Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसभापति रामचन्द्र संघईद्वारा साझा हितका लागि सहकार्य गर्न विश्व समुदायलाई आग्रह

सभापति रामचन्द्र संघईद्वारा साझा हितका लागि सहकार्य गर्न विश्व समुदायलाई आग्रह


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र संघईले स्विट्जरल्याण्डको जेनेभामा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११०औँ अधिवेशनलाई नेपालको रोजगारदाताको तर्फबाट बुधबार सम्बोधन गरे । सम्मेलन जेठ १३ गतेदेखि सुरु भएको हो ।

सम्मेलनलाई सम्बोधन गर्दै रोजगारदाता परिषद्का सभापति संघईले कोभिड महामारीबाट विश्व अर्थतन्त्रमा परेको प्रभाव, श्रमबजार, सामाजिक–आर्थिक क्षेत्रमा छिटोछिटो भइरहेको परिवर्तनका कारण अतिकम विकसित मुलुकलाई शताब्दी विकासको लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको बताए । यसमा ठूला र सम्पन्न राष्ट्रहरूले साना राष्ट्रहरूलाई सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।

सम्पूर्ण विश्वले बहुआयामिक चुनौतीको सामना गर्नुपरिरहेको सन्दर्भ उल्लेख गर्दै उनले अधिवेशनमा विस्तृत प्रतिवेदन प्रस्तुत गरेकोमा अन्तर्राष्ट्रिय श्रम संगठनका महानिर्देशकलाई धन्यवाद ज्ञापन गरे ।

राष्ट्रहरूबीचको बढ्दो अन्तर्निर्भरताका कारण कुनै पनि भागमा उत्पन्न हुने घटना, अशान्ति, अस्थिरताले सम्पूर्ण विश्व नै प्रभावित हुने तथ्य उल्लेख गर्दै सभापति संघईले खाद्यान्न तथा इन्धनको सन्निकट विश्वव्यापी समस्यातर्फ ध्यानाकर्षण गराए  । साथै उनले उक्त समस्या समाधानमा विश्व एकजुट हुनुुपर्नेमा जोड दिँदै यस्ता समस्याबाट विशेषगरी साना राष्ट्रहरू बढी प्रभावित हुनेमा चिन्ता व्यक्त गरे ।

स्थिरता र आपसी सहयोगको माध्यमबाट नै चुनौतीको सामना गर्न सकिने कुरामा जोड दिँदै परिषद््का सभापति संघईले साझा हितका लागि सहकार्य गर्न विश्व समुदायलाई आग्रह गरे ।

कोभिडविरुद्धको खोपबाट संक्रमण निकै घट्न गए पनि यो पूरै निर्मूल नभइसकेकाले सतर्क रहनुपर्नेमा जोड दिए  । उपाध्यक्ष संघईले कार्यशैली र कार्य वातावरणमा पछिल्लो पटक निकै धेरै परिवर्तन भइसकेकाले नयाँ वातावरणमा काम गर्न स्वास्थ्य उपचार, सामाजिक सुरक्षा र कार्यस्थल सुधारको आवश्यकता औँल्याए ।

कोभिड महामारीबाट भएको नोक्सानीको क्षतिपूर्ति एवं पुनरूत्थानतर्फ प्रयत्नशील रहेको अवस्थामा उच्च व्यापारघाटा, नकारात्मक शोधनान्तर स्थिति, न्यून लगानी एवं तरलता अभावलगायतबाट नेपाली उद्योग व्यवसाय प्रभावित हुनपुुगेको जानकारी उनले गराए ।

श्रमबजारको स्वरुपमा भइरहेको परिवर्तनले नयाँ सीपयुक्त जनशक्तिको माग बढिरहेको बताए । काम गर्ने वातावरण र जनशक्तिको समायोजन गर्नुपर्ने आवश्यकताका साथै सूचना प्रविधिको बढ्दो प्रयोग र डिजिटल माध्यमबाट हुने कामले श्रम सम्बन्धमा परिवर्तन भइरहेको दाबी उनको थियो  ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया