Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालदेशभर करिब १२ हजार घरपरिवारलाई लालपुर्जा वितरण

देशभर करिब १२ हजार घरपरिवारलाई लालपुर्जा वितरण


काठमाडौं । सरकारले देशभर हालसम्म करिब १२ हजार घरपरिवारलाई लालपुर्जा वितरण गरेको छ । सरकारले देशभर रहेका भूमिहीन तथा सुकुम्बासीहरुलाई जग्गाधनी पुर्जा वितरण गरिरहेको छ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले चितवनको इच्छाकामना गाउँपालिकाको गाउँब्लकमा रहेका भू्मिहीनहरुलाई शुक्रबार जग्गाधनी प्रमाण पुर्जा वितरण गर्दै देशभर १२ हजार भूमिहीन घरपरिवारलाई सरकारले लालपुर्जा उपलब्ध गराएको जानकारी दिइन् ।

मन्त्री श्रेष्ठले इच्छाकामना गाउँपालिकाको गाउँब्लकमा रहेका ३६ घर परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेकी थिइन् । जग्गाधनी प्रमाण पुर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले देशभरका गाउँब्लकमा रहेका नागरिकलाई जग्गा वितरण गरिसक्ने लक्ष्यसहित मन्त्रालयले अभियान नै सञ्चालन गरेर काम गरिरहेको जानकारी समेत दिइन् । साथै उनले भूमि भएर पनि भूमिविहीन बनिरहेकाहरु कोही पनि भूमि पाउनबाट छुट्न नहुनेमा जोड दिँदै सरकारले भूमिसम्बन्धी समस्या समाधानका लागि भूमिहीनलाई भूमि दिने कार्यलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढाएको बताइन् ।

भूूमिहीन दलित, भूमिहीन सुकुुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न विभिन्न स्थानीयतहसँग कार्य सम्झौता गरेर छिटो काम सम्पन्न गर्ने गरी भूमि आयोगमार्फत काम अगाडि बढाइसकिएको उनको भनाइ थियो । नागरिकका आवश्यकता तत्काल सम्बोधन गर्नुपर्छ भनेर आफूहरु छिटोभन्दा छिटो काम गर्ने गरी अगाडि बढिरहेको उनको दाबी छ । संविधानमा भएका नागरिकका हक कार्यान्वयन गर्न र भूमिसँग जोडिएका समस्या समाधान गरी नागरिकले अनुभूति गर्ने गरी काम गर्न आफू प्रतिबद्ध भएर लागेको समेत उनले बताइन् ।

यसैबीच शनिबार नै भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठको उपस्थितिमा राष्ट्रिय भूमि आयोग र चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाबीच भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धमा कार्य सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ । राष्ट्रिय भूमि आयोगले यसअघि ६८ वटा स्थानीय तहसँग भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापन सम्बन्धमा कार्य सहमतिपत्रमा हस्ताक्षर गरी काम सुरु गरिसकेको छ ।

यसैक्रममा मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका र तिरहुत गाउँपालिकाको गाउब्लकमा रहेकाहरुलाई पनि जग्गाधनी प्रमाण पुर्जा वितरण गरेकी छिन् । २०२१ सालयता देशका विभिन्न जिल्लामा नापी हुँदा गाउँब्लकका रुपमा रही आफ्नो घर जग्गाको लालपुर्जा पाउन नसकेकाहरुलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न ढिलाइ गर्न नहुनेमा मन्त्री श्रेष्ठले जोड दिँदै आएकी छिन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया