Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालखोटेहाङ गाउँपालिकाको आफ्नै भवनवाट सेवा प्रवाह

खोटेहाङ गाउँपालिकाको आफ्नै भवनवाट सेवा प्रवाह


खेमराज अधिकारी
खोटाङ, माघ २०
जिल्लाको खोटेहाङ गाउँपालिकाले आफ्नै भवनवाट सेवा प्रवाह थालेको छ । गाउँपालिकाको ९२ लाख लगानीमा सुविधासम्पन्न कार्यालय भवन निर्माण सम्पन्न भएपछि बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो । आर्थिक वर्ष २०७५/०७६ बाट निर्माण उपभोक्ता समितिमार्फत सुरु गरिएको कार्यालय भवन केही समयआगाडि सम्पन्न भएको हो ।

भूकम्प प्रतिरोधी दुई तले आठवटा कोठाहरू रहेको भवनमा गाउँपालिका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत छुट्टाछुट्टै शाखा स्थापना गरिएको छ । सेवाग्राहीका लागि प्रतिक्षालय समेत निर्माण गरिएको कार्यालय भवनमा छुट्टाछुट्टै पाँचवटा सौचालय निर्माण गरिएको । कार्यालय भवनमा डिजिटल सूचना बोर्डसमेत जडान गरिएको छ । नौवटा वडा रहेको खोटेहाङ गाउँपालिकामा छवटा वडा कार्यालयको भवनसमेत निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको गाउँपालिका प्रमुख प्रदिप राईले बताए ।

‘गाउँपालिकाले भौतिक निर्माणको कामलाई पहिलो प्राथमिकता दिएको छ’, उनले भने, ‘यसै वर्षभित्र बाँकी तीनवटा वडामा पनि भवन निर्माण सकेर सेवा प्रवाह सुरु गरिने तयारी गरिएको छ ।’ गाउँपालिकाले कम लागतमै गुणस्तरीय र बहुउपयोगी नयाँ भवन निर्माण गरेपछि स्थानीयले गाँउपालिकाको प्रशंसा गरेका छन् । ब्रिटिस गोर्खा वेलफियर (जीडब्लूएस)ले उपलब्ध गराएको कार्यालय भवनमा सञ्चालन हुँदै आएको गाउँपालिकाको कार्यालय आफ्नै सुविधासम्पन्न कार्यालय भवनमा सञ्चालन भएपछि दैनिक कामकाजमा सहज भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले बताए ।

खोटाङका दश स्थानीय तहमध्ये आफ्नै कार्यालय भवनवाट सेवा प्रवाह गर्ने खोटेहाङ गाँउपालिका चौथो स्थानीय तह हो । यसअघि हलेसी तुवाचुङ नगरपालिका, रावाबेँसी र दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आफ्नो कार्यालय भवन निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ । जिल्लाको एक नगरपालिका र पाँचवटा गाउँपालिकाले अझै पनि भाडाकै घरबाट दैनिक कामकाज सञ्चालन गरिरहेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया