Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालविश्वलाई बाँसुरीको धुन सुनाउँदै प्रताप

विश्वलाई बाँसुरीको धुन सुनाउँदै प्रताप


काठमाडौं । जनकपुरधामका बाँसुरीवादक प्रताप केसी बाँसुरीको धुन सुनाउँदै विभिन्न देश पुगिसकेका छन् । गाँउमा स–साना मेलाहरूमा नियमित बाँसुरी बजाउने उनलाई हाल विभिन्न देशका कार्यक्रममा निमत्रणा आउँछ । भारतको विहारमा स्वर्गीय फैमुल्ला खानसँग र त्यसपछि नेपालमा उस्ताद पूर्णबहादुर थापासँग उनले बाँसुरीवादनको ज्ञान लिएका थिए ।

प्रताप विशेषतः नेपालको लोक संगीतको धुन बजाउन मन पराउँछन् । प्रताप अधिकांश समय युरोपका विभिन्न देशहरूमा आफ्नो बाँसुरीको धुन सुनाउन पुग्छन् । उनले एसियाका विभिन्न मुलुकमा आफ्नो प्रस्तुति दिइसकेका छन् । उनले एसिया र युरोपका करिब २० भन्दा बढी देशमा आफ्नो प्रस्तुति दिइसकेका छन् । ‘विदेशमा हामीलाई धेरै मानिसहरूले राम्रो व्यवहार गर्छन् । हामीले बजाएर हिँड्ने संगीतमा भोकल हुँदैन । हामी वाद्यवादनमार्फत संगीत पस्कने भएकाले सबैले राम्रो व्यवहार गर्ने गरेका छन्’, प्रताप भन्छन् । उनको अनुभवमा कतिपय स्थानमा नेपालको मौलिक लोकधुन सुनाउँदा मानिसहरू अचम्मित पर्नेगरेका छन् । किनकि उनको बुझाइमा नेपालको मौलिक लोकधुन अन्य देशको धुनभन्दा फरक छ ।

संगीतमार्फत प्रताप समाजसेवामा पनि उत्तिकै सक्रिय छन् । २०७२ सालको विनाशकारी भूकम्पका समयमा उनकै पहलमा भारतका कलाकार रासिद खान, हरिहरण, उषा उत्तुब, तलत आजिज, लुइस एन्ड व्यान्ड मिलेर नेपालका भूकम्पपीडितका लागि कार्यक्रम गर्दै त्यसबापत उठेको रकम भूकम्पपीडितलाई सहयोग गरेका थिए । कार्यक्रमबापत उठेको रकम नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रमको संयोजन भारतीय कलाकार उस्ताद रासिद खानले गरेका थिए ।

उनले कोभिड महामारीपछि विभिन्न ठाउँका अशक्त असहायहरूलाई रासन पानी दिए । उनले भक्तपुरको मानव कल्याण समाजमा रहेका अशक्त असाहयहरूलाई विभिन्न सहयोग गरेका छन् । पाटनमा रहेको नमूना मच्छिन्द्र माध्यमिक विद्यालयका दृष्टिविहीनहरूलाई आफ्नो आम्दानीको केही रकम सहयोग गरेका छन् । उनले नेपाल सरकारबाट २०७६ साल असोज ३ गते विभूषण पाउने घोषणा भए पनि कोरोना महामारीका कारण ढिलाइ भएपछि २०७७ चैत २७ गते पाएका थिए । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया