Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालवैदेशिक रोजगारी सधैं असुरक्षित !

वैदेशिक रोजगारी सधैं असुरक्षित !


विदेशको बाध्यताको रोजगारी नेपाल युवाहरुको लागि सदैव असुरक्षित रहेको छ । असुरक्षित पनि सामान्य दुर्घटना, दुर्घटनाभन्दा पनि ज्यान नै गुमाउनुपरेको कारण युवाहरुलाई वैदेशिक रोजगारी असुरक्षित हुन पुगेको छ। शिक्षित तथा अशिक्षित दुवै युवाहरुले एकातर्फ मुलुकमा रोजगारी नपाउने मुख्य समस्याले गर्दा विदेश जानु बाध्यता छ । सरकारले रोजगारीका लागि उपयुक्त नीति लिए पनि त्यसलाई कार्यान्वयन गर्न नसक्नु मुख्य चुनौती रहेको पाइन्छ । रोजगारीकै लागि वर्षेनी हजारौँ युवाहरु विदेश जान श्रम स्वीकृति लिएको पाउँछौँ ।

तर विदेश गएका युवाको मृत्युदर हेर्दा भने कहालीलाग्दो पाउन सक्छौँ । सरकारी तथ्यांक (वैदेशिक रोजगार बोर्ड) का अनुसार विगत १४ वर्षको अवधिमा नौ हजार दुई सय ३७ जना नेपाली युवाहरुले विदेशी भूमिमा ज्यान गुमाएका छन् । विदेशमा रहेका युवाको हृदयाघात, सडक दुर्घटना, आत्महत्या र कार्यस्थल दुर्घटना मुख्य कारणले गर्दा ज्यान जाने गरेको छ । यसका साथै हत्या समेत हुने गरेको पाइन्छ भने विभिन्न अध्ययन अनुसन्धानले सो कुरालाई पुष्टि गरिसकेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा १ हजार ७३ जना, आर्थिक वर्ष २०७६/०७७ मा ६ सय ७१ र २०७५/०७६ मा ७ सय ६३ को विदेशमा युवाहरुको ज्यान गएको सरकारी तथ्यांक छ । आर्थिक वर्ष २०७१/०७२ मा एक हजार छ जना, आर्थिक वर्ष २०७२/०७३ मा आठ सय १६ जना, आर्थिक वर्ष २०७३/०७४ मा सात सय ५६ जना, आर्थिक वर्ष २०७४/०७५ मा आठ सय २२ जना युवाहरुको विदेशमा ज्यान गएको छ । आर्थिक वर्ष २०६५/०६६ मा ७७ जना युवाको ज्यान गएको छ ।

तथ्यांकअनुसार मलेसियामा सबैभन्दा धेरै ३ हजार ९८ नेपाली श्रमिकको निधन भएको छ । साउदी अरबमा २ हजार ५ सय १३ जना, कतारमा १ हजार ७ सय ९० जना, संयुक्त अरब इमिरेटस (युएई) मा ९ सय १ जना, कुवेतमा ३ सय २४ जना, बहराइनमा १ सय ३१ जना, दक्षिण कोरियामा १ सय ४२ जना, ओमानमा ६६ जना युवाहरुले ज्यान गुमाएका छन् । यस्तै जापानमा ३७ जना, अफगानिस्तानमा २५ जना, लेबनानमा २१ जना, जोर्डनमा १३ जना, इजरायलमा ८ जना, ब्रुनाईमा ३ जना, अल्जेरियामा २ जना युवाले ज्यान गुमाएका छन् । यस्तै नेपालमा पनि ९५ जना युवाले ज्यान गुमाएको पाइन्छ ।

विशेष गरी श्रम गन्तव्य मुलुक खाडीका ६ वटा राष्ट्र र मलेसियामा धेरै युवाहरुले ज्यान गुमाएको पाइन्छ । अन्तर्राष्ट्रिय संघ/संस्थाहरुले पनि आप्रवासी कामदारहरुको लागि खाडीका ६ मुलुक र मलेसिया असुरक्षित रहेको प्रतिवेदन सार्वजनिक गरेको पाइन्छ । यति थाहा पाउँदापाउँदै पनि नेपाली युवाहरु भने मुलुकमा रोजगारी नभएकै कारण खाडी तथा मलेसिया गइरहेका छन् ।

No description available.

एमनेस्टी इन्टरनेसनलले भदौमा सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुरुप कतार नेपाली तथा आप्रवासी कामदारको लागि सुरक्षित नभएको तथा रोक्नसक्ने मृत्युलाई समेत नरोकेको बताएको छ । एमनेस्टीको प्रतिवेदनले कतारमा कार्यरत दुई सय जना नेपाली कामदारको मृत्युलाई रोक्न सक्नेमा त्यसलाई नरोकेको बताएको छ। कार्डियोलोजी नामक जर्नलमा प्रकाशित सन् २०१९ मा गरिएको एक अध्ययनले कतारमा नेपाली श्रमिकको गर्मी र मृत्युबीचको सम्बन्ध रहेको कुरा पत्ता लगाएको थियो। सन् २००९–२०१७ को अवधिमा भएको पाँच सय ७१ जना नेपाली अप्रवासी श्रमिकहरूकोे मुटुको समस्याको कारणले भएका मृत्युहरूमध्ये दुई सय जना जतिको मृत्युलाई रोक्न सकिन्थ्यो भन्ने उक्त अध्ययनले निष्कर्ष निकालेको थियो ।

अकाल मृत्यु र असुरक्षित काम गर्ने वातावरणबीच सम्बन्ध रहेको प्रमाण हुँदाहुँदै पनि गएको दशकमा भएका हजारौँ आप्रवासी श्रमिकहरूको मृत्युको अनुसन्धान गर्न कतारी अधिकारीहरू असफल रहेको कुरा एमनेस्टी नेपालले सार्वजनिक गरेको हो ।

एमनेस्टी इन्टरनेसनलले सन् २०१७ देखि २०२१ को बीचमा कतारले जारी गरेको आप्रवासी श्रमिकहरूका लागि १८ जनाको मृत्यु प्रमाणपत्रको समीक्षा ग¥यो । तीमध्ये १५ वटाले मृत्युको मुख्य कारणहरूबारे कुनै जानकारी प्रदान गरेनन्, त्यसको सट्टा ‘हृदयाघात प्राकृतिक कारण’, ‘हृदयाघात निर्दिष्ट नगरिएको’ र ‘प्राकृतिक कारणहरूले गर्दा श्वासप्रश्वाससम्बन्धी विफलता’जस्ता शब्दहरू प्रयोग गरिएका छन् । जुन आपत्तिजनक छ ।

आधिकारिक कतारी तथ्यांकले देखाएअनुसार सन् २०१० देखि सन् २०१९ को बीचमा सबै उमेर र पेशा समूहका १५ हजार २१ जना भन्दा बढी गैर–कतारीहरूको मृत्यु भएको छ तर अनुसन्धानको अभावमा मृत्युको कारणहरूको तथ्यांक अविश्वसनीय रहेको कुरा एमनेस्टीले दस्तावेजीकरण गरेको छ। कतारको तथ्यांकमा धेरै मृत्युलाई ‘मुटुसम्बन्धी रोगहरू’ को रूपमा वर्गीकरण गरिएको तथ्यले यथार्थमा कारण नखुलाइएका धेरै मृत्युहरूलाई ओझेलमा पारेको छ । दक्षिण एसियाली देशहरूबाट आउने अधिकांश आप्रवासी श्रमिकहरूको मृत्युको तथ्यांकमा पनि यो कुराको संकेत गरिएको एमनेस्टीले भनेको छ । जसले गर्दा नेपालीहरु पनि कतारमा प्रभावित भएको स्पष्ट देख्न सकिन्छ ।

यसरी विदेशमा ज्यान गुमाएको विषयमा सञ्चारमाध्यम, साथीभाइ, आफन्त तथा समाजबाट युवाहरुले थाहा पाइराखे पनि उनीहरु विदेश निरन्तर गइरहेको पाइन्छ । यसलाई रोक्नको लागि न सरकारले चासो दिएको छ, न त समस्या समाधानतर्फ अग्रसरता नै देखाएको छ । नेपाली युवा जाने मुलुकहरुमा हाम्रा युवाहरु सकुशल फर्किनुपर्छ भन्ने माग समेत सरकारले आक्कलझुक्कल मात्र उठाएको पाइन्छ । जसले गर्दा युवाहरु लैजाने मुलुकले समेत उनीहरुको अवस्थालाई ख्याल नगर्ने सम्भावना अत्यधिक छ ।

विदेश असुरक्षित हुँदाहुँदै पछिल्लो दश वर्षमा ३८ लाख ९८ हजार चार सय ७९ जना युवाहरुले विदेश जान श्रम स्वीकृति लिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग तथ्यांक छ । आर्थिक वर्ष २०६५/०६६ देखि गत आव २०७४/०७५ सम्ममा महिला र पुरुष गरेर ३८ लाखभन्दा बढी युवाहरु कामको विदेश गएका हुन् । यसमध्ये महिलाको संख्या एक लाख ९७ हजार आठ सय सात जना रहेको छ भने पुरुषको संख्या ३७ लाख ६ सय ७२ जना रहेको छ । विदेश गएकामध्ये करिब ८० प्रतिशतभन्दा बढी युवाहरु खाडीका ६ वटा राष्ट्र र मलेसिया गएका छन् ।

नेपाली युवाहरु १५० भन्दा बढी मुलुकमा कामका लागि जाने गरको सरकारी तथ्यांक छ । उनीहरुलाई रोक्न सरकारले उचित नीति तथा कार्यक्रम बनाउनु आवश्यक छ । सरकारले रोजगारी सिर्जनाका लागि पछिल्ला वर्षहरुमा कार्यक्रमहरु ल्याए पनि कार्यान्वयन नगर्ने परम्पराले भने युवाहरु मुलुकमा स्वरोजगार हुनुबाट वञ्चित हुनपुगेका छन् । वर्षेनी सो संख्या भने बढ्दो रहेको पाइन्छ ।

पछिल्लो समय विश्वमा आप्रवासनलाई सकारात्मक लिएको पाइन्छ तर नेपाल सरकारले आप्रवासनलाई व्यवस्थित गर्न नसक्दा भयावह बन्नपुगेको छ । वैदेशिक रोजगारीमार्फत नेपाली समाजमा भित्रिएको सामाजिक, सांस्कृतिकलगायतका विकृतिले गर्दा मुलुकमा विविध समस्या समेत परेको छ । यसलाई रोक्न सरकारी तहबाट खासै प्रयास भएको पाइँदैन ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया