Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसभामुख र अर्थमन्त्रीद्वारा बाह्रबीसे तातोपानी नाकाको सडकखण्ड निरीक्षण

सभामुख र अर्थमन्त्रीद्वारा बाह्रबीसे तातोपानी नाकाको सडकखण्ड निरीक्षण


सिन्धुपाल्चोक । नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाकासम्म पुगेर सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माले बाह्रबीसे–तातोपानी सडकखण्डको निरीक्षण गरेका छन् । उनीहरुले बाह्रबीसेदेखि नेपाल चीन सीमासम्मको २६ किलोमिटर सडकमा गर्नुपर्ने मर्मत तथा नयाँ निर्माणका लागि निरीक्षण गरेका हुन् ।

सडक निरीक्षणका क्रममा उनीहरुले भूकम्पपछि अस्थिर रहेको तातोपानी नाका प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि स्थानीय व्यवसायी, तातोपानी भन्सार कार्यालयका प्रमुख लगायतसँग छलफल समेत गरेका थिए । निरीक्षणपछि सभामुख र अर्थमन्त्रीसहितको टोलीले मितेरी पुल, व्यापारिक बजार लिपिङको अवस्थालाई गम्भीर रुपमा लिएको बताएका छन् । लिपिङ बजार सीमा पुलसँग जोडिएको बजार हो । भूकम्पपछि यहाँको अवस्था दयनीय छ । यो बजारमा भूकम्पअघि दैनिक करोडौँको कारोबार हुनुका साथै ठूला–ठूला होटल, बैंकलगायत कारोबार हुने व्यापारिक पसलहरु थिए । यसलाई पुनः सूचारु गरिनुपर्नेमा स्थानीयले जोड दिएका छन् ।

सोे क्षेत्रमा २०७१ सालमा आएको जुरे पहिरो, २०७२ सालको भूकम्प, २०७३ को भोटेकोशी बाढी, २०७४ मा लार्चा पुल पहिरोमा परी बगेको, २०७५ मा साँधी खोलाले पक्की पुल बगाएको, २०७७ सालमा बाह्रबीसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोशी गाउँपालिकाको लार्चामा आएको बाढी, पहिरोका कारण राजमार्गमा ठूलो क्षति पुगेको थियो । भूकम्प, भोटेकोशी बाढी र विभिन्न समयमा आएका ठूला पहिरोका कारण केही वर्ष यता अरनिको राजमार्गअन्तर्गतको बाह्रबीसे तातोपानी सडक खण्डमा सहज आवागमन हुन सकिरहेको छैन ।

कोभिड–१९ महामारीका कारण सीमा क्षेत्रमा गरिएको कडाइका कारण तातोपानी नाकाबाट हुने आयात निर्यात समेत पुरानो अवस्थामा फर्कन सकेको छैन । यो क्षेत्र सभामुख सापकोटाको निर्वाचन क्षेत्र समेत हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया