Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसंस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग

संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग


काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन)ले संस्थापक सेयरलाई खरिदबिक्री गर्न पाउने नीति बनाउन माग गरेको छ । साधारण सेयर खरिदबिक्री गर्ने व्यवस्था बाफियामा उल्लेख भए पनि संस्थापक सेयर खरिदबिक्री गर्ने प्रक्रिया अगाडि नबढेको सीबीफिनले जनाएको छ ।

सीबीफिनले शुक्रबार सार्वजनिक गरेको बैंक तथा वित्तीय संस्थाहरूका अप्ठ्यारा तथा चुनौतीहरू र सम्बोधनका लागि सुझावहरू, २०७८ नामक अध्ययन प्रतिवेदनमा फिट एन्ड प्रोपर टेस्ट लागि आवश्यक प्रक्रिया तोकी संस्थापक सेयरलाई पनि साधारण सेयरजस्तै दोस्रो बजारमा सूचीकृत गरी खरिदबिक्री गर्नसक्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरेको छ । यसो गर्दा केही व्यक्ति वा समूहमा सेयर केन्द्रीकृत जोखिम न्यूनीकरण भई विविधीकरण हुने र बजार पुँजीकरण मूल्य पनि यर्थाथपरक हुने बताइएको छ ।

यस्तै प्रतिवेदनले उत्पादनशील वस्तुको आयातमा वृद्धि भएको भन्दै त्यसलाई रोक्न उत्पादनशील क्षेत्रमा कर्जा वृद्धि गर्नुपर्ने उल्लेख गरेको छ । उत्पादन बढाउने, आयात घटाउने, कृषि, लघु उद्यम, साना तथा मझौला उद्यम र ठूला उद्योगलाई प्रोत्साहन गर्ने विषयमा केन्द्रित हुनेगरी वित्तीय नीति र मौद्रिक नीति ल्याउन सुझाव दिइएको छ ।

प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थामा स्थायित्व कायम गरी सेयरधनी लगानीकर्ता एवं सरोकारवालाहरूको हकहितको संरक्षण गर्ने, नेपाल राष्ट्र बैंक, नेपाल सरकार, प्रदेश सरकारलगायत सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी बैंकिङ क्षेत्र र यसको कारोबारसँग सम्बन्धित क्षेत्रहरूको बारेमा उपयुक्त नीति, नियम, कानुनहरू तर्जुमा गर्नेजस्ता उद्देश्यहरूलाई समेटिएको छ ।

बैंकिङ क्षेत्रमा देखापरेका र भविष्यमा देखा पर्नसक्ने, व्यावसायिक, प्रशासनिक, कानुनी, प्रक्रियागत र प्राविधिकलगायत अन्य विभिन्न समस्या एवं कठिनाइलाई समधान गर्ने उपाय समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । साथै नेपालको आधुनिक बैंकिङ विकास, बैंक तथा वित्तीय संस्थाहरूको भूमिका, योगदान र औचित्य, बैंक तथा वित्तीय क्षेत्रले व्यहोरेका समस्या एवं चुनौती र समाधानका लागि सुझाइएका उपायहरूका बारेमा प्रतिवेदनमा जानकारी दिइएको छ ।

सीबीफिन कार्यसमितिका उपाध्यक्ष राजेश उपाध्यायको संयोजकत्वमा गठित कार्यदलले सुझावसहितको अध्ययन प्रतिवेदन तयार गरेको हो । उक्त प्रतिवेदन सीबीफिनले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको हो । नेपालका वरिष्ठ अर्थशास्त्री तथा बैंकिङविद्हरूको परामर्श, बैंक तथा वित्तीय संस्थाहरू एवं यस क्षेत्रका लगानीकर्ताहरूको रायसुझावहरूको आधारमा तयार गरिएको यस अध्ययन प्रतिवेदनलाई राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष समेत पेस गरिएको सीबीफिनले जनाएको छ ।

गुणस्तरीय, विश्वासिलो एवं सर्वसुलभ बैंकिङ सेवाको विस्तार, सम्भावना देखिएका क्षेत्रहरूमा लगानी विस्तार, युवा तथा नव उद्यमी एवं व्यवसायीहरूको उत्पादन गर्दै आएको यस संस्थाले तयार पारेको सो प्रतिवेदनमा पुँजीगत अभाव भएको र यस समस्यालाई सरकारले समयमा नै समाधान गर्नुपर्ने उल्लेख छ । यस संघले विगतमा पनि संस्थागत धारणासहितका सुझावहरू सम्बन्धित निकायहरूमा निरन्तर पेश समेत गर्दै आएको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया