Techie IT
×
गृहपृष्ठनेपालदुधको मूल्य वृद्धिप्रति उपभोक्ता मञ्चको विरोध

दुधको मूल्य वृद्धिप्रति उपभोक्ता मञ्चको विरोध


काठमाडौं । सरकारले दुधको मूल्य वृद्धि गरेपछि राष्ट्रिय उपभोक्ता मञ्चले विरोध जनाएको छ । डेरी उद्योग तथा व्यवसायीहरूले दुधको मूल्य वृद्धि गर्न दिँदै आएको दबाबको बीचमा सरकारले दुधको मूल्य बढाएको मञ्चको आरोप छ ।

गत माघ १७ गते बसेको मन्त्री परिषद्को बैठकले साबिकको दुधको मूल्यमा ६ दशमलव ५२ रूपैयाँ प्रतिलिटर वृद्धि गर्न दुग्ध विकास बोर्डलाई सहमति दिएको थियो । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले आइतबार एक विज्ञप्ति जारी गरी सर्वसाधारण किसानले बिक्री गर्ने दुधको मूल्य बढाउनको लागि मूल्यवृद्धि गरिएको भने पनि किसानले विगतको जति पनि मूल्य नपाएको बताएका छन् । मूल्य वृद्धिको नाममा छ रूपैयाँ बढी दिने भन्दै किसानलाई झुक्याएको उनको आरोप छ । सरकारले बढेको मूल्य कार्यान्वयन गर्नको लागि दुुग्ध विकास संस्थान, लैनचौरलाई निर्देशन दिएबमोजिम संस्थानले गत माघ २८ गतेबाट लागू हुनेगरी प्रतिलिटर नौ रूपैयाँ वृद्धि गरेको छ ।

सरकारले छ रूपैयाँ वृद्धि गर्न निर्देशन दिए पनि संस्थानले नौ रूपैयाँ बढाउने निर्णय गर्नु नितान्त गैरजिम्मेदार र बदनियतपूर्ण रहेको मञ्चले जनाएको छ । साथै अत्यावश्यक वस्तुको रूपमा रहेको दुध तथा दुधजन्य पदार्थमा सरकारको नीति निर्देशनविपरीत निजी क्षेत्रका डेरी उद्योग संघ तथा नेपाल डेरी एसोसियसनले सरकार र संस्थानले तोकेको मूल्यमा पनि एक रूपैयाँ थप गरी १० रूपैयाँ प्रतिलिटर मूल्य बढाउने निर्णय गरेकोप्रति उपभोक्ता मञ्चले घोर आपत्ति जनाएको छ । यसरी निजी क्षेत्रले आफूखुसी दूधको मूल्य बढाएको विषयलाई सरकारले गम्भीरताका साथ लिई उपभोक्ताका हितविपरीत कार्य गर्ने उद्योगी व्यवसायीमाथि आवश्यक कारबाही गर्न मञ्चले सरकारलाई अपिल गरेको छ ।

उपभोक्ता मञ्च किसानले गर्ने खर्च र लागत रकम पाउनुपर्ने पक्षमा रहेको मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । बिचौलियाहरूको दबाबमा गरिएको मूल्य वृद्धिको विरोध गर्दै तोकेको स्पष्ट मूल्य किसानले पाउने ग्यारेन्टी गर्न उपभोक्ता मञ्चले माग गरेको छ । साथै किसानले उचित मूल्य नपाएको अवस्थामा बढेको मूल्य भुक्तानी नगर्ने व्यवसायीमाथि समेत कानुनी कारबाही गर्न मञ्चले सरकारसमक्ष माग गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया