Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाललकडाउनमा दुःखीको सहारा बन्यो वर्ल्डभिजन

लकडाउनमा दुःखीको सहारा बन्यो वर्ल्डभिजन


बझाङ । जिल्लामा लागू भएको वल्र्डभिजन कार्यक्रम लकडाउनको बेला गरिब दुःखीको सहारा बनेको छ । प्रगतिशील युवा समाजसँग साझेदारीमा काम गरिरहेको वर्ल्ड भिजन कार्यक्रम निकै प्रभावकारी बन्दै गएको हो । जयपृथ्वी नगरपालिका र केदारस्युँमा लागू भएको यो कार्यक्रमअन्तर्गत लकडाउन अवधिभर विपन्न गरिब परिवारलाई खाद्यान्न चामल, दाल, नुन, तेललगायतका सामग्री वितरण गरिएको थियो । दुःखको समयमा खाद्यान्न उपलब्ध गराएर आफूलाई दुई महिना निकै राहत भएको जयपृथ्वी नगरपालिका वडा नं. १ का अम्मर सिंहले बताए ।

लकडाउनको बेला दैनिकी चलाउन समेत निकै गाह्रो भएको बेला खानलाई खाद्यान्न दिएकोमा निकै खुसी भएको सिंहले बताए । समावेशी तथा गुणस्तरीय शिक्षा कार्यक्रमतर्फ बालबालिकालाई शैक्षिक सामग्री र कपडा दिएकोमा मनसरादेवी सिंह पनि उत्तिकै खुसी भएको देखिन्छन् । आफू एकल महिला भएकाले छोराछोरीको कापी कलमको खर्च कसरी जुटाउने भन्ने उनको चिन्ता थियो । कहिलेकाहीँ ज्याला मजदुरी काम गरेर कापी कलमको खर्च जुटाउनुपर्ने बाध्यता अहिलेको लागि टरेको छ । सधैँ यसरी नै सहयोग गरी बालबालिकालाई सहयोग गरिदिए आफ्ना बालबालिकाको भविष्य समेत राम्रो हुने उनको आशा छ । मनसरा सिंह जस्तै पीडा देवीसरा सिंहको पनि छ । उनले पनि यो कार्यक्रमबाट आफू निकै लाभान्वित भएको बताइन् ।

अभिभावक तथा विद्यार्थीहरुको आकर्षण निजी विद्यालयतर्फ बढ्दै गएका बेला जिल्लाको जयपृथ्वी नगरपालिका र केदारस्युँ गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत तथा अतिजोखिममा रहेका विद्यार्थीलाई जिल्लामा सञ्चालित गैरसरकारी संस्था प्रगतिशील युवासमाजको साझेदारी तथा वल्र्डभिजनको सहयोगमा स्कुल ब्याग, पोसाकसँगै शैक्षिक सामग्री वितरण समेत गरिएको छ ।

विद्यालयमा पठनपाठन गर्ने तथा अतिजोखिममा परेका बालबालिकाहरुलाई झोला, पोसाकसँगै शैक्षिक सामग्री वितरण कार्यक्रमको आयोजना गरी जयपृथ्वी नगरपालिकाका १५ वटा, केदारस्युँ गाउँपालिकाका १५ वटा विद्यालयका विद्यार्थीहरुलाई झोलासँगै कापी, पेनसिल, पोसाक दिइएको कार्यक्रम संयोजक यज्ञराज जोशीले जानकारी दिए । जोखिममा रहेका एक हजार दुई सय ५४ जना विद्यार्थीलाई झोला, पोसाक शैक्षिक सामग्री दिइएको हो ।

नाननदेव आधारभूत विद्यालयका प्रधानाध्यापक बौकास बहादुर शाहीले संस्थाले विद्यार्थीहरुलाई मात्र नभएर विद्यालयलाई पनि कार्पेट, राउन्ड टेबल, बाह्रखरीलगायतका चार्ट सामग्री विद्यालयमा धारा निर्माण, पानी ट्यांकी, ह्यान्डवासिङ कर्नर, अभिभावक, शिक्षक, विद्यार्थीहरुका लागि आचारसंहिता बोर्डलगायतका भौतिक संरचना बनाउन समेत सहयोग गरेको बताए । यस्तै उनले शिक्षा नै समग्र विकासको मेरुदण्ड भएकाले आफ्ना बालबालिकाको पढाइमा सघाउन अभिभावकहरुलाई आग्रह गरेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया