Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न विद्यार्थी संगठनहरूको माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न विद्यार्थी संगठनहरूको माग


काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न विद्यार्थी संघ संगठनहरूले सरकारसँग माग गरेका छन् । विभिन्न १५ वटा विद्यार्थी संगठनले मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटी पेट्रोलियम पदार्थ र ग्यासमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन् ।

मन्त्री बडूले अहिले नै मूल्यवृद्धि फिर्ता गर्नका लागि केही भन्न नसक्ने र मूल्यवृद्धिका सम्बन्धमा छलफल गरिने जानकारी दिएको वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका अध्यक्ष राजेश्वरी सुवेदीले जानकारी दिए । विद्यार्थी संगठनले मन्त्रालय र संयुक्त विद्यार्थी संगठनबीच विगतमा भएको सहमति कार्यान्वयन गरी एलपी ग्यास र मट्टीतेलमा विद्यार्थीहरूलाई सहुलियतको माग समेत गरेका छन् ।

यस्तै विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा विभिन्न बहानामा लगाइएको अत्यधिक करबारे पुनर्विचार गर्नुपर्ने, वैकल्पिक ऊर्जाको खोज अनुसन्धान र प्रयोगका लागि कार्यदल गठन गरी काम गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको एकाधिकार खारेज गरी खुला प्रतिस्पर्धाबाट आपूर्ति गर्न माग गरेका छन् । पेट्रोलियम पदार्थको कच्चा तेल प्रशोधन केन्द्र स्थापना गर्न कुनै पनि बहानामा सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगमलाई निजीकरण गर्ने विषयमा गम्भीरतापूर्वक सोच्न समेत आग्रह गरेका छन् । यस्तै विद्यार्थी संगठनले बुधबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेपाल आयल निगम घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

आयल निगमले गत वैशाख ३१ गते पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रूपैयाँ तथा जेठ ८ गते फेरि पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रूपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डरमा २ सय रूपैयाँ वृद्धि गरेको थियो । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियू, अखिल (छैटौँ), सजाजवादी विद्यार्थी युनियनलगायतका १५ विद्यार्थी संगठनले ध्यानाकर्षणपत्र बुझाएका हुन् । 


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया