Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालजनगणनाको सम्पूर्ण तयारी पूरा, आजबाट गणना सुरु

जनगणनाको सम्पूर्ण तयारी पूरा, आजबाट गणना सुरु


काठमाडौं । हरेक १० वर्षमा सञ्चालन सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औँ श्रृंखलाको मुख्य गणना कार्यको तयारी पूरा भएको छ । बिहीबारदेखि सुरु भई आगामी मंसिर ९ गतेसम्म जारी रहने जनगणनाको लागि सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

विभागले बुधबार पत्रकार सम्मेलन गरी जनगणनाको लागि पहिलो चरणमा घर तथा परिवार सूचीकरण गर्ने कार्य यसअघि नै भइसकेको जानकारी दिएको छ । सूचीकृत भइसकेका र कुनै कारणले छुटेका समेत सबै परिवारमा गणक पुगी १५ दिनभित्र सबै व्यक्तिको विस्तृत विवरण संकलन गर्न करिब ४० हजार गणक र आठ हजार पाँच सय सुपरिवेक्षक परिचालन गर्न लागिएको विभागले जनाएको छ । विभागका अनुसार जनगणना सफल बनाउन केन्द्रदेखि वडा तहसम्म विभिन्न जनगणना समन्वय तथा सहजीकरण समिति गठन गरिएको छ ।

विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जनगणना सञ्चालन गर्न सात प्रदेशमा जनगणना कार्यालयसहित ८७ जिल्ला जनगणना कार्यालय र त्यसअन्र्तगत ३४९ स्थानीय जनगणना कार्यालय स्थापना गरिएको जानकारी दिए । जनगणनाको फाराममा ८० वटा प्रश्नावली रहेका छन् । एक परिवारलाई प्रश्नावली भर्नाका लागि औसतमा २० मिनेट समय लाग्ने उनले बताए । यस क्रममा देशभरका छ हजार सात सय ४३ वडाबाट आधारभूत आर्थिक, सामाजिक, सेवा, सुविधा, पूर्वाधार र विपत् अवस्थाको समेत जानकारी संकलन गरी सामुदायिक प्रश्नावली भरिने र यसबाट सम्पूर्ण वडाको वास्तविक जानकारी पाउन सकिने महानिर्देशक श्रेष्ठले बताए ।

यस्तै उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग कूटनीतिक तवरबाट पहल भइरहेको जानकारी दिए । स्याटलाइट प्रविधिबाट घरधुरी गणना गरी त्यसका आधारमा पनि जनगणना गर्न सकिने उनको भनाइ थियो ।

यस पटकको जनगणनामा काठमाडौँ महानगरपालिकासहित काठमाडौँ जिल्लाका छ नगरपालिकामा डिजिटल पद्धतिमा आधारित क्यापी विधि प्रयोग गरी ट्याब्लेटबाट विवरण संकलन गरिने र देशभरका अन्य स्थानमा कागजी प्रश्नावली प्रयोग हुनेछ । यस्तै विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा इ–सेन्सस विधि अपनाई वेबसाइट एप्लिकेसनबाट नेपाली कर्मचारी तथा आश्रित व्यक्तिको विवरण संकलन गर्न लागिएको विभागले जनाएको छ । महानिर्देशक श्रेष्ठका अनुसार घरपरिवार सूचीकरणका आधारमा यस पटकको जनगणनामा नेपालको जनसंख्या तीन करोड नपुग्ने अनुमान गरिएको छ । तीन महिनाभित्र जनगणनाको प्रारम्भिक प्रतिवेदन ल्याइने र पूर्ण विवरण आउन दुई वर्षको समय लाग्ने बताइएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया