Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनेपालका जाति, भाषा र संस्कृति – ३३

नेपालका जाति, भाषा र संस्कृति – ३३


शिरिष अर्ज्याल
हजाम जातिः नेपालमा कपाल काट्ने जातिलाई ‘हजाम’ भनिन्छ । नेपालका पहाडी बस्ती सहरहरूमा समेत तराई मूलका हजामहरूद्वारा कपाल काट्ने गरिएका भेटिन्छन् । नेवार जातिमा कपाल काट्ने जातिलाई ‘नापित’ भनिन्छ भने तराई मूलका कपाल काट्ने जातिलाई हजाम, ठाकुर भनी सम्बोधन गर्ने गरिन्छ वा नाइँ पनि भनिन्छ ।

यस जातिको मुख्य पेशा कपाल, दाह्री जुंगा काट्ने, विवाह वा अन्य उत्सवहरूमा साजसज्जा गराउनु तथा अन्य सामाजिक परम्पराहरूमा सहयोगीको भूमिका निर्वाह गर्नु रहेको छ । यस जातिका नारीहरूले महिलाहरूका नङ काटिदिने तथा अन्य सिंगारपटार गरिदिने गर्छन् ।

वैवाहिक, धार्मिक तथा अन्य सामाजिक उत्सवहरूमा यस जातिको भूमिका महत्वपूर्ण तथा अनिवार्य हुुने गर्छ । विशेषतः परम्परागत रूपमा विवाह र दाह संस्कारको निम्ता बाँड्न नाइलाई प्रयोग गर्नुपर्ने संस्कार रहँदै आएको पाइन्छ । पहिलाका समयमा तराईतिरका जमिनदार वा धनीमानी मानिसहरूले पुस्तेनी नाई वा हजाम राख्ने गर्दथे र उनीहरूको रेखदेख घर घडेरीको आदिको व्यवस्था तिनै जमिनदारले गर्ने गर्थे ।

विवाहमा बेहुला जन्ती जाँदा बेहुलाअघि वा बेहुलाका साथ हजामलाई लैजानु अनिवार्य परम्परा रहँदै आएकामा हिजोआज सो परम्परा देख्न पाइँदैन । यसैगरी पहिलाका समयमा विवाहका अवसरमा आमन्त्रित प्रमुख अतिथिको गोडा धुने कार्य तथा अनुष्ठानका लागि चाहिने जल र मण्डपको यज्ञोत्सवका लागि चाहिने सामग्री यस जातिका हातबाट पु-याउनु अनिवार्य तथा पवित्र मानिन्थ्यो । यसैगरी बेहुलालाई घरबाट यज्ञ मण्डपसम्म पिठ्युँमा राखी पु-याउने प्रचलन समेत रहेको थियो ।

नेपालको राजधानीलगायत प्रमुख सहरहरूमा हजाम जातिद्वारा नै कपाल र दाह्री कटाउने गरिन्छ भने हजाम जातिद्वारा खोलिएका सलुनहरूमा लोग्ने मानिसका कपाल, दाह्री काट्ने कार्य गरिन्छ । तराई क्षेत्रका हजामहरूमा कनौजिया, अवधिया, तिरूहुतिया, ब्याहुतजस्ता उपसमूहहरू रहेको पाइन्छन् भने हजाम जातिले आफ्ना कुल देवता ‘सोखा’ र ‘बनिगोरैया’लाई मान्दछन् ।

सहर बजारतिर आर्थिक अवस्था सामान्य रहे पनि मधेशका गाउँहरूमा यी जातिका मानिसको आर्थिक अवस्था विपन्न रहेको देखिन्छ भने यी जातिमा शिक्षा क्षेत्रमा पहुँच पनि निकै कम रहेको भेटिन्छ । हिजोआज यी जातिको सचेतताले नेपाल नाई संघ समेत गठन भएको छ ।

बहुभाषिक बहुल सांस्कृतिक एवं विविध जातिको संगम स्थलका रूपमा हाम्रो देशलाई लिइन्छ । हिमाल, पहाड र मधेशमा आ–आफ्नै किसिमको हावापानी रहनसहन र संस्कृतिहरूका विविध आयामलाई विभिन्न कोणहरूबाट हेरिदिनाले हरेक जातिका सांस्कृृतिक एवं जातीय विशेषताले महत्व पाउनुका साथै यसले जातीय गौरवको प्रत्याभूति एवं समाजको उत्थानमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

सामाजिक जीवनका पछाडि परेका जाति एवं जनजातिहरू नेपालमा उल्लेख सङ्ख्यामा रहेका छन् । वर्षौंसम्म विभेद, जातीय छुवाछूतजस्ता कारणले यी जातिहरू पछाडि पर्दै गएका हुन् । पहाडमा मात्र होइन तराई समेत सानो जाति वा वर्ग भनी छोइछिटो हाल्ने, साना जातिलाई तल्लो सम्झिने चलन अद्यापि व्याप्त छ ।

सामाजिक रूपमा पछाडि परेको भए पनि शैक्षिक, व्यापारिक र राजनीतितर्फ समेत सन्तोषजनक स्थितिमा रहेका तराई मधेशका जातिहरूमध्ये एक महत्वपूर्ण जाति ‘कलवार’ जाति पनि हो । २०५८ सालको जनगणनामा १ लाख १५ हजार ६ सय ६ को संख्यामा गणना गरिएको यस जातिहरूको उपस्थिति नेपालमा त्योभन्दा निकै बढी रहेको अनुमान गरिएको छ । नेपालका करिब ६५ जिल्लाहरूमा यी जातिका महिला तथा पुरूषहरू छरिएर रहेका छन् । प्राध्यापक, वकिल, इन्जिनियरदेखि अन्य सरकारी सेवाहरूमा समेत यी जातिका मानिसहरु भेटिने गर्छन् ।

नेपालमा यी जातिका मानिसहरूमध्ये ६५ प्रतिशत शिक्षित वा साक्षर रहेकाले यी जातिको साक्षरता प्रतिशतलाई सन्तोषजनक मान्नुपर्छ । शैक्षिक चेतना र राजनैतिक पहुँच हुँदाहुँदै पनि राजनीतिमा पछाडि पर्नु यी जातिको अर्काे आश्चर्यजनक पक्ष हो । जसका कारणले यी जातिका मानिसहरू ठगिएको एवं विभेदमा पारिएको महशुस गर्ने गर्छन् । व्यापार, व्यवसाय, उद्योगधन्दा र कृषि क्षेत्र वा खेतीपातीमा आफ्नो संलग्नता देखाएका यी जातिमा खेतीपातीसम्बन्धी ज्ञान र दक्षता विशेष रहेको हामी पाउँछौँ । यी जातिका जयसवाल थरले चिनिने वर्ग व्यापार कुशल व्यापारी वर्गका रूपमा आफ्नो पहिचानलाई स्थापित गरेका छन् ।

विशेष गरी नेपालको बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा उल्लेख्य संख्यामा रहेका यी जातिको बसोबास सुनसरी र सप्तरीमा समेत ठूलो संख्यामा रहेको हामी पाउँछौँ । कलवार जातिले सामाजिक संस्कारहरू गर्दा हिन्दू परम्पराअनुसार हिन्दूपर्वहरूलाई विधिविधानपूर्वक सम्पन्न गर्ने गरिन्छ । मुख्यतया दीपावली (तिहार), नवरात्रि, होली, छठ, चोरचन, शिवरात्रिजस्ता चाडपर्वहरूलाई धुमधामका साथ मनाइने गरिन्छ ।

कलवार जातिका मानिसहरूले बोल्ने गरेका भाषामा मुख्यतया मैथिली पर्छ भने यसबाहेक भोजपुरी र पश्चिम नेपालको तराईका कलवार जातिको अवधि तथा नेपाली र हिन्दीमा समेत सम्पर्क भाषाका रूपमा प्रयोगमा ल्याएको पाइन्छ । नेपाल अधिराज्यभरिका मानिसले सबैभन्दा बढी प्रतिशतमा (५०.३१ प्रतिशत) बोलिने भाषा नेपाली हो भने यसपछिको बढी संख्यामा बोलिने भाषा करिब (११.८५ प्रतिशत) ले बोल्ने भाषा मैथिली भाषा नै हो । जुन भाषा अधिकांश कलवार जातिद्वारा बोलिने गरिन्छ ।

मैथिली भाषा अत्यन्तै प्राचीन तथा समृद्ध भाषा हुनाले तथा नेपालमा ठूलो संख्यामा बोलिनाले २०४६ को प्रजान्तन्त्रपश्चात् मान्यता दिन खोजिए पनि लोकतान्त्रिक गणतन्त्र आउँदासम्म यस भाषालाई सरकारी भाषा र यस भाषाको विस्तृत विकासमा सरकारी पक्षद्वारा उचित सहयोग र संवर्द्धन पु-याउन सकेको देखिँदैन । यति भए पनि राणा काल र पञ्चायतकालमा एक भाषा र एक संस्कृति भनी लादिएकामा प्रजातन्त्रपश्चात् पहिलोपटक नेपाल अधिराज्यको २०४६ ले नेपालका मातृभाषाहरूलाई राष्ट्रिय भाषाको मान्यता प्रदान गर्न सफल भयो भने नेपालको अन्तरिम संविधान ३०६३ ले नेपालमा बोलिने गरिएको सम्पूर्ण भाषाहरूलाई राष्ट्रभाषाको मान्यता प्रदान ग-यो । फलस्वरूप मैथिली भाषाले उचित सम्मान पाउन सफल भयो ।

यस्तै गरी तराई क्षेत्रका विभिन्न भाषीहरूद्वारा मात्र होइन आदिवासी जनजाति महासंघद्वारा पनि भाषा र संस्कृतिको संवर्द्धनमा धेरै सेवा तथा कार्यक्रमहरू पु-याउँदै आइरहेका छन् । यस्ता नेपालका भिन्न भिन्न जाति तथा तिनले बोल्ने गरेका भाषालाई प्रवर्द्धन गर्न भिन्न–भिन्न जातिका संघ/संस्थाहरूको भूमिका महत्वपूर्ण छ ।

जातिको पहिचान तिनको संस्कृतिबाट हुन्छ भने जातिसँग भाषा र भूगोल पनि गाँसिएको हुन्छ । सबै जातजातिलाई आ–आफ्ना मातृभाषा प्रिय हुन्छ भने त्यस जातिको अस्तित्व वा पहिचान तिनको संस्कृतिमा निहित हुन्छ । नेपालमा भने प्रजान्तत्रपूर्व अन्य सबै जातिका भाषाहरूलाई कानुनी रूपबाटै वञ्चित गराइयो । पञ्चायत कालमा तराईका सबै विद्यालयमा एकै भाषा नीतिअनुरूप नेपाली भाषा मात्र बनाइएर अन्य जात जातिका भाषाहरूलाई मान्यता दिइएन ।

यस्तै १७ सालपश्चात् पञ्चायती कालमा रेडियो नेपालबाट यसबाट नेवारी भाषा र हिन्दी भाषामा रोक लगाइयो । यसबाट प्रष्ट हुन्छ एकल जातीय पहिचानका नाममा अन्य भाषाभाषी एवं जातजातिलाई तिनका मातृभाषाको विस्तार र विकासदेखि योजनाबद्ध रूपमा वञ्चित गराइएको थियो ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया