Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालस्वास्थ्य संस्थाहरूमा ताला लगाएर चाबी सरकारलाई बुझाउने मेडिकल कलेज सञ्चालकहरूको धम्की

स्वास्थ्य संस्थाहरूमा ताला लगाएर चाबी सरकारलाई बुझाउने मेडिकल कलेज सञ्चालकहरूको धम्की


काठमाडौँ । निजी मेडिकल कलेजहरूलाई विद्यार्थीसँग तोकेको भन्दा बढी शुल्क नलिन सरकारले निर्देशन दिएसँगै कलेज सञ्चालकहरूले स्वास्थ्य संस्थाहरूमा ताला लगाएर चाबी सरकारलाई बुझाउने धम्की दिएका छन् । निजी मेडिकल कलेजहरूको छाता संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्डल कलेज अफ नेपालले शनिबार एक विज्ञप्ति जारी गरी चाबी बुझाउने धम्की दिएको हो ।

निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजहरूले विद्यार्थीबाट चिकित्सा शिक्षा आयोगले तोकेभन्दा दोब्बर तेब्बर शुल्क असुली गर्दै आएका छन् । तोकेभन्दा बढी शुल्क नलिन कलेजहरूलाई चौतर्फी दबाब बढेपछि मेडिकल एन्ड डेन्डल कलेज अफ नेपालले आफूहरूले सञ्चालनमा ल्याएका स्वास्थ्य संस्थाहरू बन्द गर्ने धम्की दिएको हो । निजी क्षेत्रबाट अर्बौँ लगानी गरेर देशका विभिन्न भू–भागका जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिनुका साथै हजारौँ दक्ष मेडिकल जनशक्ति उत्पादन गर्दै आए पनि यस क्षेत्रलाई राज्यले सधैँ अपहेलनाको दृष्टिकोणले व्यवहार गरेको मेडिकल एन्ड डेन्डल कलेज अफ नेपालको गुनासो छ । शुक्रबार शिक्षा मन्त्रालयले चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल तथा एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्डल कलेज अफ नेपालका महासचिव डा. सुनिल शर्मासहितको टोलीलाई मेडिकल शिक्षामा देखिएका समस्या समाधान गर्न बोलाएको बैठकपश्चात् शिक्षा मन्त्रालयबाट बाहिर निस्कने क्रममा मन्त्रालयकै भुई तल्लामा महासचिव शर्मामाथि भएको आक्रमणको समेत मेडिकल एन्ड डेन्डल कलेज अफ नेपालले निन्दा गरेको छ ।

पछिल्लो समय मेडिकल शिक्षामा विद्यार्थी र अभिभावकबीच देखिएको विवादलाई समाधान गर्ने हेतुले राज्यको नियामक निकायलाई ध्यानाकर्षण गराउँदै समुचित निकास खोज्ने क्रममा विद्यार्थी संगठनको हवाला दिँदै राज्यद्वारा नै परिचालित समूहले डा. शर्मामाथि सुनियोजित प्रहार गरेको मेडिकल एन्ड डेन्डल कलेज अफ नेपालका अध्यक्ष म. बसरुद्धिन अन्सारीको आरोप छ । मेडिकल क्षेत्रबाट मुलुककै सबैभन्दा बढी राजस्व तिरेर सम्मानित भएको, हजारौँ विद्यार्थीलाई गुणस्तरीय मेडिकल शिक्षा प्रदान गर्दै आइरहेको सम्मानित व्यक्तिलाई मुलुकको सबैभन्दा सुरक्षित भनिएको तथा मुलुकको मुख्य प्रशासकीय क्षेत्र सिंहदरबारभित्रै भएको आक्रमणको घटनाले यो सरकार जनता र व्यवसायीको सुरक्षाप्रति चिन्तित र संवेदनशील नरहेको पुष्टि भएको अन्सारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजहरूलाई धराशायी बनाएर वर्षेनी हजारौँ नेपाली विद्यार्थीहरूलाई अर्बौँ रूपैयाँ बोकेर विदेशी भूमीमा पठाउन राज्य संयन्त्र नै सक्रिय रहेको अन्सारीको आरोप छ । विदेशी शक्ति र तिनका एजेन्टहरूको इशारामा नेपालको मेडिकल शिक्षा र स्वास्थ्य सेवालाई तहसनहस बनाउने सड्यन्त्र स्वयं राज्यका नियामक निकाय तथा मेडिकल शिक्षा सुधारको नाममा अमूक विदेशी एजेन्टको भरिया बनेर कुर्लनेहरूले गरेको उनले आरोप लगाएका छन् । मेडिकल कलेज व्यवसायीहरूमाथि भइरहेको आक्रमण रोक्न आग्रह अनुरोध गरे पनि सरकारले बेवास्ता गरेको उनको भनाइ छ । मेडिकल एन्ड डेन्डल कलेज अफ नेपालका महासचिव शर्मामाथि भएको घटनाको छानविन गरी उक्त घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्न समेत माग गरिएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया