Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालडीडीसीद्वारा दूधको मूल्यवृद्धि

डीडीसीद्वारा दूधको मूल्यवृद्धि


काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको उपभोक्ता मूल्य बढाएको छ । डीडीसीले देशभर तीनथरि मूल्य निर्धारण गरी दूधको मूल्य बढाएको हो । डीडीसीले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतिलिटर दूधको मूल्य नौ रूपैयाँले बढाइएको जनाएको छ ।

काठमाडौँ उपत्यकासहित विराटनगर हेटौँडा र जनकपुरमा प्रतिलिटर ८५ रूपैयाँ, बुटवल भैरहवामा प्रतिलिटर ८१ रूपैयाँ र नेपालगञ्ज तथा धनगढी क्षेत्रमा प्रतिलिटर ७९ रूपैयाँ मूल्य निर्धारण गरेको डीडीसीले जनाएको छ । डीडीसीको बुधबार बसेको सञ्चालक समितिको बैठकले दूधको मूल्य निर्धारण गर्ने निर्णय गरेको थियो । यसअघि काठमाडौँमा ७६ रूपैयाँ, बुटवल भैरहवामा ७२ रूपैयाँ र नेपालगञ्ज क्षेत्रमा ७० रूपैयाँ तोकिएको थियो । बढेको नयाँ मूल्यअनुसार छ रूपैयाँ ५२ पैसा किसानका लागि तथा प्रतिलिटर दुई रूपैयाँ ४८ पैसा उद्योगीले पाउनेछन् ।

यसअघि गत माघ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर छ रूपैयाँ ५२ पैसा वृद्धि गरी ५६ रूपैयाँ चार पैसा निर्धारण गरेको थियो । त्यसअघि किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर ४९ रूपैयाँ ५२ पैसा रहेको थियो । किसानका लागि तथा उपभोक्ताका लागि बढेको दूधको मूल्य शुक्रबारदेखि लागू हुने डीडीसीले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया