Techie IT
×
गृहपृष्ठनेपालखुम्बु क्षेत्रमा एक सातापछि हेलिकोप्टरको उडान

खुम्बु क्षेत्रमा एक सातापछि हेलिकोप्टरको उडान


सोलुखुमबु । जिल्लाको खुम्बु क्षेत्रमा एक सातापछि पहिलो पटक हेलिकोप्टरले उडान भरेको छ । मौसम प्रतिकूलताका कारण गत आइतबारबाट हुन नसकेको उडान शनिबार झण्डै एक दर्जन हेलिकोप्टरले उडान भरेको नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

कार्यालयका प्रमुख द्ववारिका अछामीका अनुसार तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाबाट तीनवटा र सुर्केबाट सातवटा हेलिकोप्टरले उडान गरेका छन् । लुक्लामा हेलिकोप्टर उडानका लागि केही समय मौसम अनुकूल भए पनि पुनः बन्द भएकाले सुर्केबाट उडान भरेको उनको भनाइ छ । तर जहाजले भने उडान भर्न सकेको छैन । ‘निरन्तररूपमा मौसम प्रतिकूल हुँदा सबै उडान तालिकाहरू रद्द भइरहेको छ, विशेषगरी यहाँबाट काठमाडौं फर्किन चाहने पर्यटकहरू समस्यामा छन्, मौसम तत्काल खुल्ने संकेत छैन’, उनले भने । मे २९ तारिख सगरमाथा दिवसमा खुम्बु आएका पर्यटकहरू समेत फर्किन नपाएको स्थानीयले बताएका छन् । केही पर्यटकहरू लुक्लाबाट पैदल हिँडेर सल्लेरी हुँदै गाडीमार्फत काठमाडौँ गइरहेका छन् भने अन्य यात्रु मौसम अनुकूल हुने पर्खाइमा बसेका छन् ।

सगरमाथासहित विभिन्न हिमालको अवलोकन गर्न आउने पर्यटकका लागि हवाइयात्राबाहेकको विकल्प नभएकै कारण वर्षौँदेखिको समस्या उस्तै रहेको छ । गाउँपालिका केन्द्र चौरीखर्कसम्म व्यवस्थित सडक पुगेपछि खुम्बु आउने पर्यटकले अहिले भोग्दै आएको समस्याको अन्त्य हुने गाउँपालिका अध्यक्ष मिङमा छिरी शेर्पाले बताए ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया