Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालकाठमाडौं महानगरले ‘कल सेन्टर’ सञ्चालनमा ल्यायो

काठमाडौं महानगरले ‘कल सेन्टर’ सञ्चालनमा ल्यायो


काठमाडौं । काठमाडौं महानगरपालिकाको ‘कल सेन्टर’ (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सोमबारदेखि सञ्चालनमा ल्याइएको छ । एक साताभित्र गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र (कल सेन्टर) सञ्चालनमा ल्याउने गरेको निर्णयअनुरूप कल सेन्टर सञ्चालनमा ल्याइएको हो । कल सेन्टर राष्ट्रिय सभागृहबाट सञ्चालन हुनेछ । नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले सात दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो ।

महानगरसँग कुनै गुनासो वा केही सोधपुछ गर्नुपरेमा निःशुल्क टेलिफोन नं. १६६००१ ०५५११ मा सम्पर्क गर्न सकिनेछ । हाललाई तीन जना कर्मचारीबाट कल सेन्टर सञ्चालनमा ल्याइएको छ । विस्तारै यसको मागअनुरूप कल सेन्टरको संख्या बढाउँदै जाने महानगरको तयारी रहेको छ । सेन्टरको क्षमता एकै पटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने हुनुको साथै हाल पाँचवटा टेलिफोन राखी सेवा सुरु गरिएको छ ।

महानगरले गर्ने कामको बारेमा जानकारी दिनको लागि कल सेन्टर सञ्चालनमा ल्याइएको महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले बताएका छन् । कल सेन्टरमा कसैले टेलिफोन गरेपछि त्यो सीडीआर (कल डिटेल रेकर्ड) महानगरको सर्भरमा रेकर्ड हुने व्यवस्था गरिएको छ । गुनासो वा सोधपुछकर्तासँग कुरा गर्दागर्दै अपरेटरले उनीहरूको फोन नं., फोन गरेको समय, गुनासो वा सोधपुछको विवरण, भौगोलिक नक्साजस्ता आधारभूत विवरण सफ्टवेयरमा भर्छन् । त्यसमा गुनासो वा सोधपुछसँग सम्बन्धित अधिकारीको विवरण पनि भरिन्छ । यो विवरण भरिसकेपछि प्रणालीले स्वचालित रूपमा गुनासो सुनुवाइ गर्ने अधिकारी, प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई एसएमयस र इमेल पुग्नेछ । इमेलमा गुनासोकर्ताको आवाज, समस्यासँग सम्बन्धित तस्बिर, भौगोलिक नक्सा तथा विवरण समावेश हुन्छ भने महानगरले गुनासोकर्ताको समस्या समाधान गर्नेछ ।

महानगरको सेवा, महानगरका वडा, विभाग, आयोजना तथा एकाइसँग सम्बन्धित सोधपुछ तथा गुनासा, महानगरीय सेवा तथा सुविधा वितरणसँग सम्बन्धित काम तथा महानगरसँग भएका अपेक्षासम्बन्धी गुनासा तथा सोधखोजका लागि उक्त सेवा सञ्चालन गरिएको हो । योसँगै महानगरवासीहरू आफ्नो आवश्यक कामको जानकारी घरमा नै बसेर लिन सक्नेछन् ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया