Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलुङलाई

पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलुङलाई


काठमाडौं । चौथो संस्करणको पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलुङ राईले जितेका छन् । उपाधिसँगै उनले नगद ५० हजार रूपैयाँ जितेका हुन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको चार हजार दुई सय मिटर उचाइको पाँचपोखरीमा शनिबार सम्पन्न प्रतियोगितामा कुलुङले निर्धारित दूरी १ घण्टा ५५ मिनेट ५२ सेकेन्डमा पूरा गर्दै पहिलो भएका हुन् ।

यस्तै दोस्रो र तेस्रो आर्मीका गोपाल तामाङ र श्रीकास राई भएका छन् । उनीहरूले क्रमशः दुई घण्टा २९ सेकेन्ड र दुई घण्टा एक मिनेट ४० सेकेन्डमा दौड पूरा गरेका हुन् । उनीहरूले पनि नगद ३० हजार र २० हजार रूपैयाँ हात पारेका छन् । चौथो र पाँचौँ स्थान अर्जुन कुलुङ र तीर्थ तामाङले जितेका छन् । महिलातर्फ धादिङका रसिला तामाङ पहिलो भइन् । उनले दुई घण्टा ४४ मिनेट ४३ सेकेन्डमा दौड पूरा गरिन् । उपाधिसँगै उनले पनि नगद ५० हजार रूपैयाँ जितिन् । यस्तै सिन्धुपाल्चोकका नितु तामाङले निर्धारित दूरी दुई घण्टा ४६ मिनेट २५ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो स्थान प्राप्त गरिन् ।

तेस्रो, चौथो र पाँचौं स्थान क्रमशः प्युठानका संगिता बुढामगर, आश्मा विश्वकर्मा र निर्मला राईले हात पारे । त्यस्तै सिन्धुपाल्चोकका सहभागितर्फ पुरुषमा सञ्च तामाङ र महिलामा नितु तामाङले पहिलो स्थान हात पारेका छन् भने भेट्रान पुरुषतर्फ गोर्खाका भिमबहादुर गुरुङ र महिलामा राधा श्रेष्ठ पहिलो भएका छन् । प्रतियोगितामा सहभागी खेलाडीको हौसला बढाउनका लागि एसियाली म्याराथनका स्वर्ण विजेता बैकुण्ठ मानन्धरले पनि दौडमा सहभागिता जनाएका थिए ।

जिल्लाको थाङ्पाल गाउँपालिकाको रैथानेश्वरीदेखि २१ किलोमिटरको म्याराथन चार हजार दुई सय मिटर उचाइको पाँचपोखरीसम्म भएको थियो । पर्यटन प्रवर्द्धनका लागि खेलकुद भन्ने मूल नाराका साथ स्वस्थ्य रहन खेलकुद र खेलकुदका माध्यमबाट पाँचपोखरीको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बागमती प्रदेश खेलकुद परिषद् सदस्य सचिव सुर्यलाल भन्डारीले बताए ।

पुरुष तथा महिला म्याराथन विजेताहरूले क्रमशः ५० हजार, ३० हजार, २० हजार, १० हजार रूपैयाँका साथ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए । जिल्लाकै गौरव बोकेको पर्यटकीयस्थल पाँचपोखरीलाई खेलकुदमार्फत जोडेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ म्याराथन आयोजना गरिएको गाउँपालिका अध्यक्ष टासि लामाले बताए । म्याराथनलाई आगामी वर्षहरूमा थप स्तरवृद्धि गर्दै अन्तर्राष्ट्रियस्तरको आयोजन गर्ने खेलकुद परिषद्ले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया