Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालजनआन्दोलनका सर्वोच्च कमान्डर सिंहको १०७औँ जन्मजयन्ती मनाइयो

जनआन्दोलनका सर्वोच्च कमान्डर सिंहको १०७औँ जन्मजयन्ती मनाइयो


काठमाडौं । प्रजातन्त्र पुनर्स्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको १०७औँ जन्मजयन्ती बुधबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

गणेशमान जयन्तीका अवसरमा गणेशमान सिंह फाउन्डेसन, गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठान, नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संघसंस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको सफल कार्यान्वयन गरेर प्रजातन्त्रलाई दिगो र समृद्ध बनाउन सके मात्र नेता गणेशमान सिंहप्रति सच्चा सम्मान हुने बताएका थिए । नेपालको संविधान विश्वमै समावेशी भएको र यसले सबै वर्ग र समुदायको समावेशिताको व्यवस्था सुनिश्चित गरेको उनको भनाइ थियो । संविधानमा कुनै समस्या आए प्रजातान्त्रिक विधिबाट समाधान गर्न सकिने उनले बताए ।

विसं १९९७ सालदेखि नै सिंहले राणा शासनविरुद्ध आन्दोलन थालेको बताउँदै उनले प्रजातन्त्रका लागि ठूलो संघर्ष गरी लामो जेल र निर्वासन जीवन बिताएका नेता सिंहले प्रजातन्त्र प्राप्तिपछि पदको कुनै लोभ नगरेको समेत उल्लेख गरे । कार्यक्रममा उनले मुलुकमा प्रजातन्त्र मास्नलाई तत्कालीन राजाले आफूलाई थुनेको र जनता सडकमा ओर्लिएपछि गणतन्त्र आएको समेत स्मरण गरे । मुलुकमा जनताभन्दा ठूलो शक्ति अरू कोही नभएको उल्लेख गर्दै जनता नै देशको मालिक भएको बताए । उनले प्रजातन्त्रमा आवधिक निर्वाचन हुने र निष्पक्ष निर्वाचनका लागि निर्वाचन आयोग रहेको बताए । निर्वाचनमा भएको हारजितलाई सबैलाई स्वीकार गर्नुपर्ने बताउँदै उनले भने, ‘प्रजातन्त्र भनेको जनताप्रति उत्तरदायी सरकार हो । सरकार जनताप्रति उत्तरदायी भएन भने अर्काे सरकार आउँछ ।’

कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानका अध्यक्ष एवं संघीय सांसद भीमसेनदास प्रधान, कांग्रेस काठमाडौँका पूर्वजिल्ला सभापति तीर्थराम डङ्गोल र प्रा. धर्मकान्त बास्तोलाले प्रजातन्त्र स्थापना र पुनर्स्थापनमा गणेशमान सिंहको योगदान इतिहासले बिर्सन नसक्ने बताएका थिए । कार्यक्रममा प्रधानमन्त्री देउवाले २०६२/६३ को जनआन्दोलन सफल पार्न आम प्राध्यापकको नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेपाल प्राध्यापक संघका तत्कालीन अध्यक्ष प्रा. खगेन्द्रप्रसाद भट्टराईलाई स्वर्ण पदकबाट विभूषित समेत गरेका थिए ।

यस्तै गणेशमान सिंह फाउन्डेसनले सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंहले नेपाली जनतालाई सार्वभौम बनाउनका लागि स्व. सिंहले नेपाली राजनीतिमा छ दशक लामो खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई रक्षा गर्दै संघीयता, लोकतन्त्र र समावेशितालाई संस्थागत गर्दै अगाडि बढाउने मुख्य जिम्मा कांग्रेसको भएको पनि उल्लेख गरे ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका स्व. सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । ऐतिहासिक सो जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा सिंहले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका सिंहको २०५४ असोज २ गते निधन भएको हो । सिंहले विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए । राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायत नेतालाई तत्कालीन सरकारले जेल हालेको थियो ।

विसं २००७ अघि नै भद्रगोल जेल फोडेर भाग्न सफल भएका जोसिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय थिए । जेलबाट भागेर भारतमा पुगी अर्का नेता वीपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरेका उनले केही सहयोगीका साथ विसं २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि उल्लेखनीय भूमिका खेले । प्रजातन्त्र स्थापनाका लागि भएको विसं २००७ को क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए । देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले वीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहे । नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा सिंह क्रियाशील भए ।

विसं २०१५ मा पहिलो निर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले विसं २०१७ मा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा काराबास जीवन बिताएका थिए । विसं २०२५ मा वीपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि उनले प्रवासमा राजनीतिक संगठन विस्तार गरे । विसं २०३३ मा वीपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर उनी तत्कालीन पञ्चायती व्यवस्थाका विरूद्ध सक्रिय रहेका थिए । साथै उनले तत्कालीन पञ्चायती सरकारले वीपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट सफाइ समेत पाए ।

गणेशमानले विसं २०३६ को विद्यार्थी आन्दोलन र जनमत संग्र्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । वीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले विसं २०४२ को सत्याग्रह आन्दोलनको नेतृत्व गरे । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान विसं २०४६ मा रह्यो । जनआन्दोलनका लागि कम्युनिस्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने गणेशमान सिंह उक्त आन्दोलनका सर्वोच्च कमान्डर भई सबैको प्रिय बनेका थिए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया