Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाल‘नेपाली महिला उद्यमी सम्मेलन’को सम्पूर्ण तयारी पूरा

‘नेपाली महिला उद्यमी सम्मेलन’को सम्पूर्ण तयारी पूरा


बीरगञ्ज । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जले आयोजना गर्न लागेको ‘नेपाली महिला उद्यमी सम्मेलन’को सम्पूर्ण तयारी पूरा भएको छ । एनवाईईएफ वीरगञ्जले लेडिज सर्कल नेपाल (एलसीएन) सँगको सहकार्यमा शुक्रबार वीरगञ्जमा आयोजना गर्नलागेको सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

मोफसलमै पहिलोपटक नेपालको मुख्य औद्योगिक तथा व्यापारिक नगर वीरगञ्जमा आयोजना हुन गइरहेको सम्मेलनले महिला उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिएको सम्मेलन संयोजक मनिसा सुनुवार श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार सम्मेलनको उद्घाटन वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले गर्ने कार्यक्रम तय भएको छ । नेपालको उद्यम व्यापारका क्षेत्रमा महिलाहरूको सहभागिता निकै न्यून रहेको परिप्रेक्ष्यमा यो सम्मेलनबाट महिलाहरूलाई उद्यमशीलतामा अघि बढ्न प्रोत्साहन प्राप्त हुने श्रेष्ठले जनाइन् । उनका अनुसार उद्यमका क्रममा आइपर्ने समस्याको समाधान र सम्भावनाको पहिचान तथा उपयोगका उपायमा हुने गहन छलफल उद्यमका लागि लाभदायी हुनेछन् ।

उद्यमका क्षेत्रमा सक्रिय महिला उद्यमी र स्टार्टअपहरूलाई प्रोत्साहन गर्नु पनि सम्मेलनको मूल अभिप्राय हो । कार्यक्रमका अवसरमा महिला उद्यमशीलता प्रवर्द्धन र प्रोत्साहनका लागि १० जना महिला उद्यमी र स्टार्टअपलाई सम्मानित गरिनेछ । उद्यम व्यवसायका क्षेत्रमा सक्रिय महिला उद्यमी र स्टार्टअपलाई गरिने यो सम्मानबाट उद्यमशीलता प्रवर्द्धनमा प्रोत्साहन मिल्ने आयोजकको विश्वास छ ।

आर्थिक रुपमा महिलाहरूको सहभागिता र सक्रियता बढाएर विकासको मूल प्रवाहमा सहभागी बनाउने उद्देश्यअनुसार महिला उद्यमशीलता प्रवर्द्धनका लागि सम्मेलन आयोजना हुन गइरहेको हो । सम्मेलनबाट महिलाहरूमा उद्यमशीलतासँगै आइपर्ने चुनौतीहरुको सामना र नवप्रवर्तनको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ । सयभन्दा बढी महिला उद्यमीको सहभागिता रहने सम्मेलनमा विभिन्न सफल उद्यमीका अनुभव तथा संघर्ष, स्टार्टअप उद्यमीका अनुभव, उत्पादन, बजार पहिचान, प्रवर्द्धन, प्रोत्साहनका उपाय, महिला उद्यमका समस्या, चुनौती र अवसरलगायतका पक्षमा बेग्लाबेग्लै सत्रमा अन्तर्क्रिया हुनेछन् ।

उद्यमशीलताका विविध क्षेत्रहरूमा सहभागी महिला उद्यमीहरूको अनुभव आदानप्रदानबाट उद्यम व्यवसायका क्रममा देखा पर्ने समस्यालाई अवसरको रुपमा रुपान्तरण गर्ने क्षमता विकास हुनेछ । सम्मेलनका सहभागीले उद्यमका लागि उपयोगी ज्ञान, सीप, तथा क्षमता अभिवृद्धिका दृष्टिले लाभ लिन सक्नेछन् । सम्मेलनमा महिला उद्यमशीलताका समस्या र त्यसको निराकरणका उपायहरूमा छलफल गरी आएका निष्कर्षलाई सरोकारका पक्ष तथा निकायहरुमा पहल गरिनेछ । यसका निम्ति रचनात्मक पहल गरिने आयोजकले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया