Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालखानेपानी पाइपलाइन बिछ्याउने कार्यलाई तीव्रता

खानेपानी पाइपलाइन बिछ्याउने कार्यलाई तीव्रता


काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले उपत्यकामा खानेपानी पाइपलाइन बिछ्याउने कार्यलाई तीव्रता दिएको छ । मेलम्चीको खानेपानी दिगो एवं भरपर्दो प्रणालीमार्फत काठमाडौँ उपत्यकाबासीको घर घरमा उपलब्ध गराउनका लागि हालसम्म निर्देशनालयले करिब एक हजार दुर्ई सय २० किलोमिटर खानेपानीको नयाँ वितरण सञ्जाल तयार गरेको जनाएको छ ।

काठमाडौँ उपत्यकाको चक्रपथभित्र विभिन्न क्षेत्रमा नयाँ खानेपानी पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भई नयाँ खानेपानी वितरण सञ्जाल तयार भएको हो । यसबाट ती क्षेत्रका करिब एक लाख घरधुरीमा खानेपानीका नयाँ पाइपलाइन पुगेको छ । यसैगरी, काठमाडौँ उपत्यकाको चक्रपथभित्र खानेपानी सञ्जाल सुधार एवम् विकास गर्ने क्रममा बाँकी रहेका क्षेत्रहरू र चक्रपथबाहिरका विभिन्न स्थानमा समेत नयाँ खानेपानी पाइपलाइन बिछ्याउने कार्यलाई तीव्रता दिइएको छ । त्यसक्रममा काठमाडौँको चपक्रपथभित्रका गोंगबु, म्हेपी, नयाँबजार, स्वयम्भु, बाफल, कलंकी, कालीमाटी, सोल्टीमोड र डल्लुक्षेत्रमा गरी दुई सय २४ किलोमिटरमध्ये ५० किलोमिटर र बसुन्धरा, बालुवाटार, धुम्बाराही, रानीबारी, कपुरधारा, सामाखुशी, उत्तरढोका, लाजिम्पाट, गौरीघाट, महाराजगञ्ज, विशालनगर, सुकेधारा, चाबहिल, लैनचौर र हाँडिगाउँ क्षेत्रमा गरी दुई सय ४९ किलोमिटरमध्ये ६० किलोमिटर खानेपानी वितरण पाइपलाइन बिछ्याइएको छ । यसबाट ती क्षेत्रका ५३ हजार एक सय छ घरधुरीमध्ये ११ हजार छ सय २८ घरधुरीमा खानेपानीको नयाँ पाइपलाइन पुगेको आयोजना उपनिर्देशक एवं सूचना अधिकारी उज्वल प्रजापतिले जानकारी दिए ।

यसैगरी, काठमाडौँको चक्रपथबाहिरका मण्डिखाटार, कपन, गल्फुटार, चावहिलको बाहिरी भाग र तीनचुलीलगायतका क्षेत्रमा जम्मा दुई सय ९० किलोमिटरमध्ये हाल ६४ किलोमिटर पाइपलाइन बिछ्याउने कार्य सम्पन्न भएको छ । जसबाट ती क्षेत्रका नौ हजार सात सय ७६ घरधुरीमध्ये चार हजार ३६ घरधुरीमा खानेपानीको नयाँ पाइपलाइन पुगेको प्रजापतिको भनाइ छ । यस्तै, खानेपानी चुहावट नियन्त्रणका लागि हाल काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा खानेपानी वितरण सञ्जालका पाइपलाइनहरूको परीक्षण गर्ने कार्य समेत भइहेको छ ।

यसका साथै, वितरणका लागि खानेपानी भण्डारण गर्न काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ७४ हजार पाँच सय घनमिटर क्षमताका १० वटा ठूला खानेपानी भण्डारण ट्याङ्कीको निर्माण सम्पन्न भएको प्रजापतिले जानकारी दिए । ती ट्याङ्कीसम्म खानेपानी लैजान निर्माण गरिएको ७७ किलोमिटर थोक वितरण सञ्जालको परीक्षण गर्ने कार्य सम्पन्न गरी सञ्चालनका लागि तयारी अवस्थामा राखिएको छ । यसैगरी, केयूकेएलका मौजुदा आठवटा खानेपानी भण्डारण ट्याङ्कीहरूलाई समेत नयाँ खानेपानी वितरण प्रणालीसँग जोडिएको आयोजनाका उपनिर्देशक प्रजापतिले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया