Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालनीति तथा कार्यक्रम सकारात्मक : घरेलु तथा साना उद्योग महासंघ

नीति तथा कार्यक्रम सकारात्मक : घरेलु तथा साना उद्योग महासंघ


काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले कृषि, उद्योग र सेवा क्षेत्रको उत्पादकत्व वृद्धि गरी सबल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यका साथ सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम समग्रमा सकारात्मक रहेको जनाएको छ ।

निजी क्षेत्रबाट दिएको सुझावलाई समेत समेटेको नीति तथा कार्यक्रममा नेपाली उद्योग नेपालमै रोजगारः आफ्नो उत्पादन आफ्नै व्यापार भन्ने नाराका साथ तुलनात्मक लाभ भएका उत्पादनशील क्षेत्रमा आन्तरिक तथा बाह्य लगानी वृद्धि गर्ने, परम्परागत ज्ञान तथा मौलिक सीपमा आधारित लघु तथा घरेलु उद्योगलाई प्रविधि हस्तान्तरण तथा बजार संरक्षणमार्फत प्रवर्द्धन गर्ने कुरा सकारात्मक भएको महासंघको भनाइ छ । महासंघले बुधबार एक विज्ञप्ति जारी गरी लघु, घरेलु, साना तथा मझौला उद्योगका लागि उद्यमशीलता विकास, वित्तीय पहुँच, उत्पादनको बजारीकरण र निर्यात सहजीकरणको प्याकेज तयार गरी कार्यान्वयन गर्ने, सार्वजनिक निकायको खरिदमा स्वदेशी वस्तुको हिस्सा बढाउँदै लगिने, एकल विन्दु सेवा केन्द्रलाई अधिकारसम्पन्न र प्रविधिमा आधारित बनाउने विषय पनि नीति तथा कार्यक्रमको सकारात्मक पक्ष भएको उल्लेख गरेको छ । पर्यटनलाई अर्थतन्त्रको गतिशील आयामको रूपमा सबै प्रकारका आर्थिक गतिविधिसँग आबद्ध गराई स्थानीय उत्पादनको प्रवद्र्धनमा जोड दिने नीतिले स्वदेशी उद्योगको प्रवद्र्धनमा सहयोग पुग्ने महासंघकले अपेक्षा लिएको छ ।

यसैगरी श्रम बजारको मागअनुसारको विशिष्टीकृत सीपयुक्त जनशक्ति निर्माण गर्ने, विदेशबाट फर्केका व्यक्तिलाई सीपअनुसारका व्यवसाय सञ्चालन गरी रोजगारी सिर्जना गर्ने, आपूर्ति श्रृंखला सुचारु गर्न, अर्थतन्त्रमा बाह्य प्रभाव कम गर्न र औद्योगिक उत्पादनको बजार पहुँचका लागि विद्युतीय व्यापार प्रणाली लागू गर्ने कुरा नीति तथा कार्यक्रमका सबल पक्ष भएको महासंघको ठहर छ । उत्पादनमूलक उद्योग र निर्यातमूलक उद्योगको उत्पादन लागत घटाई निर्यात वृद्धि गर्ने, नवप्रर्तनमा आधारित स्टार्टअप व्यवसाय स्थापना र सञ्चालनमा सहजीकरण गर्ने, औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्रजस्ता पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई संलग्न गराउने, नेपाली उत्पादनलाई राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मूल्य श्रृंखलामा आबद्ध गराउन ठूला विदेशी उद्योगका सहायक सामग्री उत्पादन गर्ने उद्योग स्थापना गर्ने, सबल अर्थतन्त्र निर्माणका लागि उद्योगलाई नेतृत्वदायी भूमिका दिनेजस्ता व्यवस्थाले स्वदेशी उद्योग र उत्पादित वस्तुको प्रवर्द्धन र संरक्षणमा सकारात्मक प्रभाव पर्ने देखिने महासंघको भनाइ छ ।

उद्योगमैत्री वातावरण निर्माण, व्यवसाय गर्ने वातावरण सुधार र आधारभूत पूर्वाधारमा सरकारी लगानी बढाई निजी क्षेत्रलाई उत्पादनमूलक उद्योग स्थापना र सञ्चालन गर्न प्रोत्साहन गर्ने कुराले थप उत्साह सिर्जना गरेको महासंघले जनाएको छ । कृषि, वन तथा खानी क्षेत्रका उत्पादनलाई औद्योगिक प्रशोधन श्रृंखलामा जोड्न ‘फार्म टु इण्डस्ट्री’ एकीकृत नमूना कार्यक्रम कार्यान्वयन गर्ने, कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रूपमा विकास गर्ने, आर्थिक विकास र गरिबी निवारणका लागि सहकारी क्षेत्रलाई उद्यमशीलता, उत्पादन र रोजगारीसँग आबद्ध गराउने विषय नीति तथा कार्यक्रमको सबल पक्ष रहेको महासंघको भनाइ छ । उत्पादनशील र रोजगारीमूलक क्षेत्रमा कर्जा प्रवाह सहज बनाइने नीतिले लघु, घरेलु तथा साना उद्योगीहरूमा सहजरूपमा वित्तीय पहुँच अभिवृद्धि हुने विश्वास महासंघले लिएको छ ।

यस्तै विद्यमान कर प्रणालीलाई पुनरावलोकन गरी स्वच्छ, पारदर्शी र लगानी एवं व्यवसायमैत्री बनाउने नीतिअनुसार कोभिड–१९ को विपदबाट विस्थापित हुन पुगेका लघु, घरेलु तथा साना र महिला उद्योगीहरूलाई लक्षित गरी कर प्रणाली पुनरावलोकन गर्न जरुरी रहेको महासंघले जनाएको छ । राष्ट्रिय योजना आयोगले सिफारिस गरेका विषयहरूलाई समेटेको नीति तथा कार्यक्रमले अँगालेका विषयहरू आगामी बजेटमार्फत कार्यान्वयनमा आउने हुँदा आर्थिक वर्ष २०७९/८० लागि सरकारले पेस गर्ने बजेटमार्फत नीति तथा कार्यक्रमका विषयहरू कार्यान्वयन हुने अपेक्षा महासंघले गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया