Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमाघ लागेपछि कोरोना संक्रमितको संख्यामा वृद्धि

माघ लागेपछि कोरोना संक्रमितको संख्यामा वृद्धि


बस्नेत दोलखा । माघ महिना सुरु भएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक रुपमा वृद्धि हुनथालेका छन् । पछिल्लो १० दिनको अवधिमा जिल्लामा दुई सय बढी संक्रमित थपिएका छन् । जिल्लामा मंगलबार पनि ५० जना कोरोना संक्रमण देखिएको छ ।

जिल्लामा एक सय छ जनाको एन्टिजेन परिक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार जिल्लाको कालिञ्चोक गाउँपालिकाका चार जना, भीमेश्वर नगरपालिकाका १० जना, गौरीशंकर गाउँपालिकाका एक जना, तामाकोशी गाउँपालिकाका १७ जना, बैतेश्वर गाउँपालिकाका १७ जना र बिगु गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख अर्जुन पौडेलले जानकारी दिए ।

जिल्लामा हाल दुई सय २५ जान सक्रिय संक्रमित रहेका छन् । सोमबार १८ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै आइतबार ४७ जनामा, शुक्रवार सात जनामा, बिहीबार २३ जनामा, बुधबार २४ जनामा कोरोना संक्रमण देखिएको थियो । गत माघ १ गतेदेखि मंगलबार ११ गतेसम्म १० दिनको अवधिमा दुई सय २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

तेस्रो लहरको संक्रमण पनि जिल्लाका सबै स्थानीय तहमा फैलिएको छ । यसपटक सरकारी कार्यालयका कर्मचारीहरुमा बढी संक्रमण भएको पाइएको छ । जिल्लाका नौ स्थानीय तहका करिब एक सय कर्मचारीलाई कोरोना संक्रमण भएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । संक्रमणकै कारण जिल्लाका स्थानीय तहअन्तर्गतका कार्यलयहरु धमाधम बन्द हुनथालेका छन् । सबै स्थानीय तहहरुले कर्मचारीमा संक्रमण देखिन थालेपछि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेका छन् ।

यता जिल्ला प्रशासन कार्यालय दोलखाले पनि प्रशासनका विभिन्न शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको र केहीमा कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएको भन्दै आगामी आइतबारसम्मको लागि सेवा प्रवाह बन्द हुने जनाएको छ ।

प्रशासकीय अधिकृत औलख बहादुर आलेले मंगलबार सूचना जारी गर्दै बुधबारदेखि आइतबारसम्मका लागि सेवा प्रवाह बन्द गरिएको जानकारी दिएका हुन् । सेवाग्राही र कर्मचारीमा कोरोना संक्रमणको जोखिम देखिएपछि शान्ति सुरक्षा र अत्यावश्यकबाहेकका सबै सेवाहरु बन्द गरिएको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया