Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपुल्चोक क्याम्पसका विद्यार्थीलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’

पुल्चोक क्याम्पसका विद्यार्थीलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान’


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ प्रदान गरेको छ ।

कम्पनीले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बुधबार विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान गरेको हो । एनसेलको मुख्य कार्यलय एनसेल आइकन, लैनचौरमा आयोजित एक कार्यक्रमबीच उक्त सम्मान प्रदान गरिएको हो । २०७१ सालबाट सुरु गरिएको यस कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्ने उदेश्य राखेको छ ।

कार्यक्रमअन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ्ग संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिन्छ । यस वर्ष अर्थात् २०७८ का लागि १८ वटा शीर्षकअन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ्ग संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको छ । साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उत्तीर्ण गरेका छ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको छ ।

इन्जिनियरिङ्ग अध्ययन संस्थानका डिन प्रा.डा. शशीधर राम जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्तरुपमा विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए । त्यसैगरी, एनसेलका प्रमुख मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तव, प्रमुख सूचना अधिकृत विशालमणि उपाध्याय, प्रमुख कानुन, संस्थागत सरकारी तथा नियामक मामिला अधिकृत रमेश घिमिरे र प्रमुख वित्तीय अधिकारी अनुपम भाटले विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए । कोभिड–१९ महामारीका कारणले रोकिएको गत वर्षको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पनि बुधबार नै प्रदान गरिएको थियो । कार्यक्रममा २०७७ सालका १८ जनालाई प्रदान गरिएको छात्रवृत्ति र ६ जना विद्यार्थीलाई प्रदान गरिएको उत्कृष्टता सम्मानको प्रमाण पत्र प्रदान गरिएको हो । गत वर्ष कार्यक्रम आयोजना गर्न नसकिएता पनि यस कार्यक्रम अन्तर्गतको छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको नगद पुरस्कार भने विद्यार्थीहरुलाई प्रदान गरिएको थियो ।

एनसेल छात्रवृत्ति इन्जिनियरिङ्ग पाँच संकायमा स्नातक तहको प्रथम, द्वितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले प्राप्त गर्दछन् भने पाँचवटै संकायका छात्रामध्ये उत्कृष्ट नतिजा ल्याएका द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत एक/एक जना गरी तीन छात्राले यो छात्रवृत्ति पाउने गर्दछन् । यसैगरी उत्कृष्टता सम्मानअन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजासहित स्नातक तहको पढाइ सकाएका प्रत्येक संकायका १/१ जना र यी पाँचै संकायका छात्राहरु मध्यबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्दछ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि एक लाख रुपैयाँ छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया