Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपारिश्रमिक नपाएपछि तीन हप्तादेखि कामदारद्वारा सडक कालोपत्रेको काम अवरुद्ध

पारिश्रमिक नपाएपछि तीन हप्तादेखि कामदारद्वारा सडक कालोपत्रेको काम अवरुद्ध


खेमराज अधिकारी
खोटाङ, माघ १५
सडकमा मजदुरी गरेको पारिश्रमिक नपाएपछि कामदारले खोटाङको महुरे–राजापानी सिमपानी सडक कालोपत्रेको काम तीन हप्तादेखि अवरुद्ध बनाएका छन् । ठेकेदार कम्पनी भारत कन्ट्रक्सन सिद्धी शाही जेभीले महिनौँसम्म काम लगाएर पनि पारिश्रमिक भुक्तानी नदिएपछि कार्यरत कामदारले सगरमाथा राजमार्गअन्तर्गत गाईघाट–दिक्तेल सडकखण्डको महुरेदेखि सिमपानीसम्मको २२ किलोमिटर सडकखण्डमा भइरहेको कालोपत्रेको काम गत पुस २० गतेदेखि ठप्प बनाएका हुन् ।

श्रम गरेको लामो समयसम्म कामदारले पारिश्रमिक नपाएपछि दुई महिनाअघि जिल्ला प्रशासन कार्यालयमा छलफल राखिएको थियो । सो छलफलमा निर्माण कम्पनीका प्रतिनिधिले पुस २० गतेसम्ममा कामदारको बाँकी पारिश्रमिक भुक्तानी गर्ने प्रतिबद्धतासहित लिखित सम्झौता गरेका थिए । तर, निर्धारित मितिसम्म पनि निर्माण कम्पनीले आफूहरूको पारिश्रमिक भुक्तानी नगरेपछि बाध्य भएर सडकको काम रोक्नु परेको कामदारको भनाइ छ ।

स्थानीयवासीका अनुसार महुरेमा रातदिन गिटी कुटेका दर्जनौँ महिला कामदारले समेत पारिश्रमिक पाएका छैनन् । गिटी कुटेबापत प्रतिव्यक्ति कम्तीमा ३० हजार भुक्तानी दिन बाँकी रहेको महिला कामदारले गुनासो गरेका छन् । उक्त सडकको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको वडा नम्बर–१३ नुनथला, वडा नम्बर १४ बुइपा, वडा नम्बर १५ विजयखर्क र हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर–११ राजापानीका कामदारले काम ठप्प बनाएको बुइपाका वडाध्यक्ष दिनेश राईले बताए । तोकिएको मितिमा पारिश्रमिक नपाएपछि आक्रोशित बनेका डेढ सयभन्दा बढी कार्यरत कामदारले काम रोकेका हुन् ।

आक्रोशित कामदारले निर्माणस्थलमा रहेका कम्पनीको छवटा टिप्पर, एउटा पानी ट्यांकर, दुईवटा एक्स्काभेटर, एउटा बोलेरो र एउटा लोडरको चाबि नियन्त्रणमा लिएर प्रहरी चौकी बुइपालाई बुझाएको प्रशासनले जनाएको छ । लामो समयसम्म कामदारलाई पारिश्रमिक नदिएका ठेकेदारले सडक आसपासका होटल, खाद्य तथा किराना पसल, पेट्रोल पम्पलगायतको उधारो रकमसमेत नतिरेको बताइएको छ । निर्माण कम्पनीले आफूले गरेको श्रमको पारिश्रमिक नदिएसम्म काम अवरुद्ध पार्ने कामदाहरूले चेतावनी दिएका छन् ।

निर्माणस्थलमा खटिएका भारत कन्ट्रक्सन सिद्धी शाही जेभीका पुष्प शाहीले भने केही दिनभित्रै कामदारले पारिश्रमिक पाउने बताएका छन् । निर्माण कम्पनीले केही दिनभित्र कामदारको पारिश्रमिक भुक्तानी गर्ने र अवरुद्ध कामलाई पुनः सञ्चालन गराउने जवाफ दिएको दिक्तेल–गाईघाट सडक आयोजनाका इन्जिनियर प्रवीण चौधरीले जानकारी दिए । निर्माण कम्पनी स्रोतले अहिले पनि नाली निर्माणलगायतका काम भने भइरहेकोले सडक निर्माणको काम ठप्प भने नभएको दाबि गरेको छ । उक्त कम्पनीले सडक निर्माणका क्रममा कमसल निर्माण सामग्री प्रयोग गरेर गुणस्तरहिन सडक बनाएको व्यापक जनगुणासो समेत आउने गरेको छ ।

ठेकेदारले लापरबाही र गुणस्तरहीन काम गरेपछि स्थानीयले पटक–पटक उक्त टेकेदारलाई गुणस्तर कायम गर्न दबाब दिँदै आएका छन् । सो सडक खण्डमा निर्माण गरिएको नाली गुणस्तरहीन भएको भन्दै पुष २३ गत्ते करिब ३० मिटर नाली स्थानीयले भत्काइदिएका थिए । पूर्वी नेपालका तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको मार्गका रूपमा रहेको दिक्तेल–गाईघाट सगरमाथा राजमार्गअन्तर्गत खोटाङभित्र पर्ने सडकमध्ये फोक्सिङटारदेखि सिम्पानी भञ्ज्याङसम्मको २७ किलोमिटर खण्ड देवनारायण पवन मैनाचुली खाम्पाचे जेभीले गरिरहेको छ । सो सडक खण्डमा समेत कामको गति सन्तोषजनक नभएको आवाज उठने गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया