Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालबजेटबाट कपडा उद्योगी निराश, स्वदेशी उद्योग संरक्षणमा सरकार उदासीन

बजेटबाट कपडा उद्योगी निराश, स्वदेशी उद्योग संरक्षणमा सरकार उदासीन


काठमाडौं । कपडा उद्योगीहरूले सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९–८० को बजेटबाट आफूहरू निराश भएको बताएका छन् । नीति तथा कार्यक्रम र बजेटमार्फत स्वदेशी वस्तुको उत्पादन तथा उपभोग दशक घोषणा गरेको सरकारले स्वदेशी कपडा उद्योगका समस्यालाई पूर्ण रूपमा उपेक्षा गरेको व्यवसायीहरूको गुनासो छ ।

नेपाल कपडा उद्योग संघले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी बजेटले स्वदेशी कपडा उद्योगका पक्षमा कुनै पनि कार्यक्रम समेट्न नसकेको बताएको छ । मुलुकमा हाल दुर्ई सय ५० कपडा उद्योग सञ्चालनमा रहेका छन् भने यी उद्योगबाट करिब ५० हजार रोजगारी सिर्जना भएको संघले जनाएको छ । संघले बन्द भइसकेको हेटौंडा कपडा उद्योग ब्युँताउने र सरकारी कर्मचारीले अनिवार्यरूपमा यसैको कपडा प्रयोग गर्ने नीति आफैँमा विरोधाभासपूर्ण र सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत भएको जनाएको छ ।

संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले नेपालमा उपभोग भइरहेको कपडामध्ये करिब ८५ प्रतिशत चोरी पैठारीबाट भित्रिएको उल्लेख गर्दै स्वदेशी उद्योगले त्यसरी भित्र्याइएका सामानसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए । ‘भारतमा कपडा उद्योगलाई पाँच प्रतिशत जीएसटी मात्र लागू भएको छ भने नेपालमा हामीले १३ प्रतिशत मूल्य अभिवृद्धि कर बुझाउनु पर्दा कपडाको मूल्य स्वतः महँगो परेको छ’, उनले भने, ‘भारतीय बजारबाट चोरी पैठारी भित्रिने कपडाले यहाँ भन्सार समेत तिर्दैनन् भने उनीहरूसँग हामीले कसरी प्रतिस्पर्धा गर्ने ?’

संघका उपाध्यक्ष जीतेन्द्र लोहियाले भारतबाट अवैध आयात बन्द गर्ने हो भने स्वदेशी कपडा उद्योगलाई कुनै सुविधा नचाहिने बताए । ‘सरकारले एकातिर तस्करी नियन्त्रण गर्न सक्दैन भने अर्कोतिर स्वदेशी उद्योगलाई बचाउन पनि सकेको छैन’, उनले भने, ‘स्वदेशी उत्पादन बढाऔं भन्ने अनि स्वदेशी उद्योगलाई बन्द हुने अवस्थामा पुग्दा समेत कुनै चासो नराख्ने सरकारको नीति देखेर हामी अचम्भित छौँ ।’ संघले नेपाली कपडा उद्योगलाई आव २०७४/७५ सम्म दिँइदै आएको बिक्रीमा उठाइएको ७० प्रतिशत भ्याट फिर्ता गर्नुपर्ने वा छिमेकी मुलुक भारतमा रहेको पाँच जीएसटीसरह करको दर लागू गरिनुपर्ने माग गरेको छ । यस्तै, कपडा उद्योगको कच्चापदार्थ सुती धागोमा भ्याट लाग्ने व्यवस्था हुनुपर्ने तथा विद्युत् शक्ति प्रयोग गर्ने कपडा उद्योगलाई भ्याटमा अनिवार्य रूपमा दर्ता गर्नुपर्ने व्यवस्थाको माग गरेको छ ।

अवैध व्यापार निरुत्साहित गर्ने सरकारको लक्ष्यलाई कार्यान्वयन गर्नको लागि पनि कपडा बिक्रीवितरण गर्ने, फर्म, कम्पनीहरूलाई अनिवार्यरूपमा भ्याटमा दर्ता गर्नुपर्ने संघको माग छ । यस्तै, औद्योगिक कच्चापदार्थ सबै किसिमको धागो आयात गरी बिक्रीवितरण गर्ने आयातकर्ताले बिलबीजक जारी गर्दा अनिवर्यरूपमा उद्योगको नाम र भ्याट नम्बर उल्लेख गर्नुपर्नेमा संघले जोड दिएको छ । कपडा आयातमा भन्सार महसुल १५ प्रतिशत रहे पनि साफ्टाअन्तर्गत विभिन्न हारमोनिक कोडमा कपडाहरू ५ देखि ७ दशमलव ५ प्रतिशतमा आयात भइरहेकोले यसलाई रोक्नुपर्ने संघको भनाइ छ । कपडाहरू संवेदनशील वस्तुमा समावेश गरी साफ्टा सुविधाबाट हटाइनुपर्ने संघको माग छ ।

भ्याटमा दर्ता भएका कपडा उद्योगहरूलाई उपलब्ध गर्दै आएको बैंक नयाँ कर्जा सीमा पाँच करोडमा मात्र ब्याज पाँच प्रतिशतको सीमा रहेकोले कर्जामा सीमा हटाउनुपर्ने संघको माग छ । यस्तै, भ्याटमा दर्ता भएका कपडा उद्योगलाई विद्युत् महसुलमा दिइआएको ५० प्रतिशत अनुदानलाई निरन्तरता दिनुपर्ने तथा कपडा उद्योगहरूको विकास र विस्तारका लागि उल्लिखित समाधानहरू दीर्घकालीन रूपमा वा कम्तीमा १० वर्षका लागि लागू गर्नुपर्ने कपडा उद्योग संघले जनाएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया