Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालतिङ्कर प्रहरी छायालेक पुग्यो

तिङ्कर प्रहरी छायालेक पुग्यो


दार्चुला । गत मंसिरमा हिमपातपछि सदरमुकाम झरेको नेपाल प्रहरी सोमबार तिङ्करको छायालेक पुगेको छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत नेपाल प्रहरी छायालेक पुगेको हो । छ महिना मात्रै राज्यको उपस्थिति रहने तिङ्करको छायालेकमा सई हर्क महताको नेतृत्वमा सात जनाको टोली तिङ्कर चौकीमा पठाइएको जिल्ला प्रहरीप्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

नेपाल प्रहरीले छ महिना चाहिने रासन, हातहतियार बन्दोबस्तीको समान लिएर गएको हो । व्याँस गाउँपालिका–१ को तिङ्करमा छ फुटभन्दा बढी हिमपात हुनेगरेका कारण प्रहरी र स्थानीय छ महिना मात्रै यहाँ बसोबास गर्छन् । छायालेक प्रहरी चौकीबाट नेपाल–चीन सीमास्तम्भ पुग्न चार घण्टा समय लाग्छ । छाङ्गरुमा भने दुई वर्षदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी बाह्रै महिना बस्न थालेको छ । छाङ्गरुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गरिएको छ । तिङ्करको छायालेकमा सशस्त्र प्रहरीको बीओपी राख्ने तयारीस्वरुप गत वर्ष भवन निर्माण गरिएको तर अहिलेसम्म सशस्त्र प्रहरी राख्नेबारे जानकारी आइनसकेको सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक धीरेन्द्र शाहले बताए । उहाँका अनुसार निर्वाचनको बेला सशस्त्र प्रहरी पनि तिङ्करमा खटिन्छ । यो पटक निर्वाचनका लागि छाङ्गरु र तिङ्करमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिँदै छन् । म्यादी प्रहरी टाढा भएका कारण पठाइएको छैन ।

भारतसँग सीमा जोडिएका नाका बन्द हुँदै
दार्चुलामा भारतसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा क्षेत्र मंगलबार रातिदेखि ‘सिल’ गर्ने भएको छ । स्थानीय तह निर्वाचनका लागि सीमाबाट हुने आवागमन ७२ घण्टासम्म बन्द गर्न लागिएको हो । मंगलबार बेलुकी ७ बजेदेखि मतदान हुने दिनको बेलुकी ७ बजेसम्म सीमा बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । दार्चुलाको लालीदेखि व्यासको सीतापुलसम्मका छवटा भारतसँग सीमा जोडिएका नाकाहरू वैधानिक छन् । ती नाकाहरू बन्द गर्ने विषयमा शनिबार दुवै देशका अधिकारीबीच सहमति भएको थियो ।

लाली, जोलजीवी, दत्तु, खलङ्गा, तिगरम र सीतापुल वैधानिक नाका हुन् । त्योबाहेक दुई ठाउँमा नयाँ झोलुङ्गेपुल निर्माण भए पनि सञ्चालन गरिएको छैन भने केही ठाउँमा तुइनमार्फत आवतजावत हुँदै आएको छ । अवैध नाकामा सुरक्षाकर्मीले निगरानी बढाउने जनाइएको छ । मतदानअघिको मौन अवधिमा चुनावसँग जोडिएका कुनै पनि गतिविधि गर्न नपाइने आचारसंहिता कडाइका साथ पालना गराउन निर्देशन दिइएको छ । मतदान दिनका लागि सवारीसाधन सञ्चालनसम्बन्धी मापदण्ड कार्यान्वयनमा कडाइ गरिने प्रशासनले जनाएको छ । ‘स्थानीय तह सदस्य निर्वाचन–२०७९ को मतदानको दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७९’ जारी गरिसकेको छ, जसमा मुख्य निर्वाचन अधिकृतको कार्यालयको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट जारी पासबाहेकका गाडी वैशाख ३० का दिन गुडाउन नपाइने उल्लेख छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया