Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालवीरगञ्जमा युवा महिला उद्यमी सम्मेलन

वीरगञ्जमा युवा महिला उद्यमी सम्मेलन


काठमाडौं । नेपाली युवा उद्यमी मञ्ज (एनवाईईएफ) वीरगञ्ज र लेडिज सर्कल नेपालको सहकार्यमा शुक्रबार वीरगञ्जमा युवा महिला उद्यमी सम्मेलन सम्पन्न भएको छ । मोफसलमै पहिलोपटक भएको यस्तो सम्मेलनको प्रदेश २ का ऊर्जा तथा खानेपानी विकासमन्त्री ओमप्रकाश शर्माले उद्घाटन गरेका हुन् ।

सो अवसरमा मन्त्री शर्माले आर्थिक रुपमा महिला सशक्तीकरणविना देशको आर्थिक कल्पना गर्न नसकिने बताए । आर्थिक रुपमा महिला सशक्तीकरणको विषय अगाडि आए पनि नेपालका सन्दर्भमा अझै पनि महिलाले आर्थिक क्रियाकलापमा सहभागिताको समान अवसर नपाएको मन्त्री शर्माले दाबी गरे । उद्यम व्यापारमा युवा महिलालाई अघि बढाउन नीतिगत सुधार र योजनाको आवश्यकता मन्त्री शर्माले औँल्याए ।

उनले प्रदेश नं. २ को सरकार महिला उद्यमशीलता प्रवर्द्धनमा प्रतिबद्ध भएको पनि उल्लेख गरे । उद्यमशीलता अघि बढाउन सरकार र उद्यमीबीच समन्वय र सहकार्य जरुरी भएको उनको भनाइ थियो । उनले प्रदेश २ का उद्यमी महिलालाई ऊर्जामा सहुलियत दिने आश्वासन पनि दिए । कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले उद्यम व्यापारका क्षेत्रमा महिलाको उल्लेख्य सहभागितामा जोड दिँदै महिला उद्यमी र उद्यमशीलता प्रवर्द्धनमा संघले सहकार्य गर्दै आएको बताए ।

एनवाईईएफका केन्द्रीय अध्यक्ष उदीप श्रेष्ठले एनवाईईएफले युवा उद्यमशीलताका सवालमा युवालाई अघि बढाउन पहल गरेको बताए । उनले सो अवसरमा संस्थाको स्थापना र उद्देश्यका बारेमा जानकारी दिएका थिए । एनवाईईएफ महिला उद्यमी अध्यक्ष सहारा जोशीले उद्यम व्यापारमा युवा महिलाको अग्रसरता अपेक्षित रुपमा हुन नसकेको बताइन् । उनले उद्यममा महिला नेतृत्वको आवश्यकतामा जोड दिइन् । कुनै पनि क्षेत्रको विकासका युवा सहभागिता महत्वपूर्ण हुने उनले बताइन् । एनवाईईएफ वीरगञ्जका अध्यक्ष अनुप अग्रवालले मोफसलमै पहिलोपटक वीरगञ्जमा युवा महिला उद्यमी सम्मेलन भएको बताए । सम्मेलनबाट महिला उद्यमीलाई प्रोत्साहन मिल्ने उनले बताए ।

सफल तथा स्टार्टअप उद्यमीबीचको अन्तर्क्रियात्मक सम्मेलनले नयाँ उद्यमी वा उद्यमका अग्रसर हुन चाहनेहरुलाई अघि बढ्न हौसला मिल्ने अग्रवालको दाबी थियो । महिला उद्यमशीलताको विकास र समस्या समाधानमा सम्मेलन सहयोगी हुने विश्वास पनि उनले व्यक्त गरे । सो अवसरमा एनवाईईएफले वीरगञ्जकी ८० वर्षीया महिला उद्यमी भगवती अग्रवाललाई सम्मानित गरेको छ । अर्थतन्त्रमा महिलाको सक्रिय सहभागिताबारेमा अन्तर्क्रिया र महिलाहरूको उद्यमयात्राको अनुभव आदानप्रदान पनि भएको थियो । सम्मेलनमा सयभन्दा बढी महिला उद्यमीको सहभागिता थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया