Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालत्रिधार्मिक स्थल हलेसीको गुरुयोजना काम सम्पन्न

त्रिधार्मिक स्थल हलेसीको गुरुयोजना काम सम्पन्न


खेमराज अधिकारी
खोटाङ, माघ १७
खोटाङस्थित धार्मिक तथा पर्यटकीय स्थल हलेसीको चौतर्फी विकासका लागि निर्माण गरिएको गुरुयोजना पारित भएको छ । हलेसी गुरुयोजना निर्माण समितिले काठमाडौँमा दुईदिने बृहत् अन्तरक्रिया कार्यक्रम गरी हाल तयार पारिएको गुरुयोजनाको प्रस्तावित प्रतिवेदन संशोधनसहित पारित गरेको हो ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका ६ महादेवस्थानमा अवस्थित हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीहरूको संगमस्थलका रूपमा रहेको हलेसीलाई व्यवस्थित र दिगो विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको पहलमा विसं २०७५ जेठदेखि गुरुयोजनाको काम थालिएको थियो । हलेसी मन्दिर र आसपासमा रहेका पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्रको विकासका लागि निर्माण गरिएको गुरुयोजनालाई लामो समयपछि अन्तिम रूप दिइएको गुरुयोजना निर्माण समितिका संयोजक तथा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले बताए ।

काठमाडौँमा आयोजित बृहत् अन्तरक्रिया कार्यक्रमले हलेसी मन्दिरको केन्द्रबाट दुई सय मिटर वृत्ताकार क्षेत्रभित्रको जग्गा अधिग्रहण गर्ने, हलेसीको २६ रोपनी जग्गाभित्र कुनै पनि भौतिक संरचना निर्माणमा रोक लगाउनेलगायतका निर्णय गरेको छ । गुरुयोजनाको प्राथमिकतामा महादेव गुफा, तुवाचुङ जायजुम, होलेसुङ, मञ्जुश्री गुफा र ककनी राखिएको छ । ककनी डाँडालाई रक गार्डेनको रूपमा विकास गरिने गुरुयोजनामा उल्लेख गरिएको छ । गुप्तेश्वर गुफा, सत्तेश्वर गुफा, भुम्जु डाँडा, खाम्तेलगढी, सल्ले पोखरी, महादेवबेसी, जयरामघाट तथा जोर्तीघाटलगायत स्थानलाई समेत गुरुयोजनामा समावेश गरिएको छ ।

हलेसी मन्दिर आसपासमा अतिक्रमित जग्गा अधिग्रहण गर्ने क्रममा जग्गाधनी तथा सरोकारवाला पक्षसँग छलफल गरेर उचित क्षतिपूर्तिको टुङ्गो लगाइने नगरप्रमुख इवन राईले बताए । राईले भने, ‘अधिग्रहणमा पर्ने घरहरूको लागत स्टिमेट मूल्यांकन, सरकारी तथा निजी जमिनको वर्गीकरणलगायत काम पनि सम्पन्न भइसकेको छ ।’ हलेसी आसपास निर्माण गरिएका एक सय ६९ वटा घर टहरा हटाइने राईले जानकारी दिए । यस्तै मारातीका छोलिङ गुम्बा, गणेश मन्दिर, हलेसी मन्दिर र आसपासका निजी घर तथा हलेसीको प्राकृतिक गुफालाई असर गर्ने रूखको उचित व्यवस्थापन गरिने भएको छ ।

यसका लागि हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीलगायत सरोकारवालासँग छलफल गरेर निष्कर्ष निकालिने हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिए । मध्यपहाडी लोकमार्गको छोएको धार्मिक तथा पर्यटकीयस्थल हलेसी राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै बजारीकरण हुनेक्रममा हलेसीको नाममा रहेको जग्गा अतिक्रमण हुने क्रम बढेपछि हलेसीलाई व्यवस्थित गर्दै दिगो विकास र पर्यटन प्रवद्र्धनका लागि गुरुयोजनाको काम अघि बढाइएको थियो ।

गुरुयोजनाको टुंगो लगाउन हलेसी तुवाचुङ नगरपालिकाको पहलमा २०७५ माघ ४ गते प्रतिनिधिसभा सदस्य भट्टराईको संयोजकत्वमा हलेसी गुरुयोजना निर्माण समिति बनाइएको थियो । जसमा प्रतिनिधिसभा सदस्य हीरा गुरुङ, प्रदेशसभा सदस्य राजन राई, रामकुमार राई, उषाकला राई, पूर्वराज्यमन्त्री शिव बस्नेत, सर्वधन राई, पूर्वसांसद टंक राई, विदुर पौडेल, संविधानसभा सदस्य सरस्वती बजिमय, पिके राई, दुर्गाजयन्ती राई, समिता कार्की, हरि रोका, हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख इवन राई, उपप्रमुख बिमला राई र नगरपालिकाका वडाध्यक्षलगायत सदस्य छन् ।

हलेसी धार्मिक दृष्टिले मात्र नभइ प्राकृतिक सौन्दर्यले पनि उतिकै प्रख्यात रहेको छ । विगतमा सिधा यातायातको समस्याले हलेसीमा पर्यटकको संख्यामा केही कमी आएको भए पनि मध्यपहाडी लोकमार्गले हलेसीलाई राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि हलेसी दर्शन गर्न आउने दर्शनार्थीहरूको संख्यामा भारी मात्रामा वृद्धि भएको छ । काठमाडौँ, पोखरा तथा तराईका जिल्लाहरूमा सिधा यातायातको पहुँच विस्तार भएसँगै ती स्थानहरूवाट ठूलो संख्यामा दर्शनार्थी आउने गरेका छन् । पूर्वको पशुपतिनाथ भनेर चिनिने धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलको रूपमा परिचित हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक जनविश्वास रहिआएको छ । हलेसीमा रामनवमी, बालाचतुर्दशी, शिवरात्री, हरितालिका तीजलगायत बाह्रै महिना दर्शनार्थीहरूको ठूलो भीड लाग्ने गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया