Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालफोहोर पानी प्रशोधन केन्द्रको निर्माणकार्य अन्तिम चरणमा

फोहोर पानी प्रशोधन केन्द्रको निर्माणकार्य अन्तिम चरणमा


काठमाडौं । ललितपुरको धोबीघाटका निर्माणाधीन दुईमध्ये एउटा फोहोर पानी प्रशोधन केन्द्रको सिभिलतर्फको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल), आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) अन्तर्गत ललितपुरको धोबीघाटमा दुईवटा फोहोर पानी प्रशोधन केन्द्र निर्माणाधीन अवस्थामा छन् ।

निर्माणको अन्तिम चरणमा पुगेको धोबीघाटस्थित उक्त केन्द्रमा फोहोर पानी प्रशोधनका लागि अत्याधुनिक यन्त्र उपकरणहरू जडान गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको आयोजना कार्यान्वयन निर्देशनालयका उपनिर्देशक एवं प्रवक्ता ई. लोकेन्द्र प्रसाद यादवले जानकारी दिए । यस केन्द्रबाट फोहोर पानी प्रशोधनको परीक्षण कार्य आगामी साउन महिनाभित्रमा सुरु गर्ने कार्यक्रम रहेको छ । धोबीघाटस्थित यो केन्द्र र यहाँ नै निर्माणका क्रममा रहेको अर्को फोहोर पानी प्रशोधन केन्द्रको क्षमता प्रतिकेन्द्र प्रतिदिन तीन करोड ७० लाख लिटर रहेको छ ।

यसैगरी, कोड्कु (बालकुमारी)मा निर्माणाधीन प्रशोधन केन्द्रको क्षमता प्रतिदिन एक करोड ७५ लाख लिटर फोहार पानी प्रशोधन गर्ने रहेको यादवको भनाइ छ । उनका अनुसार भक्तपुरको सल्लाघारीमा पनि प्रतिदिन एक करोड ४२ लाख लिटर फोहोर पानी प्रशोधन क्षमता भएको फोहोर पानी प्रशोधन केन्द्रको निर्माण कार्य जारी रहेको छ । यसअघि, गुहेश्वरीमा निर्माण सम्पन्न भएको दैनिक तीन करोड २४ लाख लिटर क्षमताको फोहोर पानी प्रशोधन केन्द्र हाल सञ्चालनमा रहेको छ ।

डिजाइन, निर्माण र सञ्चालनको अवधारणाअन्तर्गत निर्माणसम्पन्न भएको र निर्माणाधीन केन्द्रहरूको कुल क्षमता प्रतिदिन १० करोड ५७ लाख लिटर फोहोर पानी प्रशोधन गर्ने रहेको छ । जसअनुसार, गुहेश्वरी फोहोर पानी प्रशोधन केन्द्रबाट दैनिक तीन करोड २४ लाख लिटर फोहोरपानी प्रशोधन गरी बागमती नदीमा प्रवाह भइरहेको छ भने सल्लाघारी फोहोर पानी प्रशोधन केन्द्रबाट दैनिक एक करोड ४२ लाख लिटर फोहोर पानी प्रशोधन गरी हनुमन्ते नदीमा, कोड्कु (बालकुमारी) केन्द्रबाट एक करोड ७५ लाख लिटर फोहार पानी प्रशोधन गरी मनोहरा नदीमा र धोबिघाट फोहोर पानी प्रशोधन केन्द्रबाट दैनिक सात करोड ४० लाख लिटर फोहोर पानी प्रशोधन गरी बागमती नदीमा प्रवाह गरिनेछ । यस्तै, गोकर्णमा ३० लाख लिटर क्षमता र हनुमानघाटमा १० लाख लिटर क्षमताका फोहोर पानी प्रशोधन केन्द्रहरूको निर्माणका लागि समेत आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रवक्ता यादवले जानकारी दिए ।

काठमाडौं उपत्यकाका घरपरिवारबाट खानेपानीको उपभोगपछि झण्डै ८० प्रतिशत पानी फोहोर पानीका रूपमा उत्सर्जन भई नदी तथा खोलामा मिसिन जाने भएकाले नदी तथा खोलाको मुहानदेखि नै फोहार पानी मिसिन नदिई नदी तथा खोलाहरूमा स्वच्छ एवं सफा पानीको बहावलाई निरन्तरता दिनका लागि ठूला तथा साना क्षमताका फोहोर पानी प्रशोधन केन्द्रहरूको निर्माणकार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको हो । मेलम्ची खानेपानी आयोजनाको मर्मतपछि भित्रिने दैनिक १७ करोड लिटर र त्यसपछि याङ्ग्री तथा लार्के खोलाबाट दैनिकरूपमा भित्रिने १७/१७ करोड लिटर गरी कुल ५१ करोड लिटर तथा स्थानीय स्रोतबाट उत्पादित उल्लेख्य परिमाणको खानेपानी उपभोग एवं प्रयोगपछि झण्डै ८० प्रतिशत फोहोर पानीका रूपमा बिसर्जन हुने भएकाले थप फोहोर पानी प्रशोधन केन्द्रहरू निर्माण गर्नु आवश्यक रहेको यादवको भनाइ छ ।

काठमाडौं उपत्यकाका घरघरबाट निस्कने फोहोर पानी नजिकैका प्रशोधन केन्द्रहरूमा पु-याउनका लागि पीआईडीबाट हनुमन्ते र मनोहरा समेतका नदी तथा खोलाका दुवैतर्फका किनारहरूमा करिब ३० किलोमिटर ढलप्रणाली निर्माणकार्य सम्पन्न भएको छ । साथै, ललितपुर महानगरपालिका र गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानमा गरी करिब आठ किलोमिटर ढल सञ्जाल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । आगामी सन् २०३० सम्ममा काठमाडौं उपत्यकामा वृद्धि हुने जनसंख्या र बढ्दो खानेपानीको मागका आधारमा प्रतिदिन करिब ४९ करोड लिटर फोहोरपानी उत्सर्जन हुने अनुमान गरिएको छ । हाल काठमाडौँ उपत्यकामा दैनिक रूपमा करिब २३ करोड लिटर फोहोर पानी उत्सर्जन हुनेगरेको छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया