Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपाललुक्ला विमानस्थलमा राजधानी फर्किने पर्यटकको संख्या उच्च

लुक्ला विमानस्थलमा राजधानी फर्किने पर्यटकको संख्या उच्च


सोलुखुम्बु । सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाबाट राजधानी फर्किने यात्रुको चाप बढेको छ । सगरमाथा क्षेत्रमा पर्यटकीय सिजन सकिएसँगै विमानमार्फत काठमाडौं फर्किने विदेशी पर्यटकको चाप बढेको नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

अहिले लुक्ला भित्रिने यात्रुको संख्या न्यून रहेको र दैनिक तीन सयभन्दा बढी पर्यटकहरू त्यहाँबाट फर्किने गरेको प्राधिकरण प्रमुख द्वारीका अछामीले जानकारी दिए । उनले भने, ‘यहाँ त आउँदा जहाजहरू खाली आउँछन्, फर्किँदा पूरै यात्रु लिएर जान्छन् । यात्रुको चाप थेगिसक्नु नै छैन । विमानमा सिट नपुगेर हेलिकोप्टरमा समेत त्यतिकै फर्किरहेका छन् ।’ चाप बढेसँगै विमान कम्पनीहरूलाई भ्याइनभ्याइ भएको छ । देशकै बढी व्यस्त हुने विमानस्थलमध्येको एक लुक्लामा अहिले दैनिक ३० वटाभन्दा बढी उडान हुनेगरेको छ भने त्यत्तिकै संख्यामा हेलिकोप्टरहरूले समेत उडान भर्ने गरका छन् ।

काठमाडौँबाट लुक्ला आउने अधिकांश जहाजहरू खाली नै हुने गरे पनि फर्किँदा पूरा यात्रु लिएर जाने गरेको विमान कम्पनीहरूले जनाएको छ । फर्किने पर्यटकहरूको चाप बढी भए पनि मौसमले साथ नदिँदा कतिपय उडानहरू रद्द हुनेगरेको छ । केही दिनदेखि बिहानको समयमा मौसम क्लोज हुने र मध्यान्नपछि मात्रै खुल्ने गरेकाले सोचेजस्तो उडान हुन नसकेको प्रमुख अछामीको भनाइ छ । खुम्बुमा वर्षको दुई सिजन फागुन अन्तिमदेखि जेठ मध्यसम्म र असोजदेखि मंसिरसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया