Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालढाकाजन्य उत्पादनको प्रवर्द्धन गर्नसके मुलुककै व्यापारघाटा न्यूनीकरण गर्न सकिने

ढाकाजन्य उत्पादनको प्रवर्द्धन गर्नसके मुलुककै व्यापारघाटा न्यूनीकरण गर्न सकिने


काठमाडौं । ढाकाजन्य उत्पादनको प्रवर्द्धन गर्नसके मुलुककै व्यापारघाटा न्यूनीकरण गर्न सकिने सरोकारवालाहरुले बताएका छन् । ढाका कपडा र यसबाट बनेका वस्तुहरुको प्रवर्द्धन, बजारीकरण र ब्राण्डिङ गर्ने उद्देश्यले आगामी पुस पहिलो साता आयोजना हुने ढाका वस्तु प्रदर्शनीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा व्यवसायीहरुले ढाकाजन्य उत्पादनको बजार स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म रहेको बताएका हुन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ केन्द्र र नेपाल ह्याण्डुलम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त आयोजनामा आगामी पुस २, ३ र ४ गते काठमाडौंको बानेश्वर थापागाउँस्थित बानेश्वर ब्याङ्क्वेटमा प्रदर्शनी र सम्मेलन आयोजना लागिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । अहिले ढाका तथा ढाकाजन्य वस्तुको उत्पादनको गुणस्तर कायम गरी तिनको निकासी गर्न सकिने अवस्था उच्च रहेको भन्दै महासंघका अध्यक्ष श्याम गिरीले विभिन्न शीर्षकका हस्तकलाका वस्तु वा सुती कपडाअन्तर्गत ढाकाका वस्तुहरु निर्यात भइरहेको जानकारी दिए । अहिले ढाका तथा ढाकाजन्य उत्पादनहरु निर्यात भइरहे पनि निर्यात भएका ढाका उत्पादनहरुको लेखाजोखा र तथ्याङ्क राख्ने कार्य भने हुन नसकेको उनले बताए । देशभर झण्डै ५० हजारभन्दा बढी रोजगारी सिर्जना गरेको यस व्यवसायको प्रवर्द्धन र गुणस्तर अभिवृद्धिको क्षेत्रमा पनि प्रभावकारी प्रयास हुन नितान्त जरुरी भएको अध्यक्ष गिरीको भनाइ छ ।

हालसम्म ढाका कपडा उत्पादनमा परम्परागत सीप शैली डिजाइन प्याटर्नको मात्र प्रयोग भइरहेकोमा अहिले आएर यसका उत्पादनहरुमा बजारको माग तथा बदलिँदो परिवेशअनुसार उत्पादन विविधीकरण कार्यको थालनी भएको छ । त्यसैले ढाका व्यवसायको वर्तमान स्थितिको विश्लेषण गरी यस व्यवसायमा देखा परेका समस्याहरु तथा समाधानका उपायहरुको पहिचान गरेर सम्बन्धित निकायमा रचनात्मक सुझाव दिन, ढाका बुन्न प्रयोग हुने सुती धागोमा भ्याट लगाउने कार्यका लागि विभिन्न स्वार्थ समूहबाट हुने र भइरहेको प्रयासलगायत ढाका उद्योग व्यवसायसँग सम्बन्धित यावत विषयबारे गहन छलफल गर्ने उद्देश्यले ढाका उद्यमी व्यवसायीहरुको राष्ट्रिय भेला तथा ढाका कपडाबाट उत्पादित विविध वस्तुहरु समावेश गरेर प्रदर्शनी समेत आयोजना गरिन लागेको संघका अध्यक्ष रमेश श्रेष्ठले बताए । प्रदर्शनीमा ४० वटा स्टलमध्ये २५ वटा स्टलमा ढाकाका वस्तु र १५ वटामा रेशाजन्य अल्लोका उत्पादनहरु राखिने आयोजक पक्षले जानकारी दिएको छ । महासंघले २०५८ सालमा ढाका तथा पश्मिनाजन्य वस्तुहरुको बृहत् प्रदर्शनी आयोजना गरेको पृष्ठभूमिमा यो दोस्रो ढाका कपडा प्रदर्शनी हुने बताइएको छ ।

यस्तै नेपाल घरेलु तथा साना उद्योग महासंघको पहलमा ढाका उद्यमी व्यवसायीहरुको छाता संस्थाको रुपमा नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको केन्द्रीय तदर्थ समिति गठन गरिएकोमा यसलाई व्यवस्थित ढंगले अगाडि बढाउन भेलाद्वारा सो संघलाई पुनर्गठन समेत गरिने भएको छ । कार्यक्रम नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको संयुक्त पहलमा आयोजना गरिनेछ भने राष्ट्रिय अल्लो उद्यमी संघ नेपालको सहयोग रहनेछ ।

ढाका कपडा परापूर्वकालदेखि चलि आएको परम्परागत उद्योग व्यवसायहरुमध्ये नेपालको एक मौलिक उत्पादन हो । थोरै पुँजी, परम्परागत प्रविधि र स्थानीय जनशक्तिमा आधारित ढाका उद्योग व्यवसाय जुनकुनै स्थानमा पनि सजिलैसँग सञ्चालन गर्न सकिन्छ । देशको सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्म सबै ग्रामीण, अर्धसहरी तथा सहरी क्षेत्रहरुमा घरायसी एवं व्यावसायिक प्रयोजनका लागि ढाका कपडा तथा ढाका वस्तु उत्पादन गर्ने कार्य हुँदै आएको छ ।

यसबाट एकातिर ग्रामीण क्षेत्रमा स्वरोजगार तथा रोजगार एवं आयवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ भने अर्कोतिर अन्य मुलुकहरु खास गरेर अमेरिका, जापान, जर्मनी, क्यानडा, स्विटजरल्याण्ड, नेदरल्याण्डलगायतका देशहरुमा निकासी भई वैदेशिक व्यापारघाटा न्यूनीकरण र वैदेशिक मुद्रा आर्जनमा समेत सहयोग पु-याउँदै आउनुका साथै आयातित कपडाहरुलाई प्रतिस्थापन गर्न सहयोग पु-याउँदै आएको छ । देशको यस्तो महत्वपूर्ण मौलिक उत्पादनका खास गरेर तीनवटा महत्वपूर्ण पाटाहरु छन् ।

पहिलो स्वदेशी बजारमा व्यापकता प्रदान गर्दैै विदेशबाट आयात हुने कपडाको मात्रा न्यूनीकरणमा सहयोग पु-याउनु, दोस्रो स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नु, ढाका वस्तु उत्पादन गरी त्यसको निकासीबाट उद्यमी तथा राष्ट्रलाई हुने लाभ र तेस्रो नेपाली मौलिक उत्पादनको विश्व बजारमा प्रचार, प्रसार र पहिचान एवं प्रवर्द्धन हुन गई फेसन इण्डष्ट्रीमा नविन वस्तुको रुपमा स्थापित हुनु हो । पत्रकार सम्मेलनमा महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंह, उपाध्यक्ष मोहन कटुवाल, महासचिव डम्बर प्रसाद रेग्मीलगायतको उपस्थिति थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया