Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनाइटिंगेल नर्सिङ अवार्ड २०७७ बाट वरिष्ठ नर्स श्रेष्ठ सम्मानित

नाइटिंगेल नर्सिङ अवार्ड २०७७ बाट वरिष्ठ नर्स श्रेष्ठ सम्मानित


काठमाडौं । तीन दशकभन्दा बढी समय नर्सिङ क्षेत्रमा क्रियाशील वरिष्ठ नर्स बिमला श्रेष्ठ नाइटिंगेल नर्सिङ अवार्ड २०७७ बाट सम्मानित भएकी छिन् । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको सन्दर्भ पारी हेल्थ एट होम, मेड प्रो इन्टरनेशनल प्रालि, एनसीसीडीएफ, सघन क्रिटिकल केयर एसोसिएट्स, नेपाल भेन्टिलेटर्स सर्विसेसले संयुक्त रूपमा वरिष्ठ नर्स श्रेष्ठलाई ५० हजार एक रुपैयाँ नगद पुरस्कारसहित नर्सिङ अवार्ड २०७७ बाट सम्मान गरेको हो । यी संस्थाले हरेक वर्ष नर्सिङ दिवसको अवसर पारेर अवार्ड प्रदान गर्ने घोषणा गरेका छन् । पहिलो पटक श्रेष्ठलाई यस किसिमको अवार्ड प्रदान गरिएको हो ।

आइतबार आयोजित एक कार्यक्रममा नर्स तथा जनस्वास्थ्य अभियन्ता एवं मदन पुरस्कार विजेता राधा पौडेलले श्रेष्ठलाई सम्मान गरेका हुन् । सम्मान प्राप्त गर्ने वरिष्ठ नर्स श्रेष्ठले तीन दशकभन्दा लामो समयदेखि अनवरत रूपमा नर्सिङ क्षेत्रमा सेवा प्रदान गर्दै आएकी छिन् । हाल उनी त्रिभुवन विश्वविद्यालय टिचिङ्ग अस्पताल महाराजगञ्जमा नर्सिङ प्रमुख, आईसीयू विभागमा कार्यरत छिन् ।

कार्यक्रममा जनस्वास्थ्य अभियन्ता राधा पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा नर्सहरूको योगदान निकै ठूलो रहेको बताउँदै यस किसिमको सम्मानले सम्पूर्ण नर्सहरुलाई आफ्नो कार्यक्षेत्रमा अझ बढी हौसला प्रदान हुने बताइन् । यस्तै स्वास्थ्य मन्त्रालय नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख बाला राई, मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्की, रजिष्ट्रार प्रमिला देवानले कोभिड महामारीका बेला नर्सहरुको योगदान निकै ठूलो रहेको स्मरण गर्दै यस किसिमको सम्मानले उनीहरुलाई कार्यक्षेत्रमा अझ धेरै जिम्मेवार बनाउने उल्लेख गरिन् ।

यस्तै सम्मान ग्रहण गर्दै वरिष्ठ नर्स श्रेष्ठले आफू अवार्डबाट सम्मानित हुन पाउँदा निकै खुसी लागेको बताइन् । उनले सम्मानबापत पाएको एक लाख रूपैयाँ आईसीयूमा उपचारार्थ गरिब बिरामीहरुलाई प्रदान गर्ने घोषणा गरिन् । कार्यक्रममा विभिन्न अस्पतालका चिकित्सक, नर्सलगायत स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति थियो ।

१२ वर्षअगाडि डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घर–घरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । एनसीसीडीएफले सघन चिकित्सालाई सर्वसुलभ बनाउनका लागि देशव्यापीरूपमा कार्यशाला, गोष्ठी, तालिम सञ्चालन गर्दै आएको छ । यस्तै नेपाल भेन्टिलेटर्स सर्विसेसले नेपालमा सघन चिकित्साका उपकरणहरुलाई सहजै उपलब्ध गराउँछ । यस संस्थाले कोभिडका बेला स्थापना भई भेन्टिलेटरलगायतका सघन उपचारका उपकरण प्रदान गर्दै आएको छ । क्रिटिकल केयर एसोसिएट्स चिकित्सकहरुको समूहले सञ्चालन गरेको नयाँ कम्पनी हो, जसले सघन चिकित्साको पहँचलाई सर्वसुलभ बनाउने कार्य गर्दै आएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया