Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबाराकी रुबी शाह जेएमके वुमन इन बिजनेस छात्रवृत्तिबाट सम्मानित

बाराकी रुबी शाह जेएमके वुमन इन बिजनेस छात्रवृत्तिबाट सम्मानित


काठमाडौं । बाराकी रुबी शाहलाई १० हजार डलरबराबरको जोन्टा इन्टरनेशनल २०२१ जेनएम क्लाउजम्यान (जेएमके) वुमन इन बिजनेस छात्रवृत्तिबाट सम्मानित गरिएको छ । उनलाई जोन्टा क्लब अफ काठमाडौं–२५, क्षेत्र २ बाट मनोनयन गरिएको थियो । पुरस्कारको लागि आवेदन जोन्टा इन्टरनेशनल डिस्ट्रिक्ट छनोटमा पठाइएको थियो, जहाँ उनले थप दुई हजार डलर पनि प्राप्त गरिन् ।

उनीसँगै अरु ३२ जनाले दुई हजार डलर बराबरको थप छात्रवृत्ति पनि प्राप्त गरेका थिए । यसका साथै उनले संयुक्त राज्य अमेरिकाको इलिनोइसस्थित जोन्टा हेडक्वार्टरबाट थप आठ हजार डलर पनि प्राप्त गरेकी छिन् । उनी शैक्षिक वर्ष २०२१/२०२२ को लागि यस अन्तर्राष्ट्रिय छात्रवृत्ति प्राप्त गर्ने विश्वभरका छ जना क्षमतावान् प्रतिभाहरुमध्ये एक हुन् । उनी वित्त र लेखा विषय लिएर ब्रिटिस कलेजमा स्नातक अन्तिम वर्षमा अध्ययनरत छिन् ।

१९ वर्षको उमेरदेखि नै रुबीले विभिन्न विधाहरूमा व्यवसाय इन्क्युबेसन, कन्टेन्ट क्रिएसन, मार्केटिङ, र परामर्श सेवाजस्ता धेरै स्टार्टअपहरूसँग काम गरिरहेकी छिन् । उनी उद्यमी नेपालीको पूर्वप्रमुख अपरेटिङ अफिसर पनि हुन् । त्यहाँ उनले कम्पनीको कर्मचारीहरुलाई मार्गदर्शन गर्ने र उद्यमीहरूका लागि आवश्यक सामग्रीहरु बनाउनेदेखि कार्यक्रम संयोजन गर्ने विषयमा रणनीतिहरू बनाइन् । हाल उनी कीर्तिपुरको रोटरयाक्ट क्लबको चार्टर प्रेसिडेन्टको रूपमा नेतृत्व गरिरहेकी छिन् । त्यहाँ उनले ४० भन्दा बढी स्थानीय युवाहरूसँग मिलेर सामुदायिक परियोजनाहरू र क्षमता विकाससम्बन्धी कार्यक्रमहरू संयोजन गरिरहेकी छिन् ।

जोन्टाले प्रत्येक वर्ष क्षमतावान् महिलाहरूलाई व्यवसाय र व्यवस्थापनलाई पेशा बनाउन र नेतृत्वदायी भूमिकाहरू लिन प्रोत्साहन गर्ने उद्देश्यले जेएमके छात्रवृत्ति प्रदान गर्ने गरेको छ । यो छात्रवृत्ति पाउनको लागि आवेदकहरुको राम्रो शैक्षिक पृष्ठभूमि र उनीहरुमा लगनशीलता, उच्च महत्वाकांक्षा र व्यवसायमा करियर बनाउने प्रतिबद्धता झल्किनुपर्छ । रुबीले स्थानीय युवाहरुसँग मिलेर विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्रीहरू प्रदान गर्ने, अत्यावश्यक खाद्यान्न र सरसफाइ सामग्रीहरू प्रदान गर्ने, महामारीको समयमा सुकुम्बासी बस्तीका परिवारहरूलाई खुवाउने जस्ता कार्यक्रमहरु सञ्चालन गरेकी छन् । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया