Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालप्रदेश २ सरकार सफल भएको मुख्यमन्त्रीको दाबी

प्रदेश २ सरकार सफल भएको मुख्यमन्त्रीको दाबी


जनकपुरधाम, फागुन ४
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार २ वर्षमा पूर्ण सफल भएको बताएका छन् । संघीय सरकारसँग सुरुदेखि नै अधिकारको लागि बाँझिने बाध्यता भए पनि संघीयता बचाउनको लागि प्रदेश सरकारले अहिलेसम्म सफल काम गरेको उनको दाबी थियो ।

प्रदेश २ सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा शनिबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री राउतले साधन स्रोतको अभाव, कर्मचारी र संघीय सरकारको असहयोगका बाबजुत पनि थुप्रै उपलब्धि हासिल गरेको बताए । हालसम्म प्रदेश २ सरकारले २३ वटा कानुन प्रदेशसभाबाट पास भएको, ८० वटा कानुन तयारी अवस्थामा रहेको र २२ वटा कानुन प्रदेशसभाका विधायन समितिमा विचाराधीन रहेको उनले जानकारी दिए ।

प्रदेश सरकारले महिला सशक्तीकरण तथा सामाजिक सुधारका लागि ल्याएको ‘बेटी पढाऊ, बेटी बचाऊ अभियान’अन्तर्गत छोरीलाई साइकल वितरण र तीन लाख रुपैयाँको छोरी शिक्षा बीमा लोकप्रिय कार्यक्रम भएको र यो नै ठूलो उपलब्धि भएको मुख्यमन्त्री राउतको भनाइ छ । उनले सरकारको दुई वर्षे उपलब्धि २६ बुँदामा प्रस्तुत गर्दै दुई वर्षको अवधिमा उक्त अभियानसहित, लोकसेवा आयोग गठन, निजामती विधेयक तयार, २३ वटा कानुन निर्माण, स्वच्छता अभियान, शहीद परिवारको अर्थोपार्जनका लागि कृषि सामग्री वितरण, अञ्चल अस्पताललाई प्रादेशिक अस्पतालमा परिणत र मधेश आन्दोलनका शहीद परिवारलाई रोजगार उपलब्ध लगायतका उपलब्धि हासिल गरेको बताए ।

दुई वर्षको अवधिमा मन्त्रिपरिषद्को ७८ र समन्वय परिषद्को तीन पटक बैठक बसेको छ । प्रदेश सरकारले जारी गरेको उपलब्धि पत्रमा बेटी पढाउ बेटी बचाउ अभियानअन्तर्गत छोरी बीमा, छोरी छात्रवृत्ति, साइकल वितरणलगायतका कार्यक्रम जारी राखेका छन् ।

जसअन्तर्गत हालसम्म २४ हजार ३ सय ७८ जना गत वर्ष माघयता जन्मेका छोरीहरुलाई बीमित गरिएको छ भने १४ हजार बालिकालाई साइकल वितरण गरिएको जनाइएको छ । यसका साथै प्रदेशलाई हरित बनाउने उद्देश्यले सरकारले ३७७.४ हेक्टरममा वृक्षरोपण तथा एक करोड ४० लाखभन्दा बढी निजी तथा सरकारीस्तरमा वृक्षरोपणका लागि बोटबिरुवा वितरण र भिजिट नेपाल २०२० लाई सफल पार्न प्रदेशका आठवटै जिल्लाका १ सय ९२ वटा पर्यटकीय संरचनाको निर्माण तथा मर्मतसम्भार गराउन सफल भएको उनको भनाइ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया