Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालहिमपात भएको क्षेत्रमा आन्तरिक पर्यटक बढे

हिमपात भएको क्षेत्रमा आन्तरिक पर्यटक बढे


दोलखा । हिमाली जिल्ला दोलखामा शुक्रबार जिल्लाभरका अधिकांश उच्च भूभागमा बाक्लो हिमपात भएको छ । यसअघि कालिञ्चोक, शैलुङ, खरिढुङ्गा, चेर्दुङलगायतको क्षेत्रमा मात्रै हिमपात हुने गरेको थियो तर शुक्रबार भने चरीकोट, मैनापोखरी, लामाबगर, जिरीलगायतका तल्लो भेगमा समेत हिमपात भएको स्थानीयले बताएका छन् ।

जिल्लामा हिमपात भएसँगै शनिबार आन्तरिक पर्यटको चहलपहल समेत बढेको छ । बाक्लो हिमपात भएका क्षेत्र कालिञ्चोक, शैलुङ, खरीढुङ्गा र जिरीमा हिउँ खेल्ने आन्तरिक पर्यटकको चहलपहल बढेको हो । शनिबार बिहानदेखि नै खरीढुङ्गा, मुडे र कालिञ्चोकमा सयौं मानिस हिउँसँग रमाइरहेका देखिन्थे । हिमपातका कारण काठमाडौँ–दोलखा ओहोरदोहोर गर्ने जिल्लाका आन्तरिक पर्यटक खरीढुङ्गामा दिनभर हिउँ खेलिरहेका थिए । जिरीमा पनि हिमपातपछि चहलपहल बढेको छ । लामो समयपछि जिल्लाको तल्लो भेगसम्म हिउँ परेका कारण पनि मानिसहरु हिउँ खेल्न भीड लागेका हुन् ।

बाक्लो हिमपातका कारण शुक्रबारदेखि नै लामोसाँघु–जिरी सडक खण्डको मुडे खरीढुङ्गामा सयौं सवारी जाममा फसेका थिए । सवारी फसे पनि सयौँ यात्रु हिउँ खेल्न खरीढुङ्गामा निस्किएका थिए । शुक्रबार चरीकोटको सिम्पानी, भ्युटावर, देउरालीलगायतका ठाउँमा समेत चहलपहल बढेको थियो । त्यस्तै जिल्लाको धर्मिक तथा पर्यटकीय स्थल कालिञ्चोकमा पनि हिमपातका कारण चहलपहल बढेको छ । बाक्लो हिमपातका कारण कालिञ्चोकमा रोकिएका पर्यटकहरुको बसाइँले शनिबार यहाँ चहलपहल बढेको हो । धार्मिक तथा पर्यटकीय गन्तव्य शैलुङमा पनि शुक्रबारको हिमपातपछि आन्तरिक पर्यटक वृद्धि भएका छन् । शनिबार शैलुङका तल्लो क्षेत्र, गाउँपालिकाको कार्यालय र कालापानी आसपास तथा शैलुङ बेसक्याम्प आसपासमा हिउँ खेल्नेको भीड लागेको थियोे ।

१५ वर्षपछि मैनापोखरी बजारमा बाक्लो हिमपात : जिल्लाको बैतेश्वर गाउँपालिकाको मैनापोखरी बजारमा करिब १५ वर्षपछि बाक्लो हिमपात भएको छ । मैनापोखरीमा यसअघि २०६३ सालमा बाक्लो हिमपात भएको थियो । मैनापोखरी बजारमा शुक्रबार दिउँसो करिब दुई घण्टा लगातार हिमपात भएको थियो । बजारमै हिमपात हुँदा स्थानीय हर्सित हुँदै हिउँ खेल्न निस्किएका थिए । मैनापोखरी बजारभन्दा धेरै तलका बस्तीहरु मिर्गे, यार्सा र गैरिमुदीको पोखरी, उपल्लोमुदीलगायतका तल्लो क्षेत्रमा पनि हिमपात भएको थियो । त्यस्तै माथिल्लो जलविद्युत् क्षेत्रको लामाबगर बजारमा पनि बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया