Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदुई सय ५६ जनाले गराए मोतीबिन्दुको सफल शल्यक्रिया

दुई सय ५६ जनाले गराए मोतीबिन्दुको सफल शल्यक्रिया


सोलुखुम्बु । सोलुखुम्बुमा एकै वर्ष दुई सय ५६ जनाले आँखाको मोतीबिन्दुको सफल शल्यक्रिया गराएका छन् । सन् २०२१ भित्रमा जिल्लाको फाप्लु, जाल्पा र खुन्देमा सञ्चालित शल्यक्रिया शिविरबाट दुई सय ५६ जनाको अप्रेसन गरिएको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले जनाएको छ ।

तथ्यांकअनुसार आँखा केन्द्र फाप्लुबाट मात्रै एक वर्षमा एक सय २४ जनाको सामान्य शल्यक्रिया र आँखाको नानीबाट फोहोर निकालिएको छ । सामुदायिक आँखा केन्द्र फाप्लुका प्रमुख पुष्पबाबु बस्नेतले भने, ‘ग्रामीण भेगका नागरिकहरू आँखाको समस्यालाई सामान्य रूपमा लिन्छन्, आँखामा आउने समस्याको ख्याल गरिएन भने त्यसले ठूलो जटिलता निम्त्याउँछ भन्ने कमैलाई थाहा छ, थाहा भएकाले पनि कम चासो दिने भएकाले समस्या बढ्दै गएको हो । यसलाई नियन्त्रण गर्न सबैभन्दा महत्वपूर्ण विषय जनचेतना नै हो ।’

जिल्ला सामुदायिक आँखा केन्द्रबाट एक वर्षमा १० हजार सात सय ५२ जनाले नेत्र सेवा लिएका छन् । जसमा जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुबाट चार हजार तीन सय जनाले, ग्रामीण आँखा केन्द्रमार्फत एक हजार तीन सय ९५ जनाले र सामुदायिक आँखा शिबिरमार्फत चार हजार पाँच सय ४७ जनाले सेवा लिएका हुन् । त्यसैगरी एक हजार एक सय चार जनाले शल्यक्रिया आँखा शिबिरबाट र पाँच सय ८२ जनाले स्वयम्सेविकामार्फत सेवा लिएको केन्द्रका प्रमुख बस्नेतले जानकारी दिए । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया