Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाललिफ्टिङ प्रणालीमार्फत पानी तान्ने काम सुरु

लिफ्टिङ प्रणालीमार्फत पानी तान्ने काम सुरु


खेमराज अधिकारी
खोटाङ, माघ २२
खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सुनकोशी नदीमा बोरिङ गरी लिफ्टिङ प्रविधिमार्फत पानी ल्याउने भएको छ । खानेपानी तथा सिंचाइ सुविधाबाट वञ्चित गाउँपालिकाको वडा नम्बर ४ बतासेस्थित भडारेघाटका स्थानीयलाई लक्षित गर्दै लिफ्टिङ प्रणालीको आयोजना अघि बढाइएको हो ।

गाँउपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा ३० लाख बजेट छुट्याएर लिफ्टिङ खानेपानी आयोजनाका लागि विभिन्न पूर्वाधार निर्माणको काम थालिएको गाउँपालिकाका सूचना अधिकारी मणिचन्द्र राईले बताए । बतासेस्थित भडारेघाटमा बसोबास गरिरहेका ६० घरधुरीमा खानेपानी तथा सिंचाइको सुविधा पु-याउन यस प्रविधिको आयोजना सुरू गरेको गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले बताए । सुख्खाग्रस्त क्षेत्रका रूपमा रहेको भँडारेघाट आसपासमा प्रशस्त पानीको मुहान नहुँदा वर्षौदेखि पानीको चरम अभाव झेलिरहेका र दैनिक जीवन निर्वाहको लागि नदीको पानी उपभोग गर्न बाध्य स्थानीयलाई आयोजनाबाट लाभान्वित हुने गाँउपालिकाले बताएको छ ।

उपभोक्ता समितिमार्फत सुरु गरेको आयोजनाको काम चालू आवमै सक्ने लक्ष्य राखिएको छ । सुनकोशीको पानी लिफ्टिङ गरेर भडारेघाटको सिरानमा ४० हजार लिटर क्षमताको रिजर्भ ट्यांकीमा जम्मा गरेर घर–घरमा वितरण गरिने उपभोक्ता समितिले जनाएको छ । उक्त स्थानमा महुरे–फोक्सिङटार सडक खण्ड पर्ने र बजार विस्ताको समेत प्रवल सम्भावना रहेकोले लिफ्ट खानेपानी आयोजना सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष राईले बताए । सो स्थानमा खानेपानी तथा सिंचाइ आयोजना सञ्चालन गर्न पानीको मुहानको अभाव भएपछि विकल्पकोरूपमा नदीको पानी तान्ने काम अघि बढाइएको हो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया