Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमाथिल्लो तामाकोशीको उत्पादन लक्ष्यअनुसार काम हुन मुस्किल

माथिल्लो तामाकोशीको उत्पादन लक्ष्यअनुसार काम हुन मुस्किल


सुबास बस्नेत
दोलखा, माघ २३
दोलखा उत्तरी क्षेत्र बिगु गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको राष्ट्रिय गौरवको चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट चैत्र मसान्तसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा नहुने देखिएको छ । आयोजनाको कठिन काम मानिएको तल्लो भर्टिकल साफ्ट तथा माथिल्लो भर्टिकल साफ्टमा पेन स्टक जडानमा भएको ढिलाइले चैत्र मसान्तसम्ममा परीक्षण उत्पादन गर्ने लक्ष्य पूरा नहुने देखिएको हो ।

असार १ गतेबाट तल्लो भर्टिकल साफ्टमा तथा माथिल्लो भर्टिकल साफ्टमा असार १० गतेबाट पेनस्टक जडान गर्न सुरु गरिए पनि सात महिनाको अवधिमा जम्मा तीन सय मिटर मात्र पेनस्टक जडान सम्पन्न भएको छ । पेनस्टक जडानमा भएको ढिलाइका कारण चैत्र मसान्तसम्ममा परीक्षण उत्पादन सुरु नहुने देखिएको हो । माघ २० गते सम्ममा करिब तीन सय ९० मिटरको तल्लो भर्टिकल साफ्टमा दुई सय मिटर र तीन सय १० मिटरको माथिल्लो भर्टिकल साफ्टमा एक सय मिटर पेनस्टक पाइप जडान भएको आयोजना प्रमुख दिनेशजंग राणाले जानकारी दिए । लट २ को हाइड्रो मेकानिकलको भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इञ्जिनियरिङले काममा ढिलाइ गरेपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, टेक्सम्याको र एन्द्रिजबीचमा त्रिपक्षीय सम्झौता भई तल्लो भर्टिकल साफ्टमा पेनस्टक जडानको काम एन्द्रीजलाई दिइएको थियो ।

माथिल्लो भर्टिकल साफ्टमा टेक्सम्याकोले नै पेनस्टक जडानको काम गरिरहेको छ । पछिल्लो चरणमा पेनस्टक जडानको कामको गति सन्तोषजनक रहेकोले वैशाख ३ गतेसम्ममा पेनस्टक जडानको काम सकिने आयोजना प्रमुख राणाको भनाइ छ । पावरहाउसभित्र पेनस्टकसँग सम्बन्धित अन्य काम सक्न करिब २ महिना लाग्ने भएकोले सो काम सम्पन्न भएपछि असार महिनाभित्र सुरुङमा पानी पठाई परीक्षण गरिने आयोजना प्रमुख राणाले बताए ।

असारमा परीक्षण उत्पादन हुन सक्ने :- असारमा सुरुङ तथा पेनस्टकको परीक्षण सफल भएमा असार मसान्तसम्ममा विद्युतगृहमा जडान गरिएका ६ युनिटमध्ये एक युनिटबाट परीक्षण उत्पादन सुरु गर्न सकिने आयोजनाका प्रवक्ता डाक्टर गणेशप्रसाद न्यौपानेले बताए । न्यौपानेका अनुसार अहिले विद्युतगृहमा इलेक्ट्रो मेकानिकलको काम करिब सम्पन्न भइसकेको छ । यसैगरी सुरुङको कङ्क्रिटीङको काम पनि अन्तिम चरणमा पुगेको छ ।

आयोजनाको ट्रान्समिसन लाइन निर्माणको काम करिब समाप्त भइसकेको छ । रामेछापको फुलासीमा सवस्टेशन निर्माणको कामअन्तर्गत सिभिल संरचनाको निर्माण अन्तिम चरणमा पुगेको न्यौपानेको भनाइ छ । सिभिल संरचनाको काम सम्पन्न भएपछि असार सम्ममा सवस्टेशनमा आवश्यक उपकरण जडान गर्ने काम सम्पन्न हुने प्रबक्ता न्यौपानेले बताए । प्रवक्ता न्यौपानेका अनुसार अहिलेसम्म आयोजना निर्माणमा करिब ४८ अर्ब खर्च भइसकेको छ । डलरमा भएको मूल्य वृद्धि, ऋणको ब्याज, प्रशासनिक खर्चलगायका कारण आयोजना समाप्त हुँदासम्म आयोजनाको लागत ७२ अर्बभन्दा केही बढी हुन सक्ने उनको अनुमान छ । समग्रमा आयोजनाको प्रगति ९९ सय प्रतिशत पुगेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया