Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबेलायतसँग व्यापार सहजीकरण गरिदिन नवनियुक्त राजदूत आचार्यलाई चेम्बरको आग्रह

बेलायतसँग व्यापार सहजीकरण गरिदिन नवनियुक्त राजदूत आचार्यलाई चेम्बरको आग्रह


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बेलायतसँग व्यापार सहजीकरण तथा निर्यात प्रवद्र्धनका लागि भूमिका निर्वाह गर्न नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यलाई आग्रह गरेको छ । बेलायतसँग नेपालको कूटनीतिक सम्बन्ध दुई सय वर्षभन्दा बढी भए पनि आर्थिक र व्यावसायिक सम्बन्ध फस्टाउन नसकेको भन्दै सहजीकरणका लागि कूटनीतिक पहल गरिदिन चेम्बरले आग्रह गरेको हो ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा बेलायतका लागि नवनियुक्त राजदूत आचार्यलाई स्वागत गर्दै अध्यक्ष राजेन्द्र मल्लले हालको व्यापार हिस्सा निकै सानो भएकाले निर्यातयोग्य थप वस्तुहरुको पहिचान गर्नुपर्नेमा जोड दिए । बेलायतसँग वार्षिक दुई अर्ब हाराहारीमा मात्रै व्यापार भइरहेको सन्दर्भमा अध्यक्ष मल्लले जडीबुटी, खानीजन्य वस्तुहरु, चियाको ब्रान्डिङ गरेर निर्यात बढाउन बेलायती उद्योगी व्यवसायीसँग सहकार्य गर्न सकिने उल्लेख गरे । यसका लागि दुईपक्षीय उच्चस्तरीय व्यापारिक भेटवार्ताको पहल हुनुपर्नेमा अध्यक्ष मल्लले बताए । नेपाल र बेलायतका उद्योगी व्यवसायीबीच पछिल्ले १० वर्षदेखि व्यावसायिक उच्चस्तरीय भेटवार्ता हुन नसकेको प्रति अध्यक्ष मल्लले राजदूत आचार्यको ध्यानाकर्षण गराए ।

राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालले हस्तकलाका सामान, पश्मिना, गार्मेन्ट्स, उलनलगायतका गरी गत वर्ष दुई अर्ब तीन करोड रुपैयाँको व्यापार गरेको थियो । बेलायतबाट भने सवारीसाधन, केमिकल्स, मदिरा लगायत दुई अर्ब २६ करोड रुपैयाँको आयात गरेको छ ।

अध्यक्ष मल्लले पूर्वाधार, जलस्रोत, होटल, पर्यटन क्षेत्रमा लगानीको पहल गर्नका लागि पनि आचार्यलाई आग्रह गरे । सुनचाँदीको तयारी गरगहना, जिन्सको पेन्टलगायत अन्य तयारी कपडाको पनि बेलायतमा निर्यातको सम्भावना रहेको अध्यक्ष मल्लले बताए ।

नवनियुक्त राजदूत आचार्यसँग चेम्बर पदाधिकारीले बे्रक्जिटबाट अलग भएपछि बेलायतसँग छुट्टै व्यापारिक सम्झौता आवश्यक रहेकोमा जोड दिएका थिए । बेलायतस्थित नेपाली राजदूतावासमा वर्षमा कम्तीमा एक पटक व्यापारिक मेला गर्न पनि चेम्बरका पदाधिकारीले राजदूत आचार्यसँग आग्रह गरे ।

जवाफमा राजदूत आचार्यले ब्रेक्जिटपछि बेलायतसँग छुट्टै व्यापारिक सम्बन्ध कायम गराउने आफ्नो पहिलो कदम हुने बताए । बेलायतसँगको सबैभन्दा पुरानो कूटनीतिक सम्बन्धलाई उच्चस्तरीय आर्थिक सम्बन्धमा परिणत गर्न आफूले सक्दो पहल गर्ने आचार्यको भनाइ छ ।

उनले आफ्नो कार्यकालको सुरुमै दुई देशका व्यापारीबीचको मिलन गराउने तथा व्यावसायिक भेटवार्ताका लागि पहल गर्ने आश्वासन समेत दिए । बेलायतले पछिल्लो समय जलवायु परिवर्तनविरुद्धको अभियान जारी राखेको तथा ठूलो रकम त्यसैमा खर्च गरिरहेकाले नेपालले पनि यसबाट लाभ लिने सम्भावना रहेको बताए । नेपाल विकासशील राष्ट्रमा गए पनि भूपरिवेष्ठित देशको हैसियतमा पाउने व्यापार सुविधाका लागि आफूले पहल गर्ने आचार्यको भनाइ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया