम लागू गरेको छ । यो सिस्टम लागू भएसँगै ओपीडीमा जाने बिरामीले सबै सेवा एकै ठाउँबाट पाउने भएका हुन् । यससँगै अस्पताल पुगेपछि टिकट काट्न, जचाउने, विभिन्न परीक्षणको शुल्क तिर्ने, औषधि खरिद गर्नेलगायतका कामका लागि बिरामी भौतारिनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

सेवाग्राही आफूले उपचार गर्न चाहेको बहिरंग विभागमा पुगेपछि सबै सेवा त्यहीबाट पाउने कलेजका आवासीय निर्देशक डा. मनोहर प्रधानले बताए । उनका अनुसार सेवाग्राहीले बीमा वा सशुल्क टिकट काट्ने, विभिन्न परीक्षणको शुल्क तिर्ने, रगतको नमूना दिने, औषधि खरिद गर्नेलगायतका सबै सेवा एकै ठाउँबाट पाउँछन् ।

एसी (वातानुकूलित) कक्षमा पुगेपछि सेवाग्राही अन्यत्र डुलिरहने झन्झटबाट मुक्त भएको प्रधानको भनाइ छ । अस्पतालको सबै विभागमा बीचमा खुल्ला ठूलो कक्ष तयार गरिएको छ । त्यहाँ बिरामी पालोको लागि बस्ने गर्दछन् । दायाँबायाँ चिकित्सकका कक्ष रहेका छन् । पालो आएपछि परीक्षणका लागि जाने गरी व्यवस्थापन मिलाइएको छ । सबै ठाउँमा शुद्ध पिउने पानीको समेत व्यवस्था गरिएको छ । त्यही कक्षबाट भिडियो एक्सरे, एमआरआई, सिटी, एक्सरे जस्ता सेवा लिनु पर्दा शुल्क त्यही तिरेर पालो आएपछि मात्रै पठाउने व्यवस्था गरिएको प्रधानको भनाइ छ ।

अस्पतालमा ११ विभागका १९ वटा कक्ष एकीकृत सेवाका लागि तयार गरिएको छ । अस्पतालमा मेडिकलअन्तर्गत मुटु, पेट तथा कलेजो रोग, सर्जरीतर्फ जनरल सर्जरी, पेट तथा कलेजो सर्जरी, युरोलोजी, न्यूरो सर्जरी, कार्डियोथोरासिक तथा भास्कुलरलगायत सेवा रहेका छन् । यसैगरी स्त्री तथा प्रसूति, बाल रोग, नाक–कान–घाटी, आँखा, छाला तथा यौनरोग, स्नायु तथा मानसिक रोग, दन्त रोग र रेडियोलोजी विभाग रहेका छन् ।

हाल अस्पतालको बहिरंग सेवामा दैनिक छ सय ५० भन्दा बढी सेवाग्राहीले सेवा लिइरहेका छन् । अस्पतालले वार्षिक तीन लाखभन्दा बढीलाई सेवा दिँदै आएको छ । २५ वर्षअघि यहाँ स्थापना गरिएको यस मेडिकल कलेजमा पाँच सय ८५ शय्या सञ्चालनमा छन् । अस्पतालमा ९० वटा आईसीयू, छवटा पीआईसीयू, १० वटा एनआईसीयू रहेका छन् । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया