Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपाल इन्फ्रास्ट्रक्चर बैंक र सिंगापुरस्थित एसएमईसी इन्टरनेशनल प्राइभेट लिमिटेडबीच पाँचखाल स्मार्ट सिटी विकास सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर

नेपाल इन्फ्रास्ट्रक्चर बैंक र सिंगापुरस्थित एसएमईसी इन्टरनेशनल प्राइभेट लिमिटेडबीच पाँचखाल स्मार्ट सिटी विकास सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर


काठमाडौं । पाँचखाल नगरपालिकामा स्मार्ट सिटीको विकास गर्ने प्रयोजनको लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र सिंगापुरस्थित सुरबाना जुरोङ (एसजे) समूहको सदस्य एसएमईसी इन्टरनेशनल प्राइभेट लिमिटेड (एसएमइसी)बीच मंगलबार एक समझदारीपत्रमा (एमओयू) हस्ताक्षर सम्पन्न भएको छ ।

निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र एसएमईसीका कन्ट्री हेड सलिम जहाँ फहिमले आ–आफ्नो कम्पनीको प्रतिनिधित्व गर्दै निफ्राको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त समझदारीपत्रमा हस्ताक्षर गरे । उक्त कार्यक्रममा निफ्राका पदाधिकारीहरु, एसएमईसीका पदाधिकारीहरुसहित पाँचखाल नगरपालिकाका प्रवक्ता सञ्जय लामाको उपस्थिति थियो ।

समझदारीपत्रअनुसार, सिंगापुरस्थित ग्लोबल सहरी पूर्वाधार परामर्श फर्म सुरबाना जुरोङ (एसजे) समूहको सदस्य एसएमईसीले प्रस्तावित स्मार्ट सिटीको निर्माण गर्न आवश्यक हुने प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवम अन्तर्राष्ट्रिय सफल अभ्यासहरु अध्ययन विश्लेषणसम्बन्धी कार्यहरुमा सहकार्य गर्नेछ ।

निफ्राले सहकार्यका दौरान एसजेलाई आवश्यक सहजीकरण गर्नेछ । त्यस्तै निफ्राले स्मार्ट सिटी विकासका लागि अन्य सरोकारवालाहरूसँगको समन्वयमा निफ्राको अगुवाइमा आवश्यक लगानी जुटाउने कार्य गरिनेछ ।

पाँचखाल नगरपालिकाले नगरपालिकाका जग्गाधनीसँगको समन्वयमा जग्गाप्राप्ति गर्न आवश्यक सहजीकरण र सहकार्य गर्नेछ । यस प्रकारको नेपालकै पहिलो परियोजना पाँचखाल स्मार्ट सिटीले करिब ५५ सय रोपनी क्षेत्रफल ओगट्नेछ । स्मार्ट सिटीको विकासका लागि निफ्राले पाँचखाल नगरपालिकासँग छुट्टै समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

यसै कार्यको लागि बजार अध्ययनसम्बन्धी कार्य गर्न निफ्राले अमेरिकास्थित परामर्शदाता कम्पनी जोन्स लाङ लासेल प्रोपर्टी कन्सल्टेन्ट्स प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ । उक्त कम्पनीले सो कार्य आर्थिक वर्षको आठ हप्ताभित्र सम्पन्न गरी प्रतिवेदन पेश गर्ने तय भएको छ । उक्त कार्यक्रममा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, एसएमईसीका सलिम जहाँ फहिमले र पाँचखाल नगरपालिकाका प्रवक्ता लामाले परियोजना अघि बढाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया