Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबाढी पहिरोले मुहान बगाएपछि खानेपानीको हाहाकार

बाढी पहिरोले मुहान बगाएपछि खानेपानीको हाहाकार


बझाङ । बेमौसमी वर्षासँगै आएको बाढी र पहिरोले खानेपानीका मुहान, इन्टेक, ट्यांकी, पाइपलाइन, धारालाई क्षतिग्रस्त बनाइदिएपछि जिल्लामा खानेपानीको चरम समस्या भएको छ ।

जयपृथ्वी नगरपालिका–१, पिमी गाउँमा पनि कात्तिकअघि पानीको दुःख थिएन । भर्खरै करिब एक करोड लगानीमा निर्मित भेरा खानेपानी योजनाका धाराबाट चौबीसै घण्टा पानी आउँथ्यो । केही परिवारले पहिला नै निर्माण भएको गौडा खानेपानी योजनाका धाराबाट पानी खान्थे । कात्तिकमा आएको बेमौसमी बाढी पहिरोले भेरा खानेपानी योजनाको मुहान नै बगाइदियो । गौँडा खानेपानी योजनाको पाइप दर्जनौँ ठाउँमा पहिरोले बगाएपछि दुवै योजना बन्द भए । यो गाउँका करिब दुई सय परिवार अहिले वर्षापछि आएको भलको पानी खान बाध्य छन् । बाढी पहिरोले खानेपानी योजनाका सबै संरचना बगाएपछि पाँच किलोमिटर टाढा पुगेर पानी खानुपर्ने बाध्यता रहेको यहाँका स्थानीय बताउँछन् ।

बाढी पहिरोले जिल्लाको खप्तड छान्ना गाउँपालिकामा मात्रै ६६ वटा खानेपानी योजनामा क्षति भएको पालिकाका सूचना अधिकारी ऐनबहादुर रोकायाले बताए । पालिकाभर खानेपानी योजना क्षतविक्षत हुँदा करिब दुई हजार चार सय परिवारका १३ हजारभन्दा बढी स्थानीय स्वच्छ खानेपानीबाट वञ्चित भएको उनले बताए । खानेपानी योजनाको मुहान नै पहिरोले बगाएर लगेको छ भने कुनैको मुहान कहाँ थियो भन्ने नै थाहै नहुने अवस्था भएको थलारा गाउँपालिका ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जलस्रोत अधिकृत छत्र जोशीले बताए ।

‘कुनै योजनाको ट्यांकी छैनन् । पालिकाको खानेपानी सञ्जाल पूरै ध्वस्त भयो भन्दा हुन्छ’, उनले भने । थलारा गाउँपालिकामा ५० भन्दा बढी खानेपानी आयोजना बाढी पहिरोले क्षतिग्रस्त हुँदा दुई हजार पाँच सयभन्दा बढी परिवार भल, कुलो, खोलाको पानी खाइरहेका छन् । कतिपय गाउँमा त परम्परादेखि नै पानी खाइरहेका कुवा र धाराहरूको पनि नामोनिसान छैन ।

जिल्लाको जयपृथ्वी र बुंगल नगरपालिका, खप्तडछान्ना, बित्थडचिर, केदारस्युँ, थलारा, छबीस पाथीभेरा, दुर्गाथली, सुर्मा, तल्कोट र मस्टा गाउँपालिकाका दर्जनौँ गाउँमा खानेपानीको संकट सुरु भएको हो । ‘गाउँको खानेपानी पहिरो बगाएपछि तीन घण्टा टाढाको खोलाबाट पानी बोकेर खाइरहेका छौँ’, थलारा गाउँपालिका–२ ऐनवाडाकी धनादेवी कुँवरले भनिन्, ‘गाउँको कुवा पनि पहिरोले पुरेपछि विजोग भएको छ । खानेपानीको यस्तो संकट त कहिल्यै भएको थिएन ।’ कतिपय खानेपानी आयोजना मर्मतपछि सञ्चालन गर्न सकिने भए पनि धेरैजसोको मुहान नै बगेकाले पुनर्निर्माण गर्न समेत समस्या भइरहेको पालिकाहरूले जनाएका छन् । ‘कुनै–कुनै गाउँमा पाइप मात्रै बगाएको छ । त्यहाँ हामीले नयाँ पाइप दिएर मर्मत गर्न लगाएका छौँ’, खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष बर्क रोकायाले भने, ‘मुहानै बाँकी नरहेको ठाउँमा कसरी पानी ल्याउने भन्ने चिन्ता बढेको छ ।’ खानेपानीका संरचना क्षतिग्रस्त हुँदा महिलालाई निकै दुःख भएको केदारस्युँ गाउँपालिकाकी उपाध्यक्ष निशा ठगुन्नाले बताइन् । उनका अनुसार सम्भव भएका ठाउँमा पहिरोले च्याप्पेका पाइप निकालेर भए पनि पानी चलाउने प्रयास भइरहेको छ । धेरैजसो गाउँमा त्यो पनि सम्भव छैन ।

बाढी पहिरोले खानेपानीका संरचनामा क्षति पु-याउँदा जिल्लामा २० हजारभन्दा बढी घरधुरीमा खानेपानीको संकट देखिएको प्रारम्भिक अनुमान भए पनि यकिन तथ्यांक आउन सकेको छैन । ‘१२/१३ वटा निवेदन आएका छन् ।’, खानेपानी व्यवस्थापनको जिम्मा लिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डँडेलधुराअन्तर्गतको फिल्ड कार्यालय बझाङका प्रमुख भक्तबहादुर खड्काले भने, ‘सबै जानकारी विपत् व्यवस्थापन समितिमा हुन सक्छ ।’ उनले खानेपानीमा भएको क्षतिको विवरण राख्नुपर्ने जिम्मेवारी आफ्नो कार्यालयको भए पनि सबैतिरबाट नआएकाले राख्न नसकिएको बताए । यता, विपत् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले लापरबाही गरेका कारण क्षतिको विवरण आउन नसकेको बताए । उनले भने, ‘पालिकाहरूसँग बुझ्दा २० हजारभन्दा बढी परिवार समस्यामा परेको प्रारम्भिक जानकारी आएको छ ।’

बझाङको खानेपानी व्यवस्थापन हेर्ने मुख्य कार्यालय डँडेलधुरामा रहेका कारण पनि यस्तो समस्या भएको प्रजिअ अधिकारीको भनाइ छ । खानेपानीको चरम समस्या भएका गाउँ पत्ता लगाएर समाधान गर्न पालिकादेखि प्रदेश र संघ सरकारले तत्काल पहल गर्नु जरुरी भएको उनले बताए ।

प्रदूषित पानीको प्रयोग गरेका कारण कात्तिक पहिलो सातादेखि नै यो गाउँमा पानीजन्य संक्रमण फैलिन थालेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । उनीहरूका अनुसार खानेपानी बन्द भएपछि पानीजन्य संक्रमणका बिरामी चार–पाँच गुणा बढेका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया