Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारी

नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारी


काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन सरकारले नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारी गरेको बताएकी छिन् । १४औँ निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले सरोकारवाला पक्षहरूको सुझावसहित सरकार नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारीमा लागेको जानकारी दिएकी हुन् ।

निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन नियमावलीमा नभई कानुनमै संशोधन आवश्यक भएको उनको भनाइ थियो । निर्माण उद्योगमा योजना छनौटदेखि कार्यान्वयन चरणसम्म समस्या रहेकाले कानुन संशोधन अपरिहार्य भएको बताइन् । यस्तै उनले निर्माण व्यवसायीमैत्री कानुन आवश्यक भएको समेत उल्लेख गरिन् । देशको अर्थतन्त्रलाई चलायमान बनाउन पनि निर्माण उद्योग सशक्त हुनु जरुरी रहेको उनको भनाइ छ । समाज र सिङ्गो मुलुकले निर्माण व्यवसायीलाई इज्जत दिनु जरुरी रहेको भन्दै उनले निर्माण व्यवसायीहरूलाई पनि आफ्नो क्षमता अभिवृद्धि गर्न सुझाव दिइन् । निर्माण कम्पनीहरूलाई मर्ज गरी पब्लिक कम्पनीमा लैजान आग्रह गर्दै उनले निर्माण उद्योगमा क्रियाशील श्रमिकहरूको हकहितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको विकास विस्तारविना समृद्ध मुलुकको परिकल्पना असम्भव रहेको बताए । निर्माण उद्योगमा धेरै समस्या रहेको भन्दै उनले वर्तमान सरकारले व्यवसायीमैत्री ऐन नियम ल्याउनेमा महासंघ आशावादी रहेको समेत बताए । महासंघले निर्माण दिवसको अवसरमा बाजागाजा, प्लेकार्डको प्रदर्शनीसहित दशरथ रङ्गशालाबाट थापाथली, सिंहदरबार हुँदै महासंघ सचिवालय अनामनगरसम्म -याली समेत गरेको थियो ।

महासंघ सचिवालयमा आयोजित समारोहमा महासंघका सल्लाहकार तथा पूर्वअध्यक्ष सुकुन्तलाल हिराचन, निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठ, महासचिव रोशन दाहाल, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे लगायतले निर्माण व्यवसायीहरूलाई शुभकामना दिएका थिए । निर्माण दिवसकै अवसरमा महासंघले सचिवालयको प्राङ्गणमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । उक्त कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । यसै अवसरमा प्रदेश महासंघ, जिल्ला निर्माण व्यवसायी संघहरूले विविध सामाजिक कार्यक्रम आयोजना गरेको महासंघले जनाएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया