Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालचिसोले छट्पटाउँदै दोधाराको बडवाल टोलका बादी परिवार

चिसोले छट्पटाउँदै दोधाराको बडवाल टोलका बादी परिवार


कञ्चनपुर । नेपालको संविधानको भाग ३ मा व्यवस्था गरिएको मौलिक हकभित्रको धारा ३६ मा खाद्यसम्बन्धी हकले प्रत्येक नागरिकलाई खाद्य वस्तुको अभावमा हुने जीवनको जोखिमबाट सुरक्षित गर्ने व्यवस्था गरेको छ । त्यस्तै, धारा ४० मा दलितको हकसम्बन्धी व्यवस्थामा आवासविहीन दलितलाई कानुनबमोजिम बसोबासको व्यवस्था गर्ने भनिएको छ । धारा ४२ मा सामाजिक न्यायको हकअन्तर्गत आर्थिक रुपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हक हुनेछ भनी उल्लेख गरिएको छ । तर यी मौलिक हकबाट बादी समुदाय भने वञ्चित छन् ।

भर्खरै मात्रै कञ्चनपुरको दोधारा चाँदनीका केही बादी परिवारले जग्गा पाएर खेती गरेका छन् । केही आफ्नो जग्गा पाउनको लागि दिनहुँ उनीहरु जनप्रतिनिधि र नगरपालिका कार्यालय धाइरहेका छन् । दोधारा चाँदनी नगरपालिकाका वडा नं. ३ बडवाल टोलका बादी परिवारलाई स्थानीय सरकारले उनीहरुले द्वन्द्वकालमा छोडेको जग्गा दिलाइदिए पनि आर्थिक कठिनाइमा उनीहरुको दिनचर्या बित्दै आएको छ । दोधारा चाँदनीको स्थानीय सरकारले घर बनाउन र केही खेती गर्न जग्गा फिर्ता गरिदिए पनि रोजगारी र दैनिकी चलाउन बादी परिवारलाई अझै पनि हम्मेहम्मे पर्दै आएको उनीहरु बताउँछन् । अहिले आएर उनीहरुलाई खानासँगै जाडो दिन काट्न नै समस्या परेको छ । बादी परिवारलाई देशको बदलिँदो राजनीतिक गर्मागर्मीभन्दा पनि भ्वाङ परेको झुपडपट्टीको चिन्ताले सताएको छ ।

शीतलहरसँगै चल्ने चिसो हावाले झुपडीमा ओत लागेका बादीको परिवारलाई थरथर कँपाइरहेको छ । ‘फाटेको लुगा जोरजार पारेर बनाइएको ओढ्नेले जाडो काट्दै आएको छु’, स्थानीय सितली बादीले भनिन्, ‘अहिले त्यही जोरजार गरेर बनाएको लुगा पनि भ्वाङै भ्वाङ भएर फाटेको छ ।’ उनको झुपडी र ओढ्ने जोरजार पारेर बनाइएको ओढ्ने पनि उस्तै हुँदा जाडो काट्न मुस्किल परेको छ । सितली बादी भन्छिन्, ‘सरकारलाई हामी गरिबको कष्ट बुझ्ने फुर्सद कहाँ छ र ? अब भोट माग्न आए दुवै औँठाले छाप लगाइदिउँला ।’ ‘अहिले फाटेको लुगा जोरजार पारेर बनाइएको ओढ्नेसँगै संघ/संस्था र सरकारप्रति हाम्रो मन पनि फाटेको छ’, अर्का स्थानीय रंगलाल बादी भन्छन् । स्थानीय सरकारले फिर्ता गरिदिएको जग्गामा लहरै छवटा झुपडीमा आफ्नो गरिबीलाई ओत लगाएका बसेका छन् यहाँका बादी परिवार । ओढ्नेको अभावमा नजिकै रहेको भारतीय जंगलबाट ल्याएको दाउराबाट आगो तापेर रात कटाउने गरेको उनीहरु बताउँछन् । ‘धन्न भगवान् छ र हाम्रो ज्यान बाँचेको छ’, रंगलाल बादी भन्छन्, ‘अत्यधिक जाडोले जीवनभन्दा मृत्यु प्यारो लाग्न थालेको छ ।’

प्लास्टिकको पालजस्तो टाँगेर रात काट्ने गरेको रंगलाल बादीलाई चिसोको कारण समय समयमा ज्वरो पनि आउने गरेको छ । बडवाल टोलका बादी घरपरिवारमा वर्षा भएको बेला निकै कष्टपूर्ण हुन्छ । यस्तै शीतलहर चल्न थालेपछि त बादीको परिवारको कहाली लाग्दो अवस्था नै सुरु हुने गर्छ । बादी घरपरिवारका बालबालिकाहरु झन् पीडामा छन् । समाजको थोरै हिस्सा ओगट्ने यो जाति स्वास्थ्य र सन्तुलित सेवा सुविधाका लागि लामो समयदेखि प्रतीक्षारत छन् ।

नेपाल सरकारले गाँस, बास, कपासको समस्या र बिरामी हुँदा उपचार गराउन नसक्ने अवस्थालाई बहुआयामिक गरिबीको सूचीमा राखिएको छ । नेपालको बहुआयामिक गरिबी दर २८.६ प्रतिशत छ । लोपोन्मुख बादी जाति जाडोले थरथर काँपिरहँदा स्थानीय सरकार, प्रदेश सरकार निरीह दर्शक बन्नुले संघीयता अभ्यासको जगलाई बलियो नबनाउने सरोकारवालाहरु बताउँछन् । उनीहरुको समस्या समाधानको लागि स्थानीय र प्रदेश सरकारले यथाशक्य पहल थाल्नुपर्ने उनीहरुको भनाइ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया